Comments Add Comment

पानीले बिथोल्यो मातृभूमि कप क्रिकेट

२३ चैत, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ आयोजना गरेको मातृभूमि कप क्रिकेट प्रतियोगिताको आजका लागि तय खेल पानीले बिथोलिएको छ ।

शनिबार कलाकारहरुको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने सेड्युल थियो । पहिलो खेल १० बजेबाट सुरू हुने गरी समय मिलाइएको थियो ।

तर, शनिबार बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भएपछि निर्धारित खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ ।

अब स्थगित खेल मौसममा सुधार आएपछि सञ्चालन हुनेछ ।

कहिल्यै ब्याट र बल नसमाएका कलाकारहरू प्रतिष्पर्धाका लागि केही समयदेखि जुटेका छन् । उनीहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नै सिकाइरहेको फाउन्डेसनका संयोजक सीताराम कट्टेल धुर्मुसले अनलाइनखबरलाई बताए ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाउने आयोजकको योजना छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।

खेल हेर्ने दर्शकका लागि १ हजार र तीन सय रुपैयाँको टिकट दर तोकिएको छ । खेलको टिकट र्इसेवामार्फत पनि काट्न सकिने छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ ।

खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने फाउन्डेसनले घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment