Comments Add Comment

मानवता संरक्षण सम्मेलनस्थलको टेन्ट हावाहुरीले उडायो

४ वैशाख, वीरगञ्ज । वैशाख ६ गतेदेखि ८ गतेसम्म वीरगञ्ज–१४ बहुअरीमा हुन लागेको मानवता संरक्षण अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा हावाहुरीले अवरोध पुर्‍याएको छ ।

सम्मेलन शुरु हुन तीन दिन बाँकी रहँदा टेन्ट गाडेर सम्मेलनस्थल तयार पारिसकेको भए पनि मंगलबार आएको हावाहुरीले अवरोध पुर्‍याएको हो ।

हावाहुरीले सम्मेलन स्थलमा टाँगिएको टेन्ट लडाउनुको साथै कपडा काम नलाग्ने अवस्थामा पुर्‍याएको जगदिश साउन्ड सर्भिसले जानकारी दिएको छ । कपडा च्यातिएर मात्रै झण्डै २ लाख मुल्य बराबरको क्षति भएको छ । टेन्ट टाँग्न लगाएको बाँसहरु पनि बाँगिएका छन् । त्यसलाई सिधा गर्न मजदुरलाई छुट्टै खर्च तिर्नुपर्ने हुन्छ ।

जगदिश साउन्ड सर्भिसका हेड मिस्त्री उत्तम वर्मनले टेन्टको कपडा च्यातिएर मात्रै २ लाख जतिको क्षति भएको बताए । ‘हावाहुरीले टेन्ट च्यातिदिएको छ, कपडा मात्रै दुई लाखको क्षति पुगेको छ । अरु खर्च बेग्लै लाग्छ’ उनले भने, ‘अब त्यो आयोजकले बेहोर्ने कि कसले त्यसबारेमा छलफल हुन बाँकी छ ।’

झण्डै ४० लाखको लागतमा आयोजना गर्न लागिएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने दावी आयोजकले गरेको छ । त्यस्तै सम्मेलनमा सहभागी हुन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी, मुस्लिम वर्ल्ड लिगका शेख शाद साउद अल्लहारसीलगायत आउने र मक्काका इमामलाई समेत निम्तो गरिएको छ ।

मकरजी जमियते अहले–हदीस नेपालले कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गर्दै मुश्लिम माथि लाग्ने गरेको आतंकवादीको आरोप मेटाउन सम्मेलनको आयोजना गरिएको जानकारी दिएको छ ।

सम्मेलनका प्रबन्धक तथा मरकजी जमियते अहले–हदीस नेपालका महासचिव अजिजुर्रहमान तुरबत मदनीले मुस्लिम प्रति लाग्दै आएको आरोप चिर्नका लागि मानवता सम्मेलनको आयोजना गरिएको बताए ।

सम्मेलनमा नेपालका ७७ जिल्ला एवम भारत, बंगलादेश, साउदी अरब, दुबई, श्रीलंका, यूके लगायत देशहरुबाट करिब एक लाखभन्दा बढीको सहभागिता रहने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment