Comments Add Comment

पानी परेपछि हावाहुरी प्रभावितको विचल्ली

१९ जनाको परिवार त्रिपालभित्र अटेनन्

२४ चैत, वीरगञ्ज । बारा र पर्सामा हावाहुरीले वितण्डा मच्चाएको एक साता बितिससकेको छ । अझै पनि हावाहुरी प्रभावितको विचल्ली छ । अस्थायी बास व्यवस्थापन प्रभावकारी हुन नसकेको र एकद्वार प्राणाली अवलम्बन गरिएको राहत वितरण सबै ठाउँमा पुग्न नसकेको गुनासो छ ।

हावाहुरी आएको दिनदेखि मौसम सामान्य रहेको भए पनि शनिबार दिउँसोदेखि नै यस क्षेत्रको मौसम बदलिएको छ । शनिबार राति पानी परेपछि हावाहुरी प्रभावितको विचल्ली भएको छ । प्रभावित क्षेत्रमा त्रिपाल लगाइएको भए पनि सबै प्रभावितलाई पुग्ने किसिमले छैन ।

जमिन उठाएर अग्लो बनाएर नलगाइएकोले कतिपयको टेन्टभित्र पानी पसेको छ । घाइते भएकाहरु उपचारपछि घर फर्किन थालेका छन् । कतिपय घरमा सबै सदस्यहरु एउटै त्रिपालभित्र अटेका छैनन् । फेटा गाउँपालिका वडा नं १ भरवलियाका अगुवा विरेन्द्र साहले त्रिपाल पर्याप्त नहुँदा पानी परेका बेला प्रभावितको विचल्ली भएको बताए । उनले भने ‘कतिपयले घरमा लिएर गएको राहतको सामाग्री जोगाउन मुश्किल पर्‍यो, केही परिवार पानी पर्दा त्रिपाल ओढेर सुते ।’

भलुही भरवलियाकी राजपतिदेवीको पुरै परिवार घाइते भई अस्पतालमा उपचार गराइरहेका थिए । उनीहरु शनिबार मात्रै घर फर्के । उनीहरु आफन्तको त्रिपालभित्र ओत लाागे ।

‘पानी नपरेको भए त बाहिर पनि झुल लगाएर सुत्न सकिन्थ्यो । राति पानी परेपछि विजोग नै भयो’ उनले भनिन् ।

पानी परेपछि प्रभावित क्षेत्रमा लामखुट्टेको आतंक बढेको छ । भलुही भरवलियाकै सीता साहले पानी परेपछि बढेको लामखुट्टे आतंकले राति निदाउन नसकेको बताइन् । बासस्थानको समस्याले बालबालिका र वृद्धवृद्धालाई बढी सताएको छ ।

भलुवी भरवलिया मात्रै होइन, पर्सा र बारा जिल्लामा प्रभावितहरुको अवस्था लगभग उस्तै छ । सामाजिक अभियन्ता प्रकाश थारु राहत वितरण गर्दा घरधुरी गनेर मात्रै वितरण गर्दा पनि समस्या यथावत रहने बताउँछन् ।

‘एउटा परिवारमा १९ जनासम्म सदस्य भएको परिवार भेटेँ, एउटा चाइनिज टेन्टले उनीहरुलाई केही हुन सक्दैन’ उनले भने । राहत वितरण गर्दा परिवारको संख्याको आधारमा गर्नुपर्ने उनको धारणा छ ।

हावाहुरी प्रभावित नथुनीप्रसाद जयसवाल आकाशमा कालो वादल मडारिएको देख्ने वित्तिकै डर लाग्ने गरेको सुनाउँछन् ।

वर्षायामको छ चिन्ता

सरकारले हावाहुरीको वितण्डाबाट घरबारविहीन बनेका पीडितहरुका लागि घर निर्माण गर्ने वाचा गरिसकेको छ । पहिले केन्द्र र प्रदेश सरकारले घर बनाउन तछाड मछाड गरे पनि पछि समन्वय गरेर त्यसको जिम्मा सेनालाई दिने निर्णय भइसकेको छ । प्रदेश सरकारले पनि त्यसमा सहमति जनाएको छ । त्यसका लागि सरकारले तयारी गरिरहेको छ ।

हावाहुरी प्रभावितहरु वर्षा अघि नै सरकारले घर बनाइदिउन् भन्ने चाहन्छन् । प्रभावित क्षेत्रका सब्दाद मियाँ अन्सारी सरकारले चाडो भन्दा चाडो घर बनाइदियोस भन्ने चाहान्छन् । ‘कालको रुपमा हावाहुरी आयो, घरको दराज घुम्ती उडाएर लग्यो, कहाँ पुग्यो थाहा छैन’ उनले भने ‘खाना, कपडाको सहयोग मिलिरहेको छ । बस्नका लागि टेन्ट मिलेको छ तर घरबाट बेघर भएका छौं यसमा सरकारले मद्दत गर्नुपर्‍यो ।’

अर्का स्थानीय जाकिर मियाँ ठकुराईले जति सक्दो छिटो वर्षा अघि नै घर बनाउन आग्रह गरे । ‘बस्नका लागि टेन्ट त छ, वर्षाको मौसम आउन थालेको छ । घर निर्माण जति सक्दो छिटो काम शुरु भएन भने धेरैको विजोग हुन्छ ।’ ठकुराइको श्रीमती हावाहुरीका कारण आएको विपदमा घाइते भई वीरगञ्जको अस्पतालमा उपचाररत छिन् ।

फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल पालले वर्षालाई नै मध्यनजर गरेर दाताहरुलाई त्रिपाल भन्दा पनि जस्तापाता सहयोग गर्न आग्रह गरिरहेको बताए । ‘राति पानी पर्दा म पनि प्रभावित क्षेत्रमा नै थिएँ, जस्ताको छानो भएको घरमा गएर ओत लागेँ, प्रभावितलाई दिएको चाइनिज टेन्टले सामान्य पानी धान्छ, अर्को टेन्टले त त्यो पनि धान्दैन’ उनले भने । घर बनाउन समय लाग्ने हुनाले जस्तापाता सहयोग गर्न आग्रह गरेको उनले बताए ।

चैत १७ गते साँझ आएको हावाहुरीले पर्सा र बारा जिल्ला नराम्ररी प्रभावित भयो । विपदमा परी पर्साका तीनजनासहित २८ जनाले ज्यान गुमाए । हावाहुरीले पर्सामा ५ सय ९ र बारामा १ हजार ८ सय ९५ घरधुरीमा क्षति पुगेको प्रशासनको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment