Comments Add Comment

सिंहदरबारभित्रै यस्तो बन्दैछ आधुनिक संसद भवन

बानेश्वरमा बैठक बस्दा अर्बौं स्वाहा !

३ वैशाख, काठमाडौं । लामो समयदेखि भाडाको भवनमा बस्दै आएको संसद बैठक अब भने सिंहदरबारभित्रै बन्ने भएको छ । यस सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडा तिरेर बस्दै आएको छ ।

सहरी विकास मन्त्रालयले सिंहदरबारभित्रै अत्याधुनिक सुविधासम्पन्न संसद भवन बनाउनका लागि डिजाइनसमेत तयार पारिसकेको छ । सिंहदरबाभित्रै सुविधा सम्पन्न संसद भवन बनाउनका लागि डिजाइन तयार भइसकेको र चाँडै टेण्डर प्रक्रियाबाट ठेक्का लगाइने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यही महिनाभित्र खरिद प्रक्रिया सम्पन्न गरिनेछ भने आगामी महिना जेठदेखि निर्माण शुरु नै गरिनेछ ।

वैशाख महिनाभित्रै टेण्डर प्रक्रिया सकेर जेठदेखि निर्माण शुरु गर्ने र २ वर्षभित्र निर्माण सम्पन्न गरिने मन्त्रालयले जनाएको छ ।

०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी जेठमै निर्माण कार्य शुरु हुने पक्का भइसकेको मन्त्रालयले बतायो ।

यस्तो बन्दैछ अत्याधुनिक संसद भवन

सहरी विकास मन्त्रालयले सिंहदरबारको पुतली बगैँचामा संसद भवन बनाउनका लागि डिजाइन तयार पारेको छ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

मन्त्रालयले नक्सा तयार पार्नुअघि नै अर्थमन्त्रालयले संसद भवन निर्माणकै लागि १० अर्ब रुपैयाँ बजेटको सुनिश्चिततासमेत गरिसकेको छ । अर्थले बजेटको व्यवस्था नै गरिसकेकाले श्रोतको अभाव नहुने र तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी तयारी भइरहेको सहरी विकास मन्त्रालयले बताएको छ ।

बढीमा साढे दुई वर्षमा निर्माण सम्पन्न हुने सहरी विकासको दाबी छ । ‘यही महिनामा नै हामी टेण्डर प्रक्रियामा जान्छौं, ठेकेदालाई हामीले बढीमा २ वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता हुन्छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘२ वर्षमा सम्पन्न नभए बढीमा ६ महिना समय थप गर्ने सोचेका छौं ।’

सहरी विकासले गराएको डिजाइनमा दलको कार्यालय, संसद सचिवालय, राष्ट्रिय सभा तथा प्रनिनिधिसभा नजिकै राखिने छ । संसद भवनको क्षेत्रको मध्यभागतिर भीभीआईपीका लागि प्रवेशद्वार राखिने छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार राखिने छ ।

मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिनेछ । त्यसको एकापट्टि संसद सचिवालय हुनेछ भने अर्कोको प्रतिनिधिसभाको हल हुनेछ ।

सचिवालय र प्रतिनिधि सभाको पछिल्लो भागमा एकापट्टि दलको कार्यालय र अर्कोपट्टि राष्ट्रियसभा हुने गरी मन्त्रालयले डिजाइन तयार पारिएको छ । संसद भवनकै क्षेत्रभित्रमा बगंैचा, तथा सानो चौर समेत रहने डिजाइनमा उल्लेख छ ।

अर्बौं रकम जोगिने दाबी

हाल संघीय संसदको आफ्नै भवन छैन । आफ्नै भवन नभएका कारण संसद सचिवालयले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद बैठक बस्दै आएको छ । भाडामा मात्रै राज्यकोषबाट अर्बांै रकम खर्च भइरहेको छ । अर्कोतर्फ अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा संसदको बैठक राखिएका कारण बिमस्टेक, लगानी सम्मेलन जस्ता अन्तरराष्ट्रिय कार्यक्रमहरु महंगा होटलमा गर्नुपरेको छ ।

अहिलेमात्रै होइन यसअघि संविधानसभा हुँदा समेत सम्मेलन केन्द्रलाई नै भाडामा लिइएको थियो । संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ ।

प्रतिनिधिसभा ५ वर्ष र राष्ट्रियसभाका लागि लिइएको उक्त भवन गत वर्ष ६ वर्षसम्मका लागि भनेर सम्झौता गरिएको छ । सम्झौतामा दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने विषय पनि उल्लेख गरिएको छ । यसकारण केन्द्रको भाडा बढ्दै जानेछ ।

यसअघि संविधानसभाका बेला करिब ७० करोड रुपैयाँ बुझाएको थियो । अहिले भएको सम्झौता अनुसार संसद सचिवालयले केन्द्रलाई ६ वर्षको एक अर्ब रुपैयाँ हाराहारीमा रकम बुझाउनुपर्नेछ । यसअघि खर्च गरेको ७० करोड र अब दिनु पर्ने १ अर्बमात्रै नभएर मर्मतमा समेत संसद सचिवालयले ठूलो रकम खर्च गरिसकेको छ ।

यसरी हेर्दा करिब २ अर्बकै हाराहारीमा सचिवालयले संसद बैठकका लागि भाडा तिर्नुपर्ने हुन्छ । जुन रकमले एउटा बेग्लै सम्मेलन केन्द्र बन्न सक्छ ।

सहरी विकास मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी ४ वर्ष पछि निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment