Comments Add Comment

अमेरिकी पत्रिकाले लेख्यो : भारतले पाकिस्तानको एफ १६ खसाएको दावी झुट

२२ चैत, काठमाडौं । भारतले पाकिस्तानको लडाकु विमान एफ १६ खसाएको भनेर गर्दै आएको दावी झुटो भएको एक अमेरिकी म्यागजिनले जनाएको छ । प्रख्यात अमेरिकी म्यागजिन ‘फरेन पोलिसी’ का अनुसार पाकिस्तानसँग रहेका सबै एफ १६ विमान सुरक्षित र यथास्थितिमा छन् ।

पत्रिकाका अनुसार दुई वरिष्ठ अमेरिकी अधिकारीले पाकिस्तानमै गएर एफ १६ को अवस्था जाँचबुझ गरेका थिए । त्यसमा उनीहरुले सबै विमान सुरक्षित पाएको पत्रिकामा उल्लेख छ । पाकिस्तानी सैन्य प्रवक्ताले भनेका छन्, ‘अब समय आएको छ कि भारतले आफ्नो क्षतिको बारेमा सत्य बताओस् ।’

भारतीय वायू सेनाले आफ्ना विङ कमान्डर अभिनन्दन वर्धमानले पाकिस्तानी एफ १६ मा आक्रमण गरेर खसाएको दावी गर्दै आएको छ । पाकिस्तानी विमान खसेपछि अभिनन्दनले पाकिस्तानी भूमिमा सुरक्षित अवतरण गरेको भारतीय वायू सेनाको भनाइ छ ।

अमेरिकी अधिकारीले फरेन पोलिसीलाई बताएअनुसार दुवै देशका बीच तनावका कारण केही विमान तत्काल जाँचबुझका लागि उपलब्ध गराइएको थिएन, त्यसैले गन्ती गर्न केही साता लाग्यो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भनेका छन्, ‘भारतले हमला गरेको र पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको दावी पनि झुटो हो । अब समय आएको छ कि भारतले सबै कुरा साँचो बताओस र आफूलाई भएको क्षतिको विवरण देओस् ।’

फरेन पोलिसीले लेखेको छ, ‘मिग २१ उडाइरहेका अभिनन्दनले पाकिस्तानी एफ १६ मा निशाना साँधेको र फायर पनि गरेको हुन सक्छ र आफ्नो निशाना अचुक रहेको ठानेको हुन सक्छ । तर पाकिस्तानमा अमेरिकी अधिकारीहरुको जाँचले नयाँ दिल्लीको दावीलाई असत्य ठहर्‍याएको छ । र, भारतीय अधिकारीहरुले त्यो दिनको घटनाको बारेमा अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पारेको देखिन्छ ।’

अमेरिकी रक्षा अधिकारीका अनुसार घटनापछि आफ्नो एफ १६ विमान बिमानको जाँचबुझ गर्न पाकिस्तान सरकारले नै आमन्त्रण गरेको थियो । पाकिस्तानले भारतमाथि आक्रमणमा एफ १६ प्रयोग नगरेको बताउँदै आएको छ । पाकिस्तानले एफ १६ विमान अमेरिकासित खरिद गरेको हो । खरिद सम्झौताबमोजिम अमेरिकालाई ती विमानहरुको गन्ती र सुरक्षाका लागि समय समयमा जाँच गर्ने अधिकार छ । तर, सम्झौतामा ती विमानको प्रयोगका लागि कुनै शर्त नराखिएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।

भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा भारतीय जनता पार्टीले पाकिस्तानी भूमिमा आफ्नो वायू सेनाले आक्रमण गरेर सयौंको हताहती गरेको र पाकिस्तानी एफ १६ खसाएको भनेर प्रचार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment