Comments Add Comment

निगमको उडान रद्द घटनामा ६ कर्मचारीलाई कारबाही सिफारिस

२९ चैत, काठमाडौं । नेपाल वायु सेवा निगमको उडान रद्द भएको विषयमा गठित छानबिन समितिले उक्त घटनामा दोषी देखिएका ६ जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

उडान रद्द हुँदा ड्युटीमा रहेका नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना कर्मचारी, नेपाल वायु सेवा निगमका दुई जना पदाधिकारी र विमानस्थलमै कार्यरत निगमका अन्य दुई जनालाई कारबाहीको सिफारिस गरेको हो ।

‘उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय नगरेको देखिएकाले विभागीय कारबाही गर्न सिफारिस गरेको छ’ समितिले शुक्रबार पर्यटन मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै उडान रद्द भइसकेपछि यात्रुहरुको उचित व्यवस्थापनमा तत्काल उपयुक्र कदम नचाल्ने नेपाल वायुसेवा निगमको विमानस्थलस्थित दुई कर्मचारीलाई पनि कारबाही गर्न समितिले सिफारिस गरेको छ । समयमा ह्यागरबाट पार्किङ वे मा जहाज ल्याउने काममा पनि समन्वयमा कमजोरी देखिएकाले निगमका दुई कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको छ ।

गत चैत १२ गते राति सवा ९ बजे तय भएको नेपाल वायु सेवा निगमको काठमाडौंबाट दुबईतर्फ जाने उडान निर्धारित समयमा उड्न नसकी रद्द भएको थियो । उडान रद्द हुँदा यात्रुहरु रातभरी जहाजमै बस्न बाध्य भएका थिए । उक्त घटनामा भएको कमी कमजोरीको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले चैत २० गते मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिलाई घटना के हो, घटनाको दोषी पहिचान गर्ने र लापरबाही गर्नेलाई कारबाही सिफारिस गर्ने तथा भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायबारे सिफारिस गर्न जिम्मेवारी दिइएको थियो ।

समितिले नेपाल वायु सेवा निगमको विमानजस्तै समस्यामा फ्लाई दुबईको उडान भएको घटनामा पनि विस्तृत छानबिन गरी जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न नागरिक उड्ययन प्राधिकरणलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment