Comments Add Comment

रजहरमा बन्ने भो प्राकृतिक चिकित्सालयको आधुनिक भवन

१९ चैत, चितवन । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक उपचार भवन निर्माणको काम अघि बढेको छ ।

गण्डकी प्रदेश सरकारको १ करोड सहयोगमा भवन निर्माणको काम अघि बढेको व्यवस्थापक हरि सापकोटाले जानकारी दिए ।

चिकित्सालयमा बेड क्षमता बढे पनि उपचार कक्ष साँघुरो हुँदा समस्या हुँदै आएको थियो । २ तला र त्यसमाथि टस राखिने भवनमा ४० कोठा रहने छन् । भवन निर्माण सक्न ९ करोड रकम खर्च लाग्ने सापकोटाले बताए ।

‘वहुवर्षीय आयोजनाअन्र्तगत क्रमागत शीर्षकमा प्रदेश सरकारबाट रकम आउँछ,’ व्यवस्थापक सापकोटाले भने, ‘प्रदेश सरकारले चिकित्सालयलाई प्राथमिकतामा राखेको छ ।’

चिकित्सालयमा ल्याइएका आधुनिक उपचार उपकरणहरूबाट सेवा प्रदान गर्न थालिएको छ । गत वर्ष नेपाल सरकारबाट प्राप्त ४० लाख अनुदान रकमबाट किनिएका आधुनिक उपचार उपकरणबाट सेवा दिन थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए ।

चिकित्सालयले पेट सफा गर्ने कोलन हाइड्रोथेरापी, अण्डर वाटर मसाजर, ज्यावुजी, हट वाथ, आम वाथका आधुनिक उपकरण जडान गरी सञ्चालनमा ल्याएको छ । आधुनिक उपचार उपकरणहरूका साथै बिरामीहरूको अवस्था हेरी परम्परागत उपचार पद्दतिलाई पनि सँगसँगै अघि बढाउने चिकित्सालयका चिकित्सक डा. विनोद पौडेलले बताए ।

‘नयाँ उपकरण आउँदैमा परम्परागत उपचार पद्दतिलाई चटक्कै छाड्दैनौं’, डा. पौडेलले भने, ‘कतिपय शारीरिक रुपमा कमजोर भएका क्रोनिक बिरामीहरूलाई परम्परागत उपचार पद्दतिबाटै उपचार गर्नुपर्दछ, आधुनिकबाट गर्दा शरीरले धान्न सक्दैन् ।’

चिकित्सालयमा दुई सय जना बिरामीहरूले एकैपटक योग गर्न मिल्ने वातानुकुलित हल निर्माण गरिने भएको छ । यसका लागि दाता खोजी भइरहेको व्यवस्थापक सापकोटाले बताए ।

समुदायस्तरबाट सञ्चालित यो प्राकृतिक चिकित्सालयमा बिरामीले आवास, उपचार तथा खानपानसहित प्रतिदिन ७५० रुपैयाँ तिर्नुपर्दछ । ८२ वेड रहेको चिकित्सालयले गत जेठ महिनाबाट ६८ वेड थप गरी १५० वेड सञ्चालन गरेको छ । चिकित्सालयलाई प्राकृतिक चिकित्साको मेडिकल कलेजका रुपमा अघि बढाउने गरी संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिने तयारी अन्तिम चरणमा पुगेको व्यवस्थापक सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment