
१७ चैत, रौतहट । रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलकी २८ बर्षीया महिलाको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् ।
गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेका रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए ।
सुनीताको हत्या भएको हुनसक्ने भन्दै माइतीपक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
सुनीतालाई श्रीमान, काका ससुरा, नन्दहरु मिलेर घरभित्रै कुटपिट गरी हत्या गरेको र हत्याको शंका नहोस् भनेर एम्बुलेन्समा राखेर वीरगञ्जतर्फ लगेको माइतीपक्षको आरोप छ ।
एम्बुलेन्समा वीरगञ्जतर्फ लैजाँदा बाटोमै मृत्यु भएको भनेर राति नै शव जलाउन लागेको भन्दै माइतीपक्षले प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी कार्यालय गरुडा र समनपुरबाट खटिएको प्रहरीले शव जलाइरहेको स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले बताए ।
सुनीताको शव जलाइसकेको भए पनि केही अवशेषहरु प्रहरीले फेला पारेको छ । डीएसपी कार्कीले घटना शंकास्पद देखिएको हुँदा श्रीमान र परिवारका सदस्यलाई नियन्त्रणमा लिई अनुसन्धान सुुरु गरिएको बताए ।
प्रतिक्रिया 4