Comments Add Comment

आजका पत्रपत्रिका : सरकारकै अनुमतिमा आईएनजीओद्वारा क्रिस्चियन धर्म प्रचार

२७ चैत, काठमाडौं । एनसेल लाभकरबारे सर्वोच्चले गरेको फैसला र सरकारी चिकित्सकको आन्दोलन आजका अधिकांश दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, सत्ता र विपक्षी दलभित्रको विवाद, गैरसरकारी संस्थाभित्रका बेथितिलाई पनि आजका पत्रिकाहरुले उठाएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले सत्तारुढ नेकपा र विपक्षी दल कांग्रेस पार्टीभित्रको अन्तरविरोधबारे केलाएको छ । नेकपाको नेतापिच्छेको गुट र कांग्रेसको भागबन्डाले पार्टी अलपत्र बनेको अन्नपूर्ण समाचारको सार छ ।

अन्नपूर्ण लेख्छ– सत्तासीन नेकपा र प्रतिपक्षी कांग्रेस आन्तरिक विवादमा रुमल्लिएका छन् । पार्टी एकीकरण भएको १० महिना बित्दा पनि सांगठनिक एकता नटुंगिँदा नेकपा चलायमान बन्न सकेको छैन भने विधानअनुसार कार्य सम्पादन समिति गठन नहुँदा कांग्रेस गतिशील बन्न सकेको छैन ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले सरकारकै अनुमतिमा क्रिस्चियन धर्म प्रचार गरिरहेको अर्को खबर पनि अन्नपूर्णमा छ । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको समाचारमा लेखिएको छ ।

मेरी स्टोप्स इन्टरनेशनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित मन्त्रालयसँग जवाफ माग्ने भएको अन्नपूर्णले लेखेको छ ।

कान्तिपुरले सरकारी चिकित्सकको आन्दोलनपछि विकसित घटनाक्रमबारे मुख्य समाचार बनाएको छ । चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि बिरामी प्रभावित हुँदै आएका छन् ।

सरकारी चिकित्सक आन्दोलित बनेको पाँच दिन बितिसक्दा पनि समस्या समाधानको पहल भएको छैन ।

कर्मचारी समायोजनका क्रममा बाहिरका एक जना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेकोलाई पनि कान्तिपुरले यही समाचारमा कम्पाइल गरेको छ । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् ।

तीन महिनाभित्रै एनसेलबाट कर असुली गर्न सर्वोच्चले गरेको फैसलालाई पनि कान्तिपुरले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।

नागरिकले ललितनिवास जग्गा हिनामिनामा ठूलाबडाकै संलग्नता औंल्याएको छ ।

नागरिक लेख्छ– मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितनिवास परिसरमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलको पनि जग्गा रहेको खुलेको छ ।

व्यापारी तथा भूमाफियामार्फत महामसचिव पौडेलले ललितनिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको समाचारमा उल्लेख छ ।

सत्तारुढ दलकै शक्तिशाली नेता ललितनिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको नागरिकको निष्कर्ष छ ।

निजी विद्यालयको मनपरीबारे मुख्य समाचार बनाएको राजधानीले बजेट अभावमा गैंडा गणना अन्योलमा परेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment