Comments Add Comment

भेरी–बबई डाइभर्सन : प्रधानमन्त्रीको उपस्थितिमा हुँदैछ सुरुङ ‘ब्रेक थ्रू’

२२ चैत, काठमाडौं । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण तोकिएको समय अगावै सकिएको छ ।

आगामी २०७६ साल चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको छ । अब घोषणा गर्न मात्र बाँकी छ ।
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि सुरुङ निर्माणले गति लिएको थियो ।

१२ दशमलव २१० किलोमिटरमध्ये अब जम्मा दुई मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाका निर्देशक सञ्जीव बरालले अनलाइनखबरलाई जानकारी दिए । बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ ‘ब्रेक थ्रू’ गर्ने तयारी छ ।
बबई किनारबाट सुरुङभित्र पसेको टीबीएम मेसिन सोही दिन भेरी किनारमा निकालिनेछ ।

आयोजना अन्तर्गत हात्तीखालदेखि ६ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको ‘फल्टजोन’ मा पनि टीबीएमले सफलतापूर्वक काम गरेको बरालले बताए । जोखिमपूर्ण मानिएको उक्त चुरे पर्वत पार गरेसँगै यो नमूना आयोजना सफल हुनेछ ।

सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माणमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो । त्यहाँ माटोमा पानी बढी अर्थात् जमिन लेदो थियो ।

भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिञ्चाई सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ ।

‘टीबीएमले काम छिटो’

विगतमा ड्रिलिङ र ब्लास्टिङ गरेर मात्रै सुरुङ खन्ने गरिन्थ्यो । शुरुमा यो आयोजनामा पनि त्यही प्रचलन पछ्याइयो । ब्लास्टिङ गरेर दैनिक २ मिटर सुरुङ खन्न सकिन्थ्यो ।

तर, आयोजनाको सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिन ल्याइयो ।

चाइना ओभरसिज इञ्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको थियो । कोभेकले मेसिन किन्नुअघि नै उत्पादक कम्पनी रोबिन्ससँग जडानका साथै परीक्षणस्वरुप पाँच मिटर सुरुङ खनेर देखाउनुपर्ने शर्त राखेको थियो ।

शर्त मानेर रोबिन्सले आयोजनास्थलमै २५० मिटर लामो मेसिन जडान गरिदियो । परम्परागत ढंगले १५० मिटर लामो सुरुङ खनेर यो मेसिन जडान गरिएको थियो ।

परीक्षणका क्रममा टीबीएम मेसिनले चमत्कारिक काम गरेपछि आयोजना र ठेकेदार कम्पनीले कुल १२ किलोमिटर सुरुङमा त्यही प्रविधि अपनाउने निर्णय गर्‍यो ।

परीक्षणका लागि ल्याइएको टीबीएम प्रविधिमाथि धेरैले आशंका गरे पनि सफल प्रयोग भएको आयोजना निर्देशक बराल बताउँछन् । ०७४ कार्तिक मसान्तदेखि टीबीएम मेसिनले सुरुङ खन्न थालेपछि आयोजनाको कामले तीव्रता पायो ।

टीबीएमले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तिखालबाट चिप्लेसम्म सुरुङ खनेको हो । परम्परागत ढंगबाट भन्दा १० गुणा बढी दैनिक २० मिटर सुरुङ खनेपछि आयोजनाको काम लक्ष्य भन्दा एक वर्ष अगाडि नै सम्पन्न भएको छ ।

टीबीएम मेसिन मुख्यगरी तीन भागमा विभाजित हुन्छ । अगाडि कटर लगाइएको हुन्छ, जसले खन्ने काम गर्छ । अगाडिको कटरले खन्दा कम्पन पनि नहुने भएको यो प्रविधि सुरुङ खन्न सुरक्षित मानिन्छ । मेसिनको सपोर्ट बेल्टले कटरले खनेको भागमा कंक्रिट प्लेट लगाइदिने भएकाले निर्माण कार्यमा रोकावट हुँदैन ।

यसमा हुने सिलिंडरले खनिएको माटो बाहिर निकाल्छ । अन्यत्र टीबीएम मेसिनले २४ घण्टामा १० मिटर सुरुङ खन्ने गरेको भएपछि भेरी बबईमा अझ बढी काम भयो ।

पावरहाउस र ड्याम निर्माण

सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिएपनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी छ । विद्युत उत्पादनदेखि सिंचाईका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुनेछ ।

सुरुङ निर्माणको सकिएको घोषणा भएपछि सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम शुरु गर्ने तयारी छ । आयोजना प्रमुख बराल पावरहाउस र ड्याम निर्माणका लागि आउँदो एक साता टेण्डर आह्वान गर्ने तयारी भइरहेको अनलाइनखबरलाई बताए ।

दुई ठूला संरचना निर्माणका लागि विश्वव्यापी टेण्डर आह्वान गरिने उनले जानकारी दिए । सिञ्चाई विभागले यसको प्रक्रिया अघि बढाइसकेको जनाएको छ । भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गरिनेछ । १ सय १४ मिटर लामो ब्यारेज १४ मिटर अग्लो हुने आयोजना प्रमुख बरालले बताए । ब्यारेजमा ६ वटा गेट निर्माण गरिनेछ ।

४६ मेगावाट विद्युत, ५१ हजार हेक्टरमा सिञ्चाई

मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना समेत भन्ने गरिएको छ ।

सिञ्चाइ अभावमा बाँझो हुने बाँके र बर्दियाका खेतियोग्य जमिन आयोजना बनेपछि सिञ्चाई हुनेछ । आयोजनाबाट दुई जिल्लाका ५१ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ । बाह्रै महिना सिञ्चाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न अपेक्षा छ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिञ्चाइ योजना विस्तार गर्ने योजना छ ।

चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

जमिनमा सिञ्चाई सुविधा उपलब्ध भएपछि आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण रहेको आयोजना प्रमुख बरालले बताए ।

साढे १० अर्बमा सम्झौता भएको सुरुङका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ ।

सिञ्चाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ७९÷८० सम्म सक्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment