Comments Add Comment

दीपा र झरना, जसका फिल्मले बक्स अफिस हल्लाइदिए

नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिती कमजोर छ । बर्षमा बन्ने सय चलचित्रमा आधा दर्जन महिला निर्देशकको पनि उपस्थिती पनि नहुनु आफैमा दुःखद कुरा हो । सिंगो चलचित्र हाक्ने क्याप्टेन मानिने निर्देशकहरु चलचित्रको सफलता र असफलतामा सबैभन्दा बढी जिम्मेवार हुन्छन् ।

यसैले, पनि निर्देशकले बोल्ने र देखाउने कुराले समाजमा ठूलो फरक पार्दछ । नेपाली चलचित्रमा पनि केही महिला निर्देशकहरुले चलचित्र निर्देशनलाई अगाडि नबढाएका होइनन् । तर, कतिपय महिला निर्देशकले यसलाई निरन्तरता दिन सकेनन् भने कतिपयले सफलता हात पार्न सकेनन् ।

तर, चलचित्र क्षेत्रमा २ जना यस्ता महिला निर्देशक देखिएका छन् जसले चलचित्रको बक्स अफिसलाई नै हलचल ल्याइदिएका छन् । चलचित्रमा व्यापारिक खडेरी लागिरहेको समयमा यी दुई निर्देशकका चलचित्रले ठूलै कम्पन ल्याएका छन् । यतिमात्र होइन, यी दुई निर्देशकलाई दर्शकले पनि पत्याउन थालेका छन् । दर्शकले भरोसा गर्नु कुनै पनि चलचित्रकर्मीका लागि ठूलो सफलता हो ।

१. दीपाश्री निरौलाः गतबर्ष यदि कुनै एउटा चलचित्रले ब्लकबस्टर कारोबार गर्यो भने त्यो निर्देशक दीपाश्री निरौला निर्देशित चलचित्रले गर्यो । उनले निर्देशन गरेको तेश्रो चलचित्र ‘छक्का पन्जा ३’को व्यापारले ठूलै कम्पन ल्याइदियो । थुप्रै चलचित्रका निर्माताहरुमा देखिएको निराशा आशामा बदलियो भने थुप्रै हलहरुले कर्मचारीलाई तलब खुवाउन पाए । दीपाश्री यस्ती निर्देशक हुन्, जसको नाममा सबैभन्दा धेरै कमाउने तीन सिनेमा छन् । उनको रेकर्डलाई तोड्न कुनै पनि निर्देशकलाई लामो समय लाग्नेछ ।

दीपाश्रीले कमेडी चलचित्रलाई बिषयवस्तुमा मिसाएर समाजमा नयाँ सन्देश प्रवाहा गरिन् । बैदेशिक रोजगारको कथा होस् या विदेश जानका लागि हुने विवाह वा सरकारी विद्यालयमा हुने राजनीतिक, यी तिनै वटा बिषयमा दीपाको चलचित्रले बोलेका छन् । यसैले पनि उनी नेपाली चलचित्रकी ‘लिडिङ लेडी’ हुन् ।

२. झरना थापाः गतबर्ष असोजमा दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कारोबार गरेपछि सेलाएको चलचित्र बजारलाई फेरि हल्लाउने अर्की निर्देशक हुन् झरना थापा । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ले चलचित्र क्षेत्रलाई नै हल्लाइदियो । अहिले फेरि चलचित्र चल्दोरहेछ भनेर चलचित्र क्षेत्रमा आशा छाएको छ ।

संभवत, झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ले पनि बम्पर व्यापार नगरिदिएको भए धेरै चलचित्रकर्मीमा आशाको किरण सकिने थियो । तर, झरनाले निर्देशन गरेको यो चलचित्रले ४ दिनमा करिब ४ करोडको ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको रिपोर्टमा उल्लेख छ । यतिमात्र होइन, चलचित्रको व्यापारको उछाल वुधबारसम्म पनि कम भएको छैन । चलचित्रले लामो रेशको घोडा बन्ने छाटकाट देखाइसकेको छ ।

झरनाले निर्देशन गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ले पनि व्यापारिक रुपमा सफलता पाएको थियो । यसैले, झरना पनि चलचित्र क्षेत्रमा अहिले ‘लिडिङ लेडी’ हुन् भन्दा फरक पर्दैन । चलचित्र त्यो राम्रो हो जसलाई दर्शकले रुचाउँछन् । भलै, यी दुबै निर्देशकको चलचित्रलाई समिक्षकले राम्रो भन्न सकेका छैनन् । तर, दर्शकले दिएको यो खालका मायाले दुई निर्देशकको अनुहारमा खुशी मिलेको छ । दुई निर्देशकले आफ्नो अनुहारमा मात्र होइन चलचित्र क्षेत्रकै अनुहारमा मुस्कान भरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment