Comments Add Comment

नयाँ बर्षको १२ संकल्प, जसले बदल्नेछ तपाईंको जीवन

भोलि उदाउने घामसँगै हामी अर्को बर्षमा प्रवेश गर्नेछौ । अर्थात २०७५ साललाई बिदाई गर्नेछौ र २०७६ लाई स्वागत गर्नेछौ ।

तपाईंको यो बर्ष कस्तो रह्यो ? कति उपलब्धी हासिल भए ? कति खुसीपूर्वक दिनहरु विते ? कति राम्रा योजनाहरु बने ? के कस्ता काम थाल्नुभयो ? पारिवारिक जीवन कस्तो रह्यो ? तपाईंको स्वास्थ्यमा के कस्ता सुधार आए ?

बर्ष २०७५ मा तपाईंले केही गुमाउनुभयो होला । केही झन्झट वा समस्याको सामना गर्नुपर्‍यो होला । केही अप्ठ्यारासँग जुध्नुपर्‍यो होला । कति आरोप पनि पो खेप्नुभयो कि ? दुःख, कष्ट झेल्नुपर्‍यो कि ?

पक्कै पनि तपाईंले समीक्षा गर्नुभयो ।

वितेका बर्षमा भएका गल्ती, कमजोरी, समस्या, अप्ठ्यारामाथि समीक्षा गरेर अबका दिन कसरी सुखमय बनाउने ? कसरी उपलब्धीमूलक बनाउने ? कसरी स्वस्थ्य र सन्तुलित बनाउने भन्ने सोंच राख्नुभएकै होला ।

अतः हरेक बर्ष भित्तामा झुन्ड्याएको क्यालेन्डर फेरिएसँगै, मौसम, हावापानी, रुखबुट्यान पनि बदलिन्छ । समय सधै एकनास रहँदैन । हाम्रो उमेर, शारीरिक रुपरंग, सोंच चिन्तन सबै फेरिन्छ । परिवर्तनको यो शृंखलालाई हामीले स्विकार्नु र आत्मसात गर्नैपर्छ । साथसाथै आफुलाई थप परिमार्जित, परिष्कृत, परिपक्क बनाउँनुपर्छ ।

आगमी बर्षलाई तपाईं कति फलदायी, कति सुखमय बनाउन चाहनुहुन्छ ? यहाँ २० संकल्पको सूची छन्, जसलाई तपाईंले अंगाल्न सक्नुहुनेछ ।

व्यक्तिगत जीवनका लागि

१. नितान्त आफ्नो लागि पनि समय छुट्याउनेछु । दिनमा कम्तिमा एक घण्टा आफैसँग विताउनेछु । परिवार, करियर, साथीभाई, ऋण, धन सबै भुलेर आफैसँग मन्थन गर्नेछु । आफ्नो शरीर र मनको भाषा सुन्नेछु ।

२. आफ्नो शरीरलाई माया गर्नेछु । शरीरले नचाहेको खानेकुरा त्याग्नेछु । शरीरले मागेको खानेकुरा खानेछु । शरीरलाई सहज बनाउन उचित समयमा खाने, सुत्ने, काम गर्ने अभ्यास गर्नेछु । नियमित व्यायाम, योगा, प्राणायाम गर्नेछु ।

३. शारीरिक सरसफाईमा ध्यान दिनेछु । शरीरलाई आकर्षक, स्वस्थ्य बनाउनका लागि प्रयास गर्नेछु ।

४. बेलाबखत पूर्ण मनोरञ्जन लिनेछु । घतलाग्दा पुस्तक पढ्नेछु, फिल्म हेर्नेछु । कतै यात्रा वा घुमघाममा निस्कनेछु ।

पारिवारिक जीवनका लागि

१. फेसबुक लगायत सामाजिक सञ्जालमा दिने समय परिवारका लागि दिनेछु । परिवारसँग क्वालिटी टाइम बिताउनेछु । बिहान बेलुकी परिवारसँगै रमाउनेछु । हप्तामा एक दिन पूर्ण रुपमा परिवारका साथ विताउनेछु ।

२. घर धन्दा, सरसफाई आदि काममा खटिनेछु । घरलाई सफा र सुन्दर बनाउनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ।

३. बालबच्चा, पार्टनर, आमाबुवा वा परिवारका सबै सदस्यको स्वास्थ्यको ख्याल राख्नेछु । आफ्नो मर्यादा र कर्तव्यप्रति सचेत रहनेछु ।

४. आफन्त, इष्टमित्रसँगको सम्बन्ध सुमधुर राख्नेछु । चाडपर्व, उत्सवमा सकेसम्म सहभागी हुनेछु ।

करियरका लागि

१. बर्षभरको लागि एउटा यस्तो खाका तयार गर्छु, जसमा मैले गर्नुपर्ने कामहरु, मैले हासिल गर्नुपर्ने लक्ष्य, मैले अपनाउनुपर्ने सावधानी लेखिएको हुनेछ । यसरी तयार भएको खाका अनुसार आफ्नो काम गर्नेछु ।

२. थप अध्ययन गर्नेछु । कुनै न कुनै सीप एवं दक्षता हासिल गर्नेछु । चाहे त्यो ड्राइभिङ होस् वा कुकिङ ।

३. आफ्नो सोंच र लक्ष्य अनुसार अनुशासित ढंगले नियमित काममा खटिनेछु । निरन्तर प्रयास, लगाव र दृढ संकल्पका साथ अगाडि बढ्नेछु ।

४. कसैको चाकडी गर्नेछैन । कसैलाई चित्त दुखाउने छैन । दोस्रो व्यक्तिको जीवनमा कुनै हिसाबले दख्खल पुर्‍याउने छैन । आफुमा केन्दि्रत रहेर काम गर्नेछु ।

यी कुरा त्याग्नेछु

१. फेसबुक एवं सामाजिक संजालमा अनावश्यक झुन्डिनेछैन ।

२. चुरोट, मदिरा, सूर्ती जस्ता खराब खानेकुरा त्याग्नेछु ।

३. अल्छी, निद्रा त्याग्नेछु ।

४. समयप्रति वेपर्वाह रहने, अस्तव्यस्त दैनिकी बिताउने बानी त्याग्नेछु ।

५. रिस, अहंकार, दम्भ, लोभ, घृणा जस्ता मनोविकारले आफैलाई नष्ट गर्छ, जसलाई त्याग्नेछु ।

६. झुटो बोल्ने, छल्ने, कपट गर्ने जस्ता खराब बानीले आफुलाई हानी गर्छ, जसलाई त्याग्नेछु ।

७. अनावश्यक खर्च गर्ने बानी, भोग विलास, ऐश आरम त्याग्नेछु ।

८. छुचो बोली, अभद्र व्यवहार, खराब नियत त्याग्नेछु ।

९. झैझगडा गर्ने, आशंका गर्ने बानी त्याग्नेछु ।

१०. वाहाना बनाउने, काममा ठग्ने, छल्ने बानी त्याग्नेछु ।

केही प्रतिज्ञा

१. यसबर्ष म १० वटा कुनै नयाँ रुख-बिरुवा रोप्नेछु ।

२. बर्षभरमा कम्तीमा ३० दिन मोटरसाइकल, गाडी चढ्नेछैन । पर्यावरणका लागि योगदान गर्नेछु ।

३. महिनामा कम्तीमा २० दिन शाकाहारी भोजन सेवन गर्नेछु ।

४. गरिब-दुःखीलाई एक पटक भोज ख्वाउनेछु । लताकपडा दिनेछु ।

५. कुनै एक बच्चालाई पढ्न पुग्ने पैसा छुटै बचत गर्नेछु ।

६. समाजका लागि ठोस योगदान पुग्ने कुनै एक काम गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment