Comments Add Comment

छोराछोरी पढ्ने विद्यालयमा सोध्नुहोस् यी प्रश्न

जब तपाईं आफ्ना छोराछोरीको हात समातेर भर्ना आवेदनका लागि विद्यालयको प्राङ्गण टेक्नुहुन्छ । तब, तपाईंले विस्तारमा केही प्रश्नहरुको हल गर्नुपर्नेछ ।

राम्रा भनिएका, महंगा भनिएका शहरी क्षेत्रका विद्यालयमा बालबालिको भर्नाअघि अभिभावकको अन्र्तवार्ता लिइन्छ । यसरी,

तपाईंले कति पढ्नुभएको छ ?

के काम गर्नुहुन्छ ?

आयस्रोतको दिगो माध्याम के छ ?

बाषिर्क कमई कति छ ?

यी प्रश्नको मौखिक मात्र होइन, लिखित हल नै गर्नुपर्ने पनि हुनसक्छ । खासगरी ‘उत्कृष्ट’ वा राम्रो भनिएका विद्यालयमा पुगेपछि ।

हुन त नयाँ शैक्षिक सत्र सुरु हुनु केही समय अझै बाँकी छ । कतिपय परीक्षाको नतिजा आउन बाँकी नै छ । यद्यपी अभिभावकहरु अहिले नै आफ्ना छोराछोरीको भर्नाका लागि विद्यालय धाउन थालेका छन् । कति विद्यालयको भर्ना प्रक्रिया असहज हुने भएकाले पनि उनीहरुको दौडधूप सुरु भएको हो ।

एउटै विद्यालयमा पढिरहेका विद्यार्थी अर्को कक्षामा उक्लिएपछि वा उत्तिर्ण भएपछि उनीहरुलाई भर्ना गर्न त समस्या भएन । तर, विद्यार्थीको विद्यालय स्थान्तरण गर्नुपर्ने भयो र नयाँ विद्यालयमा पुर्‍याउनुपर्ने भयो भने वा आफ्ना साना बच्चालाई पहिलो पटक विद्यालय भर्ना गरिदिनुपर्‍यो भने अहिलेदेखि नै त्यसको तयारी थाल्नुपर्छ ।

काठमाडौं लगायत शहरी क्षेत्रमा यस्ता थुप्रै विद्यालय छन्, जहाँ निश्चित कक्षामा र निश्चित कोटामा भर्ना गरिन्छ । यी विद्यालयहरुको तामझाम बढी हुन्छ । शुल्क चर्को हुन्छ । भर्ना प्रक्रिया उत्तिकै जटिल पनि । किनभने ‘नाम चलेका’ यी विद्यालयहरुमा आफ्ना छोराछोरी भर्ना गरिदिने अभिभावकमा होडबाजी चल्छ ।

अतः यी अभिभावक जब आफ्ना बालबच्चाको हात समातेर डोहोर्‍याउँदै जब विद्यालय पुग्छन्, उनीहरुसँग अन्र्तवार्ता लिइन्छ ।

यी अन्र्तवार्ताको वाहिरी कारण के देखाइन्छ भने, बच्चाले घरमा कस्तो वातावरण पाउनेछ ? बुवाआमा कति शिक्षित छन् ?

अर्थात बच्चाले विद्यालयमा राम्रो पर्फमेन्स गर्नु र नगर्नुमा घरको महत्वपूर्ण भूमिका हुन्छ । बच्चाले अधिकांश समय घरमा नै विताउँछन् । यसर्थ बच्चाको घर परिवार शिक्षित हुनुपर्छ । उनीहरुले बच्चालाई राम्ररी केयर गर्न सक्नुपर्छ ।

यस्तो लाग्छ मानौं, बच्चाहरु विद्यालयमा केही सिक्न, जान्न, बुझ्न जाने होइनन् । बरु परांगत हुन, निपूर्ण हुन, बुद्धत्व प्राप्त गर्न, सिद्ध प्राप्त गर्न जाँदैछन् । त्यही हिसाबले अहिलेका निजी र चलेका विद्यालय अभिभावकसँग केरकार गर्न थाल्छ ।

तर, यसको भित्री उदेश्य भनेको अभिभावको खल्ती छाम्नु हो । अर्थात अभिभावकले समयमा पैसा तिर्छ ? शुल्क तिर्नका लागि उनको दिगो आम्दानी के र कति छ ? विद्यालयले उठाउने अतिरिक्त शुल्क तिर्न उनी कति इच्छुक र लचिलो हुनेछ ?

यसरी अभिभावकको खल्ती छामेपछि मात्र उनीहरुले बच्चाको भर्ना गर्ने वा नगर्ने निक्र्यौल गर्छन् । यी भए विद्यालयको कुरा । अब हाम्रो कुरा गरौं ।

विद्यालयमा जसरी एउटा अभिभावकमाथि अन्र्तवार्ता लिइन्छ । ठिक त्यसैगरी अभिभावकले पनि विद्यालय प्रशसन, शिक्षकसँग प्रश्न गर्नुपर्छ । अर्थात अन्र्तवार्ता लिनुपर्छ ।

अभिभावकले के सोध्ने विद्यालयमा ?

विद्यालयको इतिहास, शुल्क विवरण, शिक्षक संख्या, पठन विधी, कक्षा कोठा, खेलमैदान, अतिरिक्त सुविधा आदि सबै कुरामा छर्लङ हुनुपर्छ । यसका लागि अभिभावकले विद्यालयको अवस्था, वर्तमान, इतिहास, नतिजा जस्ता कुरामा प्रश्नहरु गर्नुपर्छ ।

विद्यालय व्यवस्थापन केवल व्यापारी जस्ता छन् कि शिक्षाप्रति उनीहरुको कुनै समर्पण पनि छ ? पठन विधी केवल कोर्स सिध्याउने खालको मात्र छ कि रचनात्मक पनि छ ? विद्यार्थीलाई केवल आम्दानीको स्रोतको रुपमा मात्र लिइन्छ कि भविष्यका कर्णधारको रुपमा ? यावत् प्रश्नहरु अभिभावकले गर्नैपर्छ ।

त्यससँगै छुटाउनै नहुने प्रश्न हो, कस्ता शिक्षक छन् ? कति छन् ? उनीहरुको शैक्षिक योग्यता के हो ? पठन विधी कस्तो छ ?

किनभने अहिले धेरैजसो निजी विद्यालयले कम तलब एवं पारिश्रमिकमा शिक्षक/शिक्षिका भर्ना गर्छन् । उनीहरुसँग शैक्षिक योग्यताको प्रमाणपत्र भएपनि शिक्षणप्रति समर्पण, लगाव, अभ्यास हुँदैन । यस्ता शिक्षकले तपाईंको बच्चालाई कुनै उपयोगी कुरा कसरी सिकाउँछ होला ? कुनै नयाँ कुरा कसरी अवगत गराउँछ होला ?

त्यसैले शिक्षक र पठन विधीबारे तपाईंले दोहोर्‍याएर, तेहर्‍याएर प्रश्न गर्नैपर्छ ।

जसरी एउटा कमजोर वा कमसल चिकित्सकको हातमा रोगीलाई सुम्पदा उनको ज्यान जाने खतरा हुन्छ । ठिक त्यसैगरी एक कमजोर र कमसल शिक्षकको हातमा छोराछोरीलाई सुम्पदा उनीहरुको भविष्य बिग्रने भय रहन्छ ।

त्यसैले आफ्नो छोराछोरी भर्ना गर्नुअघि तपाईंले केही प्रश्नहरुको सूची तयार गर्नुहोस् । आफ्ना छोराछोरी पढ्ने विद्यालयमा ति प्रश्नहरु गर्नुहोस्, जसले तपाईंलाई ढुक्क बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment