Comments Add Comment

सैन्य ‘कु’बाट पछि हटे सुडानका रक्षामन्त्री

Photo Credit : एएफपी । सैन्य ‘कु’ मार्फत शासन हत्याएका सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफ ।

३० चैत, काठमाडौं । सुडानमा सैन्य ‘कु’ गरेका सुडान मिलिटरी काउन्सिलका प्रमुख तथा रक्षामन्त्री त्यसबाट पछि हटेका छन् । सुडान सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफ सैन्य कू गरेको १ दिनमै त्यसबाट पछि हटेका हुन् ।

सुडानका रक्षामन्त्रीसमेत रहेका अउफले सैन्य काउन्सिलको नेतृत्व गर्दै ३ दशकदेखि सुडानको राष्ट्रपतिमा सत्तासीन ओमर अली बसिरलाई पक्राउ गरी बिहीबार मात्रै सत्ता हत्याएका थिए ।

अउफले आफ्नो सत्ता टिकाउन सुरुमै सैन्य लेफ्टिनेन्ट जनरल अब्देल फताह अब्देलहमान बुर्हानलाई उत्तराधिकारी बनाउने घोषणासमेत गर्न भ्याएका थिए । तर, त्यसको १ दिनमै अउफ आफ्नो कदमबाट पछि हट्न बाध्य भएका छन् ।

राष्ट्रपति बसिरविरुद्ध लक्षित पछिल्ला केही महिनादेखिका विरोध प्रदर्शनबाट हौसिएका अउफले सैन्य ‘कु’ को पक्षमा जनमत आउने प्रक्षेपण गरेका थिए । तर, उनको अनुमान गलत सावित गर्दै प्रदर्शनकारीहरु सैन्य ‘कु’ विरुद्ध सडकमा ओर्लेका थिए । आफ्नो अपेक्षाविपरीत जनताले प्रदर्शन चर्काएपछि रक्षा मन्त्री अउफले राष्ट्रिय टेलिभिजनमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

अउफ पछि हटेसँगै सुडानको राजनीतिक अस्थिरता कसरी व्यवस्थापन हुन्छ भन्ने प्रश्न उब्जेको छ । तर, सेनाले सत्ता आफूले सम्हाल्ने प्रष्ट पारेको छ । २ वर्षसम्ममा निर्वाचन गराउने र त्यसपछि निर्वाचित जनप्रतिनिधिलाई सत्ताको साँचो हस्तान्तरण गर्ने सेनाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment