News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक हरि लम्सालले निर्देशन गरेको फिल्म 'बा : एक योद्धा' मा झरना थापा र छोरी सुहाना पहिलोपटक एउटै फिल्ममा अभिनय गर्ने भएका छन्।
- फिल्मको छायांकन ९ चैतदेखि पशुपतिनाथ मन्दिर परिसरमा सुरु भई काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ।
- फिल्मले परिवारमा बुवाको महत्व र त्यागलाई सामाजिक र भावनात्मक मनोरञ्जनप्रधान कथामा चित्रण गर्नेछ।
काठमाडौं । निर्देशक तथा अभिनेत्री झरना थापा र अभिनेत्री छोरी सुहाना पहिलोपटक एउटै फिल्ममा देखिने भएका छन् । यसअघि होमप्रोडक्सन फिल्ममा सहकार्य भएपनि ‘बा : एक योद्धा’मा यी दुईलाई अभिनयमा सहकार्य हुन लागेको देखिएको हो ।
दुई सातादेखि छायांकन भइरहेको फिल्मको कास्टिङलाई लिएर निर्माताले नाम गोप्य राखेका थिए । यतिबेला काठमाडौंका विभिन्न स्थानमा धमाधम छायांकन भइरहेको छ । झरना र सुहाना दुवै छायांकनमा व्यस्त रहेको जनाइएको छ ।
९ चैतदेखि पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन सुरु गरिएको थियो । ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो फिल्मले नेपाली समाजको मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ ।
चर्चित संगीतकार समेत रहेका हरि लम्सालले यो फिल्मबाट फिचर फिल्ममा निर्देशकीय डेब्यू गर्दैछन् । उनी यो फिल्मका पटकथा लेखक पनि हुन् ।

संगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता र दृष्टिकोण कस्तो रहनेछ भन्नेमा प्रतीक्षा दर्शकमाझ छ ।
शीर्षकले नै संकेत गरेझैँ, फिल्मले परिवारमा ‘बुवा’को महत्वलाई दर्शाउनेछ । बुवाले सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई चित्रण गरिने भएको छ ।
निर्देशक लम्सालले यो फिल्मलाई विशुद्ध सामाजिक र भावनात्मक मनोरञ्जनप्रधान फिल्म बताएका छन् । लगानीकर्ता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा निर्माण गरेका थिए ।
शिवराम श्रेष्ठको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने छन् । छायांकन टुंगिएपछि प्रदर्शन मिति घोषणा हुने जनाइएको छ ।
प्रतिक्रिया 4