 
																			४ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका भूकम्पपीडितले घर बनाउन बैंकले सहुलियतपूर्ण कर्जा नदिएको गुनासो गरेका छन् । सरकारले भूकम्प पीडितलाई २ प्रतिशत ब्याजदरमा बैंकहरुले सहुलियतपूर्ण ऋण दिनुपर्ने कार्यविधि ल्याए पनि उक्त ऋण लिन कठिन भएको पीडितको गुनासो छ ।
जिल्ला संवाद समूहले बुधबार सदरमुकाम चौतारामा गरेको छलफल कार्यक्रममा भूकम्प पीडितहरुले आफूहरुलाई बैंकले हेर्ने दृष्टिकोण नै गलत रहेको गुनासो गरे ।
‘भूकम्प पीडितलाई बैंकहरुले हेर्ने दृष्टिकोण नै फरक छ, दौरा सुरुवाल लगाएको मान्छेलाई त गेटबाट बैंकहरुले प्रवेश नै दिँदैनन्’ भूकम्प पीडित साधुराम खतिवडाले भने ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सरकारले ल्याएको कार्यविधि अनुसार पीडितहरुलाई कर्जा उपलब्ध गराउन सबै बैंकहरुलाई आग्रह गरे ।
‘धेरै पीडितहरुले गुनासो गर्ने गरेका छन्, तपाईंहरुको व्यवहार अलि चित्त बुझ्ने भएन, व्यवहार पनि सुधार गर्नुपर्छ’ तामाङले भने ‘बैंकहरुले अनुदानमा पनि समस्या खडा गर्ने गरेको सूचना छ, अब त्यस्तो व्यवहार नगर्नुहोला ।’
बैंकका शाखा प्रबन्धकहरु भन्छन् : प्रक्रिया पुर्याए पाइन्छ
छलफलका क्रममा बैंकहरुले ३ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण सहज रुपमा दिन सहमति जनाएका छन् । यद्यपी उनीहरुले प्रक्रिया पुर्याएर आएमा सहुलियतपूर्ण ऋण दिन कठिनाइ नरहेको जिकिर गरे ।
पुनर्निर्माण प्राधिकरणले तयार पारेको कार्यविधिअनुसार भूकम्प पीडितलाई बैंकहरुले ३ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिन सक्छन् ।
एनसीसी बैंकका शाखा प्रबन्धक सम्पूर्ण गिरीले कार्यविधिअनुसार प्रक्रिया पुर्याएर कोही पनि सहुलितपूर्ण ऋण लिन नआएको बताए ।
कृषि विकास बैंकका चौतारा शाखा प्रमुख भूमिराज न्यौपानेले प्रक्रिया पुर्याए सहज रुपमा ऋण दिने बताए ।
कलाकार स्वेता खड्काले निर्माण गरिरहेको एकीकृत माझी बस्तीका चार जना लाभग्राहीलाई २ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा दिएको शाखा प्रमुख जमुना मोक्तानले बताइन् । त्यस्तै १३ जनालाई सहुलियत कर्जाको लागि प्रक्रिया सुरु भएको उनले बताइन् ।
मेगा बैंकले एक जनालाई १५ लाख रुपियाँ सहुलियत कर्जा उपलब्ध गराएको बताएको छ ।
नयाँ कार्यविधिअनुसार निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म काम सुरु गर्न नसकेका लाभग्राहीले निर्माणधीन घर धितो राखी तीन लाखसम्म ऋण लिन सक्ने पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख जयप्रसाद गुप्ताले जानकारी दिए ।
पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प प्रभावित १४ जिल्लामा हालसम्म ५२ जनाले सहुलियत कर्जा पाएका छन् भने २ सय ७२ जना कर्जा लिने प्रक्रियामा छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4