Comments Add Comment

प्रदेश मन्त्रीको सम्पत्ति : पर्यटनमन्त्रीको दुई थ्रेसर, अर्थमन्त्रीको फेन्सी

चार मन्त्रीभन्दा मुख्यमन्त्री ‘गरीब’

२९ चैत, विराटनगर । प्रदेश १ का मन्त्रीहरुले पहिलोपटक आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयमा पेश गरेका छन् । विवरणअनुसार थ्रेसर मेसिनदेखि फेन्सी पसलसम्ममा मन्त्रीहरुको लगानी रहेको पाइएको छ ।

प्रदेशका सबैभन्दा धनी मन्त्रीको रुपमा सामाजिक विकासमन्त्री जीवन घिमिरे देखिएका छन् । विराटनगरमा एउटा घर र तीनवटा घडेरी रहेको विवरण पेस गरेका घिमिरेले स्कुल, हाइड्रो, कृषि फार्ममा १ करोड ३४ लाख २० हजार बराबरको शेयर लगानी गरेको उल्लेख गरेका छन् । १२ तोला सुन, २० तोला चाँदीको सञ्चिति राखेका मन्त्रीको बैकमा ६ लाख नगद छ ।


घिमिरेसँग एउटा मारुती कार, स्कुटर र एउटा मोटरसाइकल छ । विराटनगर–११ मा १ कठ्ठामा जग्गामा बनेको घर र घडेरी, कटहरी–४ मा जग्गा र श्रीमती विमला घिमिरेको नाममा केराबारी गाउँपालिका–२ मा १६ रोपनी जग्गा छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले फेन्सी पसलमा ३० लाख लगानी गरेका छन् । उनको कृषि फर्म र हाइड्रोमासमेत लगानी छ । पाँचथरको फिदिम ११ मा सगाेलको ५ रोपनी जग्गामा बनेको घर, ५० रोपनी जग्गा छ । श्रीमती कुमारी लावतीको नाममा झापाको विर्तामोडमा ६० लाख रुपैयाँमा खरिद गरेको ३ कठ्ठा जग्गा छ ।

उनीसँग इलामको चुलाचुलीस्थित दुई बिगाहा जग्गामा सञ्चालित मिक्लाजुङ कृषि फर्म रहेको छ जसमा ३ सय वटा बंगुर छन् ।
त्यस्तै आङ्बोको १० तोला सुन र २० तोला चाँदी छ भने पालुङ खोला हाइड्रोपावरमा १० प्रतिशत शेयर छ । मन्त्रीले आफूसँग २ लाख ५० हजार नगद र बैंकमा २ लाख ७५ हजार रुपैया रहेको उल्लेख गरेका छन् । फेन्सी पसलमा ३० लाख लगानी गरेका छन् ।

उद्योग, वन तथा पर्यटनमन्त्री जगदिश कुसियतले धान र गहुँ झार्ने दुईवटा थ्रेसर मेसिन सम्पत्ति विवरणमा देखाएका छन् । सुनसरीको कोशी गाउँपालिकामा उनको ७ विगाहा जग्गा छ । कुसियतले दुई कट्ठा जग्गामा बनेको घर र काठमाडौंमा ७५ लाखमा किनेको घडेरी सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।


कुसियैतसँग टाटा कार, मोटरसाइकल र ४७ वटा पशु चौपाया छन् । १७ तोला सुन र ४० तोला चाँदी राखेका मन्त्रीसँग विभिन्न बैंकमा २ लाख १२ हजार जम्मा छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीसँग एउटा कार, ६ तोला सुन, १० तोला चाँदी छ । स्कुल, अस्पताल र हाइड्रोमा ३२ लाख ८८ हजार मूल्य बरावरको शेयर छ ।

मन्त्री कार्कीसँग २२ लाखमा खरिद गरेको सेन्ट्रो कार छ । कार्कीले श्रीमती अन्जना पाण्डेको नाममा लुम्बिनी बैंकमा ५० लाख नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । दाजु दीपक कार्कीसँगको साझेदारीमा गौरादह १ मा डेढ कठ्ठा जग्गा रहेको विवरण उनले बुझाएका छन् ।

मुख्यमन्त्रीको इटहरीमा घडेरी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशका चार मन्त्रीको तुलनामा ‘गरिब’ देखिएका छन् । कृषि विकास बैंक, हाइड्रो र स्कुलमा १२ लाख २४ हजार बराबरको शेयर रहेको विवरण पेस गरेका मुख्यमन्त्रीले विभिन्न व्यक्तिलाई ४ लाख ५० हजार ऋण दिएका छन् ।

प्रदेश १ को नाम र राजधानी टुंगो लगाएपछि आफ्नो विवाह गर्ने बताउँदै आएका मुख्यमन्त्री राईसँग १९ तोला सुन र ३० तोला चाँदी छ । टोयटा कम्पनीको जिप १ थान, बैंकमा १० लाख ४७ हजार नगद जम्मा रहेको विवरण पेस गरेका छन् ।
राईसँग इटहरीमा ८ धुर घडेरी, भोजपुरको आमचोक ३ मा ९ हेक्टर ८ रोपनी जग्गा तथा पैत्रिक घर रहेको छ ।

सबै मन्त्री ऋणी

सम्पत्ति विवरण पेस गरेका प्रदेश १ का चार मन्त्रीले आफूहरु ऋणमा रहेको देखाएका छन् । मुख्यमन्त्रीले भने ऋण लगानी गरेका छन् ।

ऋणी मन्त्रीहरुको अग्रस्थानमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो छन् । उनीसँग २ करोड ७१ लाख ऋण छ । कृषि फर्मका लागि उनले सो ऋण लिएका हुन् ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको १ करोड २२ लाख ऋण छ । पर्यटनमन्त्री जगदिश कुसियतको ७३ लाख ऋण छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिम्मत कार्की ३ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment