Comments Add Comment

बच्चामा अटिज्मको समस्या : किन र कसरी हुन्छ ?

सन्दर्भः अटिज्म दिवस

मानौं तपाईंको बच्चाको उमेर एक बर्षको भइसक्यो । तपाईंले जब हसाउनुहुन्छ, उनीहरु मज्जाले हास्छन् । डर देखाउनुहुन्छ, उनीहरु रुन्छन् । तर, यदि बच्चाले यस्तो प्रतिक्रिया दिदैनन् भने ? बच्चा सुस्त हुनसक्छन् ।

किनभने अक्सर बच्चा आफ्ना आमालाई देख्नसाथ केही प्रतिक्रिया जनाउँछन् । कुनैला हास्छन् । कुनैबेला रुन्छन् । कुनै बेला घुक्र्याउँछन् । केही न केही प्रतिक्रिया देखाउँछन् ।

तर, तपाईंले बच्चालाई हसाउन खोज्नुभयो । रुवाउन खोज्नुभयो । बच्चाले कुनै प्रतिक्रिया दिएन । त्यसो हो भने बच्चामा अटिज्म हुनसक्छ । किनभने अटिज्मको सुरुवाती लक्षण १ देखि ३ बर्षको बच्चामा देखापर्छ । यद्यपी ९ महिना पुगेपछि नै उनीहरुमा यस्को संकेत देखापर्न थाल्छ ।

अटिज्मले पीडित बच्चाले आवाज सुनेर पनि कुनै प्रतिक्रिया जनाउँदैन । उनीहरुलाई बोल्न झर्को लाग्छ । वा बोल्न रुचाउँदैनन् । साथै आफ्नो भावनालाई पनि सही ढंगले व्यक्त गर्न सक्दैनन् । बरु लगातार हल्लिन्छन् । टोलाइरहन्छन् । एउटै चिजलाई हेरेको हेरेकै गर्छन् ।

त्यसो भए के हो अटिज्म ? किन हुन्छ ? कसरी हुन्छ ? कसलाई हुन्छ ? उपचार के छ ? स्वभाविक रुपमा यावत् जिज्ञासा उठ्न सक्छ ।

के हो अटिज्म

अटिज्म, जसलाई दिमागी विकार मानिन्छ । यसलाई स्वलीनता, आत्मविमोह आदि पनि भनिन्छ । यो रोग बच्चा उमेरदेखि नै देखापर्छ । जुन बच्चामा यस किसिमको रोग छ, उनीहरु अन्य बच्चा भन्दा असामान्य देखिन्छन् ।

अटिज्म खासमा न्युरोलजिक डिस्अर्डर हो, जसले दिमागको अलग-अलग भागले एकसाथ काम गर्न सक्दैन । यही कारण बच्चाहरु परिवारसँग घुलमिल गर्ने र कुनै कुरा सम्झन नसक्ने हुन्छन् । हरेक बच्चामा यसको लक्षण फरक फरक हुनसक्छ ।

कुनै बच्चा केही सिक्ने वा स्मरण गर्न सक्दैनन् । कति बच्चा बुझ्न त बुझ्छन्, तर त्यसमा कुनै प्रतिक्रिया जनाउँदैनन् । यस किसिमको समस्या पूर्ण रुपमा ठिक त हुँदैन । तर, थोरै सावधानी अपनाएर उनीहरुको बानी केही परिवर्तन गर्न सकिन्छ ।

किन हुन्छ अटिज्म ?

यो रोग किन हुन्छ ? यसको खास कुनै कारण भेटिएको छैन । कतिपय अवस्थामा के भनिएको छ भने, यदि गर्भावस्थामा आमालाई थाइराइड छ भने बच्चामा यस्तो विकार पैदा हुनसक्छ । कतिपयले चाहि बिग्रदो पर्यावरण र गलत जीवनशैली नै यसको कारण बताएको छ ।

कस्तो बच्चालाई हुन्छ ?

-केटीको तुलनामा केटालाई यस्तो समस्या हुने संभावना बढी हुन्छ ।

-निर्धारित समयभन्दा २६ हप्ताअघि जन्म हुनेबच्चामा पनि अटिज्मको खतरा रहन्छ ।

-यदि परिवारको एक बच्चालाई अटिज्म छ भने अर्को बच्चामा पनि त्यस्तै समस्या दोहोरिन सक्छ ।

-यदि गर्भावस्थामा आमालाई थाइराइड छ भने बच्चामा अटिज्म हुनसक्छ ।

के छ त उपचार ? 

हरेक दम्पती चाहन्छन्, आफ्ना छोराछोरी सग्लो जन्मियोस् । उनीहरु तन्दुरुस्त होस् । बलियो होस् । तगडा होस् । बुद्धिमान होस् । चलाख होस् ।

तर, कहिले काहीँ नचाहेरै पनि मानिसक एवं शारीरिक रुपमा अशक्त बच्चा जन्मन्छन् । बच्चा जस्तो जन्मिएपनि उनीहरुलाई स्विकार्नैपर्छ, हुर्काउनैपर्छ ।

अतः अटिज्मले ग्रस्त बच्चा पनि जन्मन सक्छ । उनीहरु सुस्त हुन्छन् । कुनैपनि कुराको हठात् प्रतिक्रिया दिन सक्दैनन् । यस्ता बच्चालाई पूर्णत उपचारबाट निको बनाउन सकिदैन । यद्यपी सामान्य व्यवहारबाट क्रमस उनीहरुको कमजोरीमा सुधार ल्याउन सकिकन्छ । स्पीच थेरापी, मोटर स्किल जस्ता केही विधी छन्, जसबाट उनीहरुलाई नियन्त्रण गर्न सकिन्छ ।

बच्चालाई क्रोधको अवस्थामा आउन दिन हुँदैन । उनीहरुलाई निरास पनि तुल्याउनु हुँदैन । सधै अवस्थामा खुसी र सुखी राख्नुपर्छ ।

(मंगलबार अर्थात अप्रिल २ मा विश्वभर ‘विश्व अटिज्म जागरुकता दिवस’ मनाइन्छ । विश्व अटिज्म दिवस मनाउनुको अर्थ यस रोगसम्बन्धी जागरुकता ल्याउनु हो । सामान्यत अटिज्मले ग्रस्त बच्चालाई मन्दबुद्धि भनिन्छ । यो एक दिमागी विकार हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment