Comments Add Comment

गर्मीमा छप्ल्याङछुप्लुङः पौडी खेल्ने कि ?

सबैजसो भाईवहिनीको कक्षागत परीक्षा सकिएको छ । यतिबेला उनीहरु फुर्सदिला छन् । यो फुर्सदमा के गर्ने ?

पौडी खेल्ने । हो, यो गजब आइडिया हो । घरमा बसेर मोवाइल, ल्यापटपमा गेम खेल्नु, टिभीमा कार्टुन हेर्नुभन्दा उत्तम विकल्प हो, पौडी । शहरमा अहिले स्विमिङ पुलको कमी छैन । चोक-चोकमा स्विमिङ पुल छन् ।

काठमाडौं, पोखरा, इटहरी लगायतका शहरी क्षेत्रमा वाटर पार्क पनि छन् । वाटर पार्क, जहाँ उन्मुक्त रमाउन सकिन्छ । पानीमा बेपर्वाह भिज्न सकिन्छ । गर्मीमा पानीसँग खेल्नुको बिछट्टै आनन्द छ । यद्यपी हामीकहाँ समुन्द्र छैन । समुन्द्री किनारमा बसेर पानीको लहरसँग खेल्ने अनुकुलता छैन । यद्यपी शहरी क्षेत्रमा वाटर पार्क भने खुलेका छन् ।

राजधानीवासीलाई लक्षित गरेर भक्तपुरको पलाँसेमा सम्पूर्ण मनोरञ्जन सहितको फन भ्याली खुलेको छ, ६२ रोपनी क्षेत्रफलमा । स्विमिङ पुल सहित पानीको विभिन्न मनोरञ्जन लिन सकिने यो पार्क खुलेपछि यस्तै शैलीका पार्कहरु प्रतिस्पर्धात्मक रुपमा निर्माण हुन थाले ।

पलाँसेको फन भ्यालीपछि चोभारमा सुविधायुक्त पार्क खुल्यो । विभिन्न प्रकारको रोमाञ्चक खेलदेखि वाटर पार्कसम्मको आनन्द लिन सकिने हुपिल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क ५० रोपनी क्षेत्रमा फैलिएको छ ।

उता पोखराको चचहुई फन पार्क भव्य जल महलमा रुपान्तरण भएको छ । अनेकौ किसिमको वाटर गेम खेल्न सकिने जल महलले १० रोपनी क्षेत्र ढाकेको छ ।  त्यस्तै, इटहरीमा हेल्थ क्लव, स्विमिङ पुल सहितको फनपार्क सञ्चालनमा आएको छ । ओसियन पार्क एन्ड रिसोर्ट प्रालिले उक्त फन पार्क खोलेका हुन् ।

यी वाटर पार्कहरुमा स्लाइड लाइड पुल, वेभ पुल, टावर हाइट, किड्स स्लाइड, मिनी कोलम्वस लगायत गेमहरु उपलब्ध छन् ।

पौडीः मनोरञ्जन र व्यायाम

चर्को गर्मी छल्ने काइदा मात्र होइन, स्विमिङ अर्थात पौडी । यो एक किसिमको मनोरञ्जन, खेल र व्यायाम पनि हो । स्विमिङ गरिरहँदा बेग्लै फुर्ति आउँछ । मनोरञ्जनको उत्तम माध्याम हो यो । यसले शरीरको समग्र व्यायाम पनि हुन्छ ।

आफ्नो दैनिक काम व्यवहारको तनाववाट मुक्त भएर रमाइलो गर्नु मानसिक स्वास्थ्यका हिसवाले राम्रो मानिन्छ । त्यसमाथि गर्मीमा पानीमा भिज्दा शरीरले शितलता महसुष गर्छ । पौडी खेल्दा शरीरका सम्पूर्ण भागलाई चलायमान बनाउँछ । खासगरी मुटु र फोक्सोको लागि पौडी लाभदायक हुन्छ ।

त्यसो त कतिपय भाईवहिनीलाई पौडीमै करियर बनाउने सोंच पनि हुन्छ । कतिपय पौडीमा औधी रमाउँछन् । उनीहरुले यो फुर्सदिलो समयमा पौडीको थप अभ्यास गर्न सक्छन् ।

स्विमिङ खेल्नुअघि केही कुरा

स्विमिङ कस्ट्युम, ट्युवको व्यवस्था गर्नुपर्छ । अन्यथा त्यही खरिद गर्नुपर्दा महंगो पर्न सक्छ । स्याम्पु, वडी लोसन, गाम्चा र फेर्ने लुगा पनि लानुपर्छ ।  छालाको समस्या भएकाहरुले पौडी खेल्न उपयोगी हुदैन ।  स्विमिङका लागि राम्रो र सुविधायुक्त स्विमिङ पुल छनौट गर्नुपर्छ ।

स्विमिङ पुलको पानी दूषित हुने भएकाले यसवाट छिटै संक्रमण फैलिने तथा छालाको समस्य आउन सक्छ ।  स्विमिङ पुलको पानी बेला बेलामा फेरिरहनु पर्छ । यदि त्यसो गरिएको छैन भने उक्त पानीको कारण झाडापखला र टाइफाइड जस्ता सरुवा रोग लाग्न सक्ने खतरा हुन्छ ।

स्विमिङ पुलमा पौडी खेल्नुअघि नुहाउनका लागि छुट्टै स्थान चाहिन्छ । राम्ररी पौडन नजान्नेहरुले सहयोगीको साथमा मात्र पौडीको अभ्यास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment