Comments Add Comment

पैसा नहुँदा क्यान्सर संक्रमित दलित महिलाको उपचारमा समस्या

६ वैशाख, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ महुवनकी ३० वर्षकी सुदामी देवी चमारलाई क्यान्सर भएको पुष्टि भएको तीन महिना भयो । तर उपचार गर्न पैसा बाधक बनेको छ ।

सुदामीको बायाँ हातमा क्यान्सर भएको चितवनको वीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकले पुष्टि गरेका छन्, तर दैनिक छाक टार्नै समस्या हुने चमार परिवारसँग उनको उपचार गर्ने रकम छैन ।

बाल्य अवस्थादेखि अपाङ्गता भएका कारण कष्टकर जीवन व्यतित गर्दै आएकी उनको बाँया हातमा घाउ थियो । त्यही घाउँ बढेर क्यान्सरको रुप लिएको हो ।

उनको घरमा श्रीमान– श्रीमती, ३ छोरी र १ छोरा र सासु ससुरा गरी परिवारमा ८ जना सदस्य छन् । वृद्ध सासु ससुरा र स–साना छोराछोरी कमाउन सक्ने अवस्थामा छैनन् । उनीहरुसँग आफ्नो नामको एक धुर जग्गासमेत छैन । ऐलानी जग्गामा बसोबास गर्दै आएका परिवारका ८ सदस्यलाई प्रेम एक्लैले ज्याला मजदुरी गरेर पाल्दै आएका छन् ।

नर्सिङ पेशामा आवद्ध सामाजिक कार्यकर्ता मीरा केसीले एक चरणको उपचारमा सुदामीलाई क्यान्सर रहेको पुष्टि भईसकेको तर उपचारका लागि रकमको अभाव देखिएको बताइन् । ‘एक चरणको उपचारमा सुदामीको हातमा क्यान्सर संक्रमण भएको पुष्टि भइसकेको छ । चिकित्सकले हाडमा छोइसकेको छैन भनेका छन्’ उनले भने ‘हातै काट्नुपर्ने हो वा के गर्ने हो, थप उपचारका लागि २ लाख जति खर्च हुन्छ होला तर उनीसँग पैसा छैन ।’

क्यान्सर संक्रमितको उपचारका लागि सरकारले दिने गरेको १ लाखका लागि प्रक्रिया अघि बढाएको भए पनि तत्काल खर्च गर्न उनीसँग रकम नरहेको केसीको भनाइ छ ।
तीन महिना पहिले भरतपुरमा उपचारको क्रममै सुदामीलाई क्यान्सर भएको प्रमाणित भएपछि रकमकै अभावमा तत्काल उपचार गराउन नसेको महुवनका मनोज रामले जानकारी दिए ।

‘सखुवा प्रसौनी गाउँपालिकाबाट सिफारिस बनाएर लैजाँदा पनि उपचार हुन सकेन,’ उनले भने ‘दुई दिनअघि चितवनको नारायणगढ घर भई अमेरिकामा बस्दै आएका सुशील चौधरीले २५ हजार सहयोग गर्नुभयो, त्यही पैसा लिएर उनी भरतपुर अस्पताल उपचारका लागि गएकी छन् । थप रकमको आवश्यकता छ । तर आर्थिक स्रोत छैन ।’

तीन महिना पछि गएका कारण चिकित्सकले फेरि एक पटक अवस्था विश्लेषण गर्न आवश्यक चेकजाँच शुरु गरेको उनले बताए । तयसको रिपोर्ट आइतबारसम्म आउछ । ‘त्यसपछि चिकित्सकले कसरी उपचार गर्ने भन्छन्, सोही अनुसार उपचार खर्च जुटाउनुपर्ने हुन्छ ’ मनोजले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment