Comments Add Comment

निजी क्षेत्रलाई प्रधानमन्त्रीले भने : अपारदर्शी लगानी नल्याउनुस्

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपारदर्शी ढंगले लगानी नल्याउन उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् ।

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले अपारदर्शी ढंगले लगानी नल्याउन आग्रह गरेका हुन् ।

‘लगानी गर्नुस् र देखाएर लगानी पनि ल्याउनुस् । अपारदर्शी ढङ्गले होइन पारदर्शी ढङ्गले १० प्रतिशत, १५ प्रतिशत जाला । यो देशबाट ल्याएँ, यति ल्याएँ, यति मैले पाएँ भन्नुस्’ उनले भने, ‘अदृश्य ढङ्गले गर्दा लुकाउन पनि गाह्रो, देखाउन पनि गाह्रो । देखिएला भन्ने डर । त्यो किन गर्नुहुन्छ ?’

उनले विदेशी लगानी ल्याउनेले आफूले ल्याएको रकम कालो धन नभएको पुष्टि गर्नुपर्ने पनि बताए । ‘कसैले बाहिरबाट पैसा ल्याएर लगानी गर्छ भने अवश्य नै उसले यो पैसा स्वच्छ हो है भनेर आफ्नो प्रतिवद्वता जाहेर गर्नुपर्छ’ उनले भने ।

सरकारले लगानी सुरक्षणको ग्यारेन्टी गर्ने भन्दै उनले आफूसँग भएको रकम निकाल्न पनि व्यवसायीलाई आग्रह गरे । ‘तपाईंहरु आफूसँग भएको रकमहरु निकाल्नुस् । मैले अलि पहिले पनि भनेको थिएँ, डर्टी मनी होइन । तर, मान्छेले निकाल्न सकिराख्या छैनन्’ उनले भने ‘लगानी गर्नुस् । आफूसँग भएको पैसा लगानी गर्ने हो ।’

व्यवसायीलाई नयाँ सम्भावना खोज्न आग्रह गर्दै उनले त्यसका लागि सरकारले वातावरण बनाइदिने बताए । ‘आफ्ना मौलिक उद्योगहरु खोलौं । कुन ठाउँमा के सुविधा चाहिन्छ ? न्यायोचित, यथोचित सुविधा, उद्योगका निम्ति आवश्यक पर्ने कच्चा पदार्थ वा मेसिनरी चिजको वा प्रविधिको गर्नुपर्दा के सहयोग दिनुपर्यो ? त्यो सरकारको विषय हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment