Comments Add Comment

नागरिकताबारे गृहको परिपत्रमा संसदीय समितिको चासो

२५ चैत, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जन्मको आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई गरेको परिपत्रप्रति चासो देखाएको छ ।

नागरिकता विधेयक छलफलकै क्रममा रहेका बेला गृह मन्त्रालयले परिपत्र गरेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको हो ।

चैत १९ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरूका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन भनेको थियो ।

‘यो विषय बाहिर आएपछि समितिले सरोकार राख्यो र गृहमन्त्रीसँगै वास्तविकता के हो ? भनेर छलफल गर्ने तय भएको छ’ समिति सभापति शशी श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका अनुसार गृह मन्त्रालयले गरेको परिपत्रका सम्बन्धमा बुधबार गृहमन्त्री थापासँग छलफल गर्ने तय गरिएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक संसदमा पेश भएपछि जन्मका आधारमा नागरिकता प्राप्त गरेकाको सन्तानलाई नागरिकता दिने कार्य रोकिएको थियो । तर, नागरिकता वितरण रोकिएपछि अन्यायमा परेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले पीडितको पक्षमा नै आदेश दिएको थियो ।

सर्वोच्चको फैसलापछि मन्त्रिपरिषदबाट निर्णय भएर आएपछि जन्मका आधारमा नागरिकता लिएकाको सन्ततिलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको गृह मन्त्रालयले जनाएको छ ।

तर, नागरिकता ऐन संशोधन विधयेक संसदमा विचाराधीन रहेको अवस्थामा र विवादको मुख्य विषयलाई कार्यान्वयनमा लगिएको भन्दै कतिपयले विरोध जनाएका छन् ।

समिति सभापति श्रेष्ठले सञ्चारमाध्यममा आएका विषयहरुमा पनि समितिमा गृहमन्त्रीसँग छलफल हुने जानकारी दिइन् ।

तर, गृह मन्त्रालयले परिपत्र गरेपछि देशभरका जिल्ला प्रशासन कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता दिन थालिसकेको छ ।

यता सर्वोच्च अदालतले सोमबार गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न आदेश दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment