Comments Add Comment

कांग्रेस बैठक शनिबार, देउवा र पौडेलको भागवण्डा मिल्यो

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको छ । यससँगै शनिबार कार्यसम्पादन समिति गठनको सम्भावना बढेर गएको छ ।

कांग्रेसले कार्यसम्पादन समिति गठनलाई एजेण्डा बनाएर भोलि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । त्यसको अघिल्लो दिन शीर्ष नेताहरुको बैठकमा भागवण्डा मिलेको स्रोतको दाबी छ ।

एक नेताका अनुसार पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति बन्नेछ । सभापतिसहित ७ जना पदाधिकारी छन् भने एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदार स्वत पर्ने भए । अब बाँकी २१ जनामा भागवण्डा भएको छ ।

पार्टी सभापति देउवाले ६०/४० को भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेका छन् । यसमा वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषध्यक्ष उनकै पक्षको जोड्दा ४० प्रतिशत हाराहारी हुन्छ ।

बाँकी १२ जना देउवा समूहबाट आउनेछन् । १३ औं नम्बरमा कृष्ण सिटौला पर्नेछन् । स्रोतका अनुसार बैठकमा सभापति देउवाले सिटौलालाई समेत समेटेर ८ जनाको नाम मागेका थिए । तर, पौडेलले कहाँ हुन्छ ? महाधिवेशनमा मलाई भोट दिएका थिए र ? भन्ने प्रश्न गरेको एक नेताले बताए ।

लगतै सिटौला भने ‘मैले तपाईहरुको कुरा बुझेँ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।

स्रोतका अनुसार सिटौलालाई सभापतिको भागबाट राख्ने गरी सहमति जुटेको छ । दुबै पक्षले नाम दिए भोलि नै कार्यसम्पादन समिति गठन गर्ने तयारी छ ।

यसअघि पनि कार्यसम्पादन समिति बनाएको थियो तर विधान विपरीत धेरै संख्या राखेको भन्दै केन्द्रीय कार्यसमितिमा चर्को आलोचना भएपछि विघटन गरिएको थियो ।

बैठकमा संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक चयन लगायतका विषयमा पनि छलफल हुने नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

१३ औं महाधिवेशन भएको तीन वर्ष पुगिसक्दा पनि कांग्रेसले केन्द्रीय विभागहरु गठन गर्न सकेको छैन । नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग हुन्छन् ।

नयाँ वर्षसँगै जागरण अभियान

कांग्रेसले नयाँ वर्ष २०७६ लागेसँगै जागरण अभियान चलाउने तयारी पनि गरेको छ । शुक्रबार शीर्ष नेताहरुको बैठकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे बि्रफिङ गरेका थिए ।

प्रस्तावित कार्यक्रम अनुसार मध्य बैशाखबाट सुुरु हुने जागरण अभियान तीन चरणमा हुनेछ र वर्षभर चल्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment