Comments Add Comment

वैज्ञानिकलाई प्रधानमन्त्री ओलीको चुनौती- आदित्यबारे निष्कर्ष दिनोस्

आदित्यले विज्ञानलाई नै चुनौती दिएको ओलीको जिकिर

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फरक शारीरिक क्षमताका बालक आदित्य दाहालको प्रशंसा गर्दै उनले विज्ञानलाई नै चुनौती दिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा बालक आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ को अंग्रेजी संस्करणको विमोचन गर्दै उनीबारे अध्ययन गरेर निश्कर्ष सुनाउन संसारका वैज्ञानिकलाई चुनौती दिएका हुन् ।

भविश्य बताउन सक्ने प्रचार गरिएका आदित्य दाहाललाई यतिबेला ‘बालगुरु’ समेत भन्न थालिएको छ । उनका बारेमा अध्ययन गर्न प्रधानमन्त्री ओली वैज्ञानिकहरुलाई आग्रह गरे पनि बालक आदित्यलाई धर्मगुरुजस्तो ठान्ने र शीर्षनेताहरुसमेत शीर झुकाउँदै शरण पर्ने गरेकाले उनलाई देवत्वकरण गर्न थालिएको प्रष्ट छ । र, यसमा प्रधानमन्त्री ओलीले समेत पुठ दिएका छन् ।

कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले आदित्यजस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए ।

प्रधानमन्त्री ओलीले विश्वका बैज्ञानिकहरुलाई आदित्यको स्रोतविनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरे ।

ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोतबिनै ज्ञान प्राप्त गरेको र यो अनौठो विषय भएको प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्रीले भने, ‘ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ, आदित्यमा विनास्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।’

आदित्यलाई प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमै १ करोड रुपैयाँ दिने निर्णय गरेका थिए । आविश्कार केन्द्रका अभियन्ता महावीर पुनले नेपालमा वैज्ञानिक अनुसन्धान केन्द्र निर्माणका लागि सहयोग माग्दा नदिएको तर, आदित्यलाई एक करोड दिएको भन्दै त्यसबेला ओली सरकारको आलोचनासमेत भएको थियो ।

सरकारले मुलुकमा अहिलेसम्म एउटा पनि वैज्ञानिक आविश्कार केन्द्र बनाएको छैन । यहाँ वैज्ञानिकहरु उत्पादन गर्ने आधुनिक अनुसन्धान प्रतिष्ठान बन्न सकिरहेको छैन । यस्तो अवस्थामा प्रधानमन्त्री आफैंले बिरामी भनिएका एक वालकलाई देवत्वकरण गर्दै संसारका वैज्ञानिकहरुलाई चुनौती दिनु निकै नै रोचक प्रशंग हो ।

आदित्यलाई एक समय विरामीका रुपमा चित्रण गर्दै परिवारजनले उपचारका लागि विदेशसमेत लगेका थिए ।

तर, अहिले उनलाई संसारकै ‘असाधारण प्रतिभा’ भन्दै प्रचार गर्न थालिएको छ ।

संसारलाई विदितै भएको कुरा हो कि रकेट, हवाइजहाज, कम्युटर र मोबाइलदेखि लिएर स्टाटेलाइटसम्म सबै मानिसले नै आविश्कार गरेका हुन्, देवताले होइन ।

आदित्यको भन्दा दयनीय शारीरिक अवस्था रहेका खगोलशास्त्री हकिन्सले ब्ल्याक होलको रहस्य पत्ता लगाउँदा पनि संसारका वैज्ञानिकले उनको ज्ञानको स्रोतमाथि अध्ययन गर्नुपर्ने आवश्यकता ठानेनन् ।

आदित्यको ‘ज्ञान’ वर्तमान विज्ञानले हासिल गरेको उपलब्धिभन्दा कलियुगको व्याख्यामा मात्रै सीमित देखिन्छ ।

उनलाई भविश्य बताउने सुगारुपी ज्योतिषीका रुपमा पनि उभ्याउन खोजियो केही समय । तथापि उनले गरेका कैयौं भविश्यवाणीहरु मिल्ने गरेका छैनन् ।

आदित्य निश्चय नै प्रतिभाशाली वालक हुन् । तर, संसारको विज्ञानलाई चुनौती दिने देवता होइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment