Comments Add Comment

मलिकादेखि उपासनासम्म, जो सामाजिक संजालबाट फिल्ममा भित्रिए

अहिले कलाकार छान्न निकै सजिलो छ । निर्माता निर्देशकलाई कोही नयाँ कलाकार चाहियो भने सामाजिक संजाल सबैभन्दा सहज बनेको छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक संजालबाट कलाकार चुन्ने प्रवृत्ती पनि निकै बढिरहेको छ ।

‘निर्देशकले नयाँ नायिका चाहियो भन्छ । फेसबुकका मोडल, इन्स्टाग्राममा भेटिने सुन्दरी तथा पछिल्लो समय लोकप्रिय बनिरहेको टिकटकका कलाकारको फोटो कलेक्सन सुरु गर्छन् । उनीहरुलाई जो राम्रो लाग्छ त्यसलाई सम्पर्क गरेर चलचित्रमा अनुबन्धित गरिदिन्छन् । उनीहरुलाई मतलब हुदैन कि, ‘फेसबुक, इन्स्टाग्राम तथा टिकटकको मोडलले चलचित्रमा अभिनय गर्न सक्छन् या सक्दैनन् ।’

यसो भनिरहँदा नायिका शिल्पा मास्केको भनाई याद गर्न सकिन्छ । ‘यहाँ त एक्टरलाई चलचित्रमा लिइदैन । फेसबुक, इन्स्टा र टिकटकबाट कलाकारलाई चुनिन्छ । अनि पढेर वा सिकेर आएका कलाकारहरुसँग दाजिन्छ । यो साह्रो दुस्खद कुरा हो’, शिल्पाले भनेकी थिइन्, ‘म त भन्छु डन्ट कास्ट फेसबुक(इन्स्टाग्राम मोडल ।’ भाइरल भएकाहरुलाई लिएर युटुबमा भ्यूज र ट्रेन्डिङको लोभ गर्नेहरुमा म्यूजिक भिडियो बनाउनेहरु मात्र होइनन्, चलचित्र बनाउनेहरु पनि उत्तिकै फसेका छन् ।

गतबर्ष रिलिज भएको चलचित्र ‘लम्फू’ नै यसको उदाहरण हो । चलचित्रमा ‘तरकारीवाली’को नामले विश्वभर भाइरल बनेकी कुशुम श्रेष्ठको अभिनय थियो । निर्माण युनिटले ‘तरकारीवाली’को लोकप्रियतालाई प्रयोग गर्न उनलाई चलचित्रमा लिएको थियो । तर, चलचित्रमा उनको भूमिका खासै नोटिस हुन नै सकेन । उनको भूमिका र अभिनय हेर्ने दर्शक चलचित्र हेर्दै गर्दा हाँसे । चलचित्रले व्यापारिक रुपमा खासै पैसा पनि कमाएन । उनको काम हेरेर ‘विचरा’ बाहेक भन्न सक्ने अवस्था थिएन । उक्त चलचित्र पश्चात कुशुमले न अन्य चलचित्रमा काम नै पाएकी छिन् । न उनले रुचि नै देखाएकी छिन् ।

कुसुम मात्र होइनन्, पोर्न स्टार बन्छु भन्दै बक्तव्य दिएर चर्चामा आएकी अर्चना पनेरु पनि भाइरल गर्ल हुन्, जसले चलचित्रमा काम गर्ने अवसर पाइन् । आजभन्दा लगभग ४ वर्ष अगाडि फेसबुकमा अर्धनग्न तस्विरहरु सार्वजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभ्यास गरिरहेको कुराबाट अर्चना पनेरु निकै भाइरल बनेकी थिइन् ।

उनको त्यो चर्चालाई समातेर चलचित्र हिट गराउने ध्याउन्नमा राजु गिरीले ‘जिस्म’ चलचित्रमा नायिका बनाइदिए । चलचित्रका धेरै दृष्यमा उनलाई अर्धनग्न प्रस्तुत गराइयो । उनको अभिनयको प्रशंसा गर्ने कमै थिए । राजु गिरी त यसैपनि निकै कमजोर चलचित्र बनाउँछन् । झन्, अर्चनालाई चलचित्रमा लिनका लागि नेपालमा नामै चलेका निर्माताहरु पनि उनको पछि लागेका थिए । यसले पनि वुझिन्छ, यहाँ के बिक्छ त्यसकै पछि लाग्ने ठूलो लहर छ । यी दुई सामाजिक संजालमा भाइरल भएपछि चलचित्र प्रवेश आएका पात्र हुन् । टिकटकबाट पनि चलचित्रमा प्रवेश गर्नेहरुको कमी छैन । अहिले त टिकटकबाट भाइरल भएकाहरुलाई नेपालका चर्चित गायक–गायिकाले नै भिडियो खेलाएर ट्रेन्डिङको ठूलै सपना देख्ने गरेका छन् ।

सायद, चर्चित गायक–गायिकालाई नै आफूप्रतिको भरोस कम भएको वुझ्न सकिन्छ । टिकटकबाट नायिका बनेकी सुन्दरी हुन्, ‘गरुड पुराण’की नायिका प्रियंका सिंह ठकुरी । प्रियंकाले टिकटकमा भिडियो बनाएर पोष्ट गर्थिन् । यस्तैमा प्रियंका माथि ‘गरुड पुराण’ टीमको नजर परेको थियो । टिकटकमा अभिनय गरेकी प्रियंकाले चलचित्रमा पनि अभिनय गर्न सक्ने विश्वास निर्माण युनिटमा थियो ।

तर, चलचित्रको मुख्य भूमिका निर्वाह गरेपनि प्रियंकाको काम सन्तोषजनक थिएन । चलचित्रले व्यापार कमजोर गर्यो, प्रियंकाको कमजोर अभिनयमा धेरैको आँखा जाने कुरै भएन । यस्तै, हाल प्रदर्शनरत चलचित्र ‘यात्रा’बाट डेब्यू गरेकी नायिका मलिका महत्तलाई पनि सामाजिक संजाल इन्स्टाग्रामबाट छानिएको हो । निर्देशक सम्राट शाक्यले इन्स्टामा उनको तस्विर देखेका थिए । चलचित्रको अफर आउँदा मलिकालाई यो क्षेत्रमा कुनै रुचि नै थिएन । आफ्नो पढाईमा नै रमाइरहेकी उनलाई रंगीन दुनियाबारे जानकारी पनि थिएन । तर, पछि चलचित्रको विषयबस्तु मन परेपछि उनले चलचित्रमा काम गर्न राजी भइन् ।

चलचित्रमा मालिकाले निर्वाह गरेको भूमिका राम्रो छ । उनको कामको पनि राम्रै तारिफ भैरहेको छ । मलिकालाई सम्भावना बोकेकी नायिकाको रुपमा लिन सकिन्छ । नायिका उपासना सिंह ठकुरीलाई पनि जिया केसीले ‘क्याप्टेन’का लागि सामाजिक संजालबाटै खोजेकी हुन् । नेपाली चलचित्रमा अहिले सामाजिक संजालबाट प्रयोग गर्नेहरुको जमात बढ्दो छ । तर, सामाजिक संजालबाट आएका सबै प्रतिभाले भरिपूर्ण हुन्छन् भन्ने पनि छैन, अर्कोतिर सामाजिक संजालबाट यो क्षेत्रमा प्रवेश गरेकाहरुमा संभावना पनि प्रबल देख्न सकिन्छ ।

तर, अनुहार सुन्दर हुनु मात्र कलाकार बन्ने पूर्ण गुण होइन । यसैले कतिपय अवस्थामा भाइरललाई समात्न खोज्दा चलचित्र बनाउने चिप्लिएका छन् भने कतिपय अवस्थामा सस्तो लोकप्रियताका लागि उनीहरुको प्रयोग भएको छ । तर, चलचित्र एउटा साधना हो । यसका लागि साधना नै गर्ने मान्छेको खोजी गर्न आवश्यक छ । होइन भने, ‘भाइरल’को मात्र पछि लाग्दा त्यसले केही दिन राम्रै चर्चा पाउँला तर लामो रेशको घोडा बने बन्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment