७ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्वीमिङ खेल वैशाख ८ देखि सुरु हुँदैछ । तर नेपालगञ्ज रंगशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएकाले पौडी खेल कहाँ हुने हो अहिलेसम्म टुंगो लागेको छैन ।
स्वीमिङ पुलको प्याराफिट निर्माण चलिरहेको छ भने वरिपरि फोहोरै फोहोर छ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले निर्माणाधीन स्वीमिङ पुलमा कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन गर्न नसकिने बताए । उनले अर्को स्वीमिङ पुलको खोजी भइरहेको जानकारी पनि दिए । प्रस्तुत छ अशोक बज्राचार्यसँग अनलाइनखबरकर्मी सरोज तामाङले गरेको संक्षिप्त कुराकानी :
प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ अहिलेसम्म स्वीमिङ पुल निर्माण भइसकेको छैन । अब के हुन्छ ?
यहाँ अब सम्भावना छैन । नो चान्स । त्यहाँ त हुँदै हुँदैन । यस्तो अवस्थामा कसरी स्वीमिङ गराउने ?
त्यसो भए अब खेल कहाँ गराउनु हुन्छ त ?
अब अन्तै कुनै ठाउँमा गराउँला । आठौंमा पौडी खेल हुन्छ तर यो बन्दै गरेको स्वीमिङ पुलमा हुँदैन । सम्भावना नै छैन । अर्कै स्वीमिङ पुलमा हुन्छ । २५ मिटरको स्वीमिङ पुल जहाँ छ त्यहाँ हुन्छ । अहिले हामी खोजिरहेका छौं । भेटिएपछि प्रतियोगिता गराउँला नि ।
पौडी खेल नेपालगञ्जमै हुन्छ कि अन्त कतै ?
यहीँ हुन्छ । नेपालगञ्जमै हुन्छ । त्यसमा ढुक्क परे हुन्छ । भेन्यूमात्र परिवर्तन हुने हो । अहिले हामी खोजिमा छौं ।
बन्दै गरेको स्वीमिङ पुलमा खेलै गर्न नसकिने अवस्था चाहिँ के हो ?
हामी त उहाँहरुले निर्माण सक्छौं भनेको कारणले कुरेर बसेका हौं तर अब समय छैन । खै त निर्माण सम्पन्न भएको ? अब हामी त्यही प्रतियोगिता गर्छौं भनेर त भएन ।
प्रतिक्रिया 4