
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘लभ स्टेशन’को व्यापार सोमबारसम्म आइपुग्दा उकालो लागेको निर्माता गोविन्द शाहीले बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै निर्माता शाहीले भने–‘चलचित्र रिलिज भएसँगै झरीको प्रभावमा परेको थियो । अहिले मौसममा सुधार भएपछि दर्शकको चाप बढेको छ ।’
शाहीका अनुसार, सोमबार चलचित्रको व्यापार काठमाण्डौ बाहिर र भित्र सुखद छ । करिब २ करोड बजेटमा बनेको यो चलचित्रले निर्माता शाहीलाई सुरक्षित गर्न मात्र पनि ५ करोड भन्दा बढी कमाउनुपर्नेछ । निर्माता शाही चलचित्रले आफूलाई सुरक्षित बनाउनेमा विश्वस्त देखिएका छन् ।
नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रलाई दर्शकले मन पराएको निर्माताको दाबी छ । आउँदो साताबाट नयाँ बर्षको रौनक पनि सुरु हुने भएकाले निर्माता शाही चलचित्रको व्यापार अझै बढ्नेमा आशावादी देखिएका छन् ।
प्रतिक्रिया 4