
१५ वैशाख, काठमाडौं। प्राकृतिक प्रकोपबाट पीडित मधेसका किसान प्रताडित भएका छन् । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले यसतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले हिजो राति (आइतबार राति) आएको हावाहुरी र असिनापानीका कारण मधेस पुरै किसान प्रभावित भएका छन् । उनका अनुसार बारा, रौतहट, पर्सा सहितका मधेसका जिल्लामा सर्वसधारणको बालीनालीमा क्षति पुगेको छ र जनजीवन प्रभावित भएको छ ।
आँप, लिचीसहित तरकारी खेतीमा क्षति पुगेको बताउदै उनले किसानलाई राहत आवश्यक रहेको बताए । प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवाहरु सुचारु गर्नका लागि उनले सरकारसँग माग गरे ।
‘किसानको आँप, लिचीसहित तरकारी खेतीमा क्षति पुगेको छ । गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ । विद्युतका पोल ढलेर विद्युत अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ,’ सांसद साहले भने ।
यसका साथै, हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडकखण्ड अन्तर्गतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक वर्षौदेखि ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसँग जवाफ माग गरेका छन् ।
उनका अनुसार हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक अन्तर्गतको कलैया बजार क्षेत्रमा पर्ने सडक निर्माण हुन नसक्दा सर्वसधारणले सास्ती खेप्नुपरेको छ । वर्षाका कारण अहिले हिलाम्य बनेको छ । १० वर्षौदेखि बनाउन सुरु गरिएको उक्त सडक ठेकेदारले समयमै नबनाउँदा समस्या भएको छ ।
यस सम्बन्धमा सरकारले ख्याल गर्नुपर्ने उनको आग्रह छ । ‘खासगरी प्रधानमन्त्रीसँग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक र सांसद जितेको छ । भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ । प्रधानमन्त्री पनि एमालेकै छ । तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ ? सरकारले जवाफ दिनुपर्छ’ उनले भने ।
सरकारकै लापरवाहीले मटिअर्वा–कलैया–पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खोप्न बाध्य भएको उनले बताए । ठेक्का लागेको वर्षौ भएपनि निर्माण कार्य किन तोकिएकै समयमा सम्पन्न भएन, त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग उनले गरे ।
प्रतिक्रिया 4