Comments Add Comment

वीपी राजमार्गमा कांग्रेसको प्रदर्शन, सवारी आवागमन बन्द

Photo Credit : फाइल तस्वीर

३० चैत, सिन्धुली । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेविरुद्ध कारबाही माग गर्दै नेपाली कांग्रेस, सिन्धुलीले गरेको प्रदर्शनले वीपी राजमार्गको सवारी आवागमन बिहानैदेखि अवरुद्ध बनेको छ ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिएर विना कारवाही छाडिएकाे भन्दै कांग्रेस सिन्धुलीले गरेको प्रदर्शनले सवारी आवागमन प्रभावित बनेको हो ।

दोषीलाई कारवाहीको माग गर्दै काङ्ग्रेसका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनौं स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ ।

आज दिउँसो यस विषयमा जिल्ला कार्यसमितिको बैठक बस्ने र थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिए ।

अहिले नेपाली काङ्ग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगरचोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कांग्रेस सम्बद्धहरुले सवारी आवागमनमा अवरोध पुर्याएको जानकारी दिँदै सञ्चालनका लागि प्रयास भइरहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालमाथि गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ गते दिउँसो २ बजे हातपात गरेको आरोप लागेको छ । सडक निर्माण समिति तीनपाटन–१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरको आरोप छ ।

कटुवाल उपभोक्ता समितिको सदस्यसमेत नरहेको र असम्बन्धित व्यक्तिले आफूमाथि आक्रमण गरेकाले कारवाही गर्न उनले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरी आग्रह गरेका थिए ।

शुक्रबार नै पक्राउ परेका कटुवाललाई प्रहरीले केही समयपछि नै छाडेपछि कांग्रेस सम्बद्ध नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

राससको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment