Comments Add Comment

पूर्वोत्तर भारतको अन्तिम गाउँ, जसले १२२ नेपाली चेलीलाई बचायो

भारत र म्यानमारको सीमानामा नेपालीभाषीको अस्थित्व

३० चैत, । पूर्वोत्तर भारतीय राज्य मणिपुरसँग काठमाडौंको कुनै प्रशासनिक नाता छैन । मान्मारसँग सीमाना जोडिएको मणिपुरको दक्षिणी गाउँ मोरेसँग त झनै छैन । २ हजार २ सय किलोमिटर पूर्वको यही गाउँ एक महिनाअघि एकाएक काठमाडौंमा चर्चित भइदियो । मोरे त्यही गाउँ हो, जहाँबाट बिक्रीका लागि थाइल्याण्ड लगिँदै गरेका १२२ जना नेपाली चेलीको उद्धार गरिएको थियो ।

काँकरभिट्टा नाका छलेर बर्मा (म्यान्मार) कटाउने उद्देश्यले मोरेमा राखिएका ती चेलीहरुको उद्धार हुनुको पहिलो कारण हो, नेपाली भाषा । मानव तस्करहरुले उनीहरुलाई नेपालीभाषी गाउँका होटल र घरहरुमा राखेका थिए ।

मान्माबाट रोजगारीका लागि छिमेकी थाइल्याण्ड जानु सामान्य मानिन्छ । यही मनोविज्ञान समातेर गाउँलेलाई विश्वासमा लिएका तस्करहरुले एकपछि अर्को गर्दै महिना दिनमा ठूलो सङ्ख्यामा नेपाली चेलीहरु मोरे पुर्‍याएका थिए ।

भारत र म्यानमारको सीमा नाकामा जग्गाको भाऊ आकाशिएको छ । त्यही पैसा बोकेर उनीहरु सकेसम्म नेपाल छिर्ने नत्र मेची किनारमै घर बसाउने धाउन्नमा देखिन्छन्

एकै उमेरका सयभन्दा बढी नेपाली युवती मोरे पुगेपछि भने गाउँलेहरुबीच खासखुस चल्न थाल्यो । तीमध्ये कसैले १६० किलोमिटर उत्तर मणिपुरको राजधानी इम्फाल नजिकको ठूलो नेपाली बस्ती चारहजारेमा खबर गरे ।

चारहजारेका अगुवाहरुले भने, ‘हामी केही बन्दोबस्त गर्छौं, त्यो बेलासम्म ती चेलीहरुलाई सीमा काट्न नदेऊ ।’ त्यसपछि मोरेका युवा समूह नजानिँदो गरी गतिविधि नियाल्न लागे । त्यहीबेला चेलीबेटी बेचबिखनसँग जोडिएका एकजना नाइके दिल्लीमा पक्राउ परेको खबर आयो । वयानका क्रममा ती व्यक्तिले केही चेलीहरु मोरेमा भएको कुरा चुहाए । त्यसपछि माइती नेपालका अध्यक्ष विश्व खड्का नेपाल प्रहरीको अनुसन्धान टोलिसहित इम्फाल पुगे । तर, मान्मारसँग सीमा जोडिएको र मणिपुरे विद्रोहीहरुको बासस्थान रहेको मोरे क्षेत्रमा प्रवेश सहज थिएन । भारतीय प्रशासनले पनि त्यो क्षेत्रमा पुग्न केही अप्ठ्यारो भएको जानकारी दियो ।

त्यसपछि इम्फाल नजिकको नेपाली बस्ती चारहजारे पुगेका खड्काले खोजेको सबै कुरा पाए अनि मोरेबाट नेपाली चेलीहरुको उद्धार सम्भव भयो ।

‘नेपालीभाषी भएको नाताले यति सेवा गर्न पाइयो, यसैमा सन्तोष छ’, गतसाता मोरेमा भेटिएका एक युवकले अनलाइनखबरसँग भने, ‘अब त हामीले निगरानी समूह नै बनाएका छौं, नेपालबाट चेली लिएर कुनै शंकास्पद व्यक्ति आयो भने मणिपुर प्रशासन र नेपालको माइती नेपाललाई सूचना दिन्छौं ।’

मणिपुरमा नेपालीको बद्नाम हुने गरी भएको यो घटनापछि स्वतःस्फूर्तरुपमा निगरानी समूहहरु गठन गरिएको ती युवकले बताए । सूचकमा सीमा नाकामा व्यापार गर्ने म्यान्मार र मोरेका नेपालीहरु छन् ।

भारतको अन्तिम गाउँमा नेपालीभाषी

नेपालको पूर्वी सीमा काँकरभिट्टाबाट सडक यात्रा गर्दा मोरे पुग्न तीन दिन लाग्छ । रेलमा त्योभन्दा बढी लाग्छ । किनभने, पहाडी क्षेत्र भएका कारण नागाल्याण्डको डिमापुरसम्म मात्र भारतीय रेल सेवा विस्तार भएको छ । नागाल्याण्डबाट मणिपुरको राजधानी इम्फाल काटेर दुर्गम पहाडी क्षेत्रमा रहेको मोरे पुग्न मोटरको विकल्प छैन ।

अंग्रेजका पालामा बनेको पुरानो बाटोलाई मोदी सरकारले ‘एसियन हाइवे’ बनाउन थालेपछि र मान्मारसँग सीमानाका खोल्ने सहमति गरेपछि मोरे क्षेत्रको नाम चम्किँदैछ । त्यसअघि त यो क्षेत्र लागू औषध, भारतीय र चिनियाँ सामान तस्करीका लागि कुख्यात थियो । त्यसमाथि थियो, अन्यायमा परेर सशस्त्र बिद्रोही बनेका मणिपुरका जनजातिहरुको आश्रयस्थल अर्थात् निषिद्व क्षेत्र । बिद्रोहीहरुले यही सडक र गाउँहरुलाई बेलाबेला आफ्नो माग पूरा गराउने हतियार बनाउँछन् पनि ।

यस्तो क्षेत्रमा नेपालीभाषीको झुरुप्प बस्ती भेटिँदा नेपालबाट गएकालाई अनौठो लाग्छ । यो सानो गाउँमा नेपालमा झैँ सर्बजाति भेटिन्छन् । पूर्वोत्तर भारतको यो अन्तिम गाउँमा २ सयमध्ये ५५ घर नेपालीभाषीका छन् । ‘ब्यापारको अवसर खुलेपछि मणिपुरे र मान्मारका आदिवासीहरु मोरे आएका हुन्, त्यसअघि यो गाउँमा नेपालीभाषी मात्र थिए भन्दा फरक पर्दैन’, गाउँका रामशरण कार्कीढली भन्छन्, ‘यहाँका रैथानेसँग नेपालीभाषीको राम्रो सम्बन्ध छ ।’

मोरेबाट म्यान्मारको सीमापार गर्नेबित्तिकै नेपालीहरुको ठूलो बस्ती तमु भेटिन्छ । तमु गाउँमा म्यान्माली, मणिपुरी र नेपाली भाषा चल्छ । मान्मारका नेपालीहरुसँग बैवाहिक सम्बन्ध भएका कारण मोरे क्षेत्रका नेपाली भाषीहरुलाई मान्मार हुँदै चीनको सीमासम्म पुगेर सामान आयात गर्न गाह्रो छैन । यही कारण भारत–मान्मार सीमा क्षेत्रका पसलमध्ये ३३ प्रतिशत नेपालीको छ भनिन्छ ।

मान्मारका पत्रकार–लेखक अमित घिमिरे मान्मारतर्फ तमु र भारततर्फ मोरेमा नेपालीहरुको बाक्लो उपस्थिति भएका कारण सीमा ब्यापारमा पनि उनीहरु नै जमेको बताउँछन् । ‘सीमामा ब्यापारको सुरुवात गर्ने नै नेपाली जाति हुन्’, उनी भन्छन्, ‘ब्यापारिक अवसर बढ्दै गएपछि भारत र म्यान्मारका अरु पनि आकर्षित भएका हुन् ।’

कसरी पुगे नेपालीभाषी ?

नेपालीभाषीको भिड देख्ने वित्तिकै मनमा सहज प्रश्न उठ्छ– आजको सुगम सडकहरुमा सुविधायुक्त गाडीबाट तीन दिन लाग्ने यो दुर्गम बस्तीमा उहिले कसरी आइपुगे नेपालीभाषी ? ‘मेरा हजुरबुवाले बुवालाई लिएर यहाँ आउनु भएको भन्ने सुनेको हुँ । सानै भएकाले पानी खान नपाएर बाटोमै झण्डै मरेको कथा मेरा बुवा सुनाउनुहुन्थ्यो’, रामशरण कार्की ढली भन्छन्, ‘उहाँहरुले पशुपालन गरेर हामीलाई जन्माउनु, हुर्काउनुभयो । अहिले परिवारका हामी सबै ब्यापारमा छौं ।’

इस्ट इन्डिया कम्पनीले भारत लगायतका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न नेपालका गाउँ–गाउँबाट आफ्नो सेनामा भर्ना गरेको थियो । युद्धका बेला अंग्रेज फौजमा धेरै गोर्खा बटालियन थिए । ती मध्ये फोर्थ गोर्खा राइफल्सलाई बर्मा (आजको म्यान्मार) र आसाम गोर्खा राइफल्सलाई मणिपुर खटाएको थियो । फोर्थ गोर्खाका नेपालीहरु बर्मामै बसे । असम राइफल्सकाहरुले बर्मा–मणिपुर सीमा क्षेत्रलाई आश्रयस्थल बनाए । ती गोर्खा सैनिकहरुले नेपाल गएका बेला गरेका वयान सुनेर मणिपुर र बर्मामा अरु पनि नेपाली थपिएको मानिन्छ ।

‘त्योबेला पहाडबाट हुलका हुल नेपाली मणिपुर आएको कथा हामीले पनि सुनेका हौं । तिनै व्यक्तिका सन्तानले कालापहाडदेखि मोरेसम्मका मणिपुरमा बस्ती बसाएका हुन्’ तमुका बिक्रम लिम्बु भन्छन्, ‘हाम्रा बाजेहरुले सेनामा भएका बेला यहाँ यस्ती बसाएको सुनेको हुँ ।’

अंग्रेजहरुले दोस्रो विश्वयुद्धपछि गोर्खा सैनिकहरुलाई सपरिवार बसोबास गर्न जग्गा पनि दिए । त्यस्ता जग्गाहरु धेरैजसो संवेदनशील क्षेत्रभित्र पर्दथे । संवेदनशील सीमा क्षेत्रमा पूर्व गोर्खा सैनिकका परिवार राख्दा आपराधिक क्रियाकलाप कम हुन्छन् भन्ने विश्वास थियो । मोरे भारतको अन्तिम गाउँ हुनुका पछाडि पनि यही नीतिले काम गरेको स्थानीयहरुको ठहर छ ।

मणिपुरका इतिहासकारहरुले भने अंग्रेज फौजमा भर्ना भएर नेपालीहरु मणिपुर प्रवेश गर्नुअघि नै यहाँका बस्तीहरुमा नेपाली भएको कुरा लेखेका छन् । मणिपुरका अन्तिम राजा बुद्धचन्द्रको विवाह नेपाली चेली ईश्वरीदेवीसँग भएपछि उनीसँग दजनौं नेपाली मणिपुर गएको इतिहासमा उल्लेख छ । यिनै इतिहासलाई आधार बनाएर साहित्यकार भवानी अधिकारीले लेखेको पुस्तक ‘आँखी झ्यालभित्र मणिपुर’ मा ईश्वरीदेवी जंगबहादुर राणाकी नातिनी भएको उल्लेख छ ।

ईश्वरीदेवीले आफ्नो दरबारको रक्षार्थ नेपाली सैनिक तैनाथ गरेकी थिइन् । तीमध्येका निरञ्जन सिंह क्षेत्रीलाई अंग्रेजहरुले फाँसी दिएका थिए । मणिपुर भारतमा बिलय हुनुअघिसम्म क्षेत्री मणिपुरका सहिद थिए । मणिपुरले आज पनि उनको स्मृति दिवस मनाइन्छ ।

अहिले मणिपुरमा ५० हजार नेपालीभाषी रहेको अनुमान छ । बेला बेलामा आउने विद्रोहीहरुको धम्की र आफू जन्मेकै स्थानमा पनि विदेशी जस्तो हुनुको पीडाका कारण धेरै नेपाली भाषी अन्यत्र सर्न थालेका छन् । हिजोको सुनसान मेची किनारमा समेत आज मणिपुरे बस्ती देखिनु यसैको परिणाम हो ।

मेची सीमानामा बसाईं सरेका नन्दराम पौडेलले बुवाको नेपाली नागरिकता नभएका कारण आफ्नो नागरिकता नबने पनि मोरे नफर्कने बिचार गरेको बताए । उनका अनुसार, मोरेबाट मात्रै होइन, मणिपुरका बाक्ला नेपाली बस्ती काङ्लातुम्बी, इराङ्, कालापहाडबाट पनि नेपालतिर बसाईं सर्ने क्रम जारी छ ।

यही कारण अन्य जिल्लाका तुलनामा झापामा बंशजका आधारमा नागरिकता लिनेहरुको सङ्ख्या बढेको छ । नागरिकता लागि प्रमाण जुटाउन नसक्नेहरु चाहिँ दार्जीलिङ, सिलुगुडी र मेचीकिनारमा बस्न थालेका छन् । जग्गा सस्तो भएकाले भारततर्फको मेची किनारमा बस्ने मणिपुरेको सङ्ख्या ठूलो छ । यो कारण पनि हुन सक्छ, यसपटक विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी)ले मणिपुर चारहजारेका विकास कार्कीलाई उठाएको छ ।

आजको दिनसम्म मोरे भारतको सबभन्दा पूर्वको नेपाली गाउँका रुपमा छ । सीमा नाकामा ब्यापार बिस्तार हुँदै जाँदा यहाँका नेपाली भाषीहरु भने मोरे छाड्ने मनस्थितिमा छन् । भारत र म्यानमारको सीमा नाकामा जग्गाको भाऊ आकाशिएको छ । त्यही पैसा बोकेर उनीहरु सकेसम्म नेपाल छिर्ने नत्र मेची किनारमै घर बसाउने धाउन्नमा देखिन्छन् । त्यही अनुरुप बसाइँ सराइँ भए मोरे भारतको सबभन्दा पूर्वको अन्तिम गाउँ नरहने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment