Comments Add Comment

पाटन विमानस्थलको पुनर्निर्माण सुस्त, म्याद सकियो तर काम सकिएन

२० चैत, डडेल्धुरा । सुदूरपश्चिमको दोस्रो ठूलो पाटन विमानस्थलको पुनर्निर्माणको कामले अझैसम्म गति लिन सकेको छैन् । चैतभित्रै सम्पन्न हुने भनिएता पनि निर्माणको काम सुस्त गतिमा छ ।

बैतडीको पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर विसं २०३५ देखि हवाई सेवा सुरु भएको थियो । २०५२ सालदेखि भने विमानस्थल बन्द रहेको छ ।

पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

बिगतलाई सम्झिंदै स्थानीय लक्ष्मी जोशी भन्छन- ‘प्लेन आउने लिस्ट बनाइराख्थिए, हप्तामा काठमाडौं, नेपालगन्ज र महेन्द्रनगरबाट गरी ३ वटा फ्लाइट थियो । राम्रोसँग चलेको थियो । गाडी चल्दा प्लेनको भाडा महङगो भएर २०५२ सालमा विमानस्थल बन्दभयो ।’

०५२ सालमा गिरिजाबाबु कोइरालाको पालामा बन्द भएको विमानस्थलमा त्यो समयमा अमेरिका, बेलायतका पर्यटकसमेत चार्टर लिएर आउने गरेको उनले बताउ ।

विमानस्थलमा कटिङ, फिटिङ र सब-बेसको काम सकिएको भएपनि कालोपत्रेको काम अझै सुरु भएको छैन् ।

२०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनर्निर्माणको काम सुरु भएको थियो । सुरुको सम्झौताअनुसार २०७५ असारमा काम सक्नुपर्ने भएपनि चैत सम्मलाई म्याद थपिएको थियो । तर, चैत सकिनै लाग्दा पनि विमानस्थल कालोपत्रे हुन नसकेको भन्दै स्थानीय निराश बनेका छन ।

‘यहाँ समयमा विमानस्थल संचालन भएको भए यहाँका व्यवसायी तथा आम नागरिकलाई सहज हुन थियो,’ स्थानीय गोकर्ण चन्दले भने, ‘तर तोकेको समयमा म्याद थप्दा पनि अहिलेसम्म ट्रयाक कालोत्रे हुन नसक्दा हाम्रो मन खिन्न भएको छ ।’

उता मौसम र उपकरण अभाव लगायतका कारणले काममा ढिलाइ भएको निमार्ण कम्पनीले जनाएको । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा ‘आसपाल्ट प्लान्ट’ (बाक्लो कालोपत्रे गर्ने) नामक मेसिन नपाइएकाले रनवे कालोपत्रे गर्न मात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।

आफूले बुकिङ गरेको ‘आसपाल्ट प्लान्ट’ साफेबगर विमास्थनमा भएकाले त्यो आइपुगेपछि मात्र रनवेमा कालोपत्रेको काम सुरु हुने कम्पनीका इन्जिनिएर पुरन रावलले बताए ।

उनका अनुसार २०७३ चैतमा सम्झौता भएको काम असारबाट सुरु भएको थियो । बीचमा वर्षात भएकाले काम रोकिएको उनले बताए । ‘२०७५ असार मसान्तसम्म सकिसक्नुपर्ने थियो फेरि म्याद थप्दा सबै काम सकिसकेको छ । खाली आसपाल्ट (बाक्लो कालोपत्रे) राख्न बाँकी छ ,’ उनले भने ।

आसपाल्ट प्लान्ट पाइएमा निमाण कार्य अबको एक महिनामा सकिनेछ तर थपिएको म्याद चैतसम्म काम सम्पन्न हुने सम्भावना नरहेको उनको भनाइ हुने सम्भावना नरहेको उनको भनाइ ।

११ करोड २९ लाखको लागतमा पुनर्निर्माण भइरहेको पाटन विमानस्थलको ५९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ ।

पाटन विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपी हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्राउन सजिलो हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment