Comments Add Comment

युट्युवमा कमेडी बनाउँछौं, कमेन्टमा ‘हावा बोल्यो’ भन्छन् !

'प्राङ्क कल'बाट सुरु भएको युट्युव कमेडीको कथा

वास्तवमा हँसाउन निकै गाह्रो छ । मान्छे एउटै कुरालाई सम्झेर धेरैपटक रुन सक्छ । तर, एउटै कुरालाई सम्झिएर दोस्रोपटक हाँस्ने मन गर्दैन । यही कठिन धन्दामा रमाइरहेको छ हँसाउने प्रयासमा लागेको उर्जाशील युवाको एउटा समूह । उनीहरुले लोकपि्रय भिडियो अपलोडिङ नेटवर्क युट्युवलाई आफ्नो प्लेटर्फम बनाएका छन् ।

‘नेप ग्याजम’ नामक युट्युव च्यानलमार्फत कमेडी भिडियो पस्किरहेका छन् । ‘सेलिब्रेटी मेनेजमेन्ट नेपाल’ ले सञ्चालन गरेको उक्त च्यानलको सुरुवात लेखमणि त्रितालले गरेका थिए । लेखमणिले पहिलो भिडियोका रुपमा भ्यालेन्टाइन लक्षित कमेडी बनाएर पोष्ट गरेका थिए, जुन भिडियोलाई निकै रुचाइयो । त्यसपछि उनले लगातार ३ वटा भिडियो सार्वजनिक गरे ।

भिडियोमा दर्शक बढ्दै गए । लेखमणि भन्छन्, ‘सुरुमा त हामीले गरौँ न भनेर रमाइलोका लागि गरेका थियौँ । पछि दर्शकको माया बढ्दै गएपछि भिडियोमा केही सिरियस भएका हौँ ।’

उक्त च्यानलमा अहिले थप पाँच जना प्रस्तुतकर्ताहरु छन् । विवेक उप्रेती, लेखमणी त्रिताल, डोरेश खतिवडा, सरोज भण्डारी र युकेजी । आफूहरु लेखमणिले खनेको बाटोमा हिँडिरहेको डोरेश बताउँछन् । उनले भने, ‘सुरुमा बाटो खन्ने काम लेखमणिले गरेका हुन्, हामी त उनले खनेको बाटोका यात्रीहरु हौँ ।’

डोरेशको कुरालाई सरोजले पनि हो मा हो मिलाए । लेखमणि, डोरेश र सरोज अनलाइनखबरको कार्यलयसम्म आइपुगेर आफ्ना कथा सुनाउँदै थिए । कमेडी गर्दाको दुःख र त्यसमा आएका प्रतिकृयाले मनलाई हलुका बनाउने अनुभव उनीहरुले साटे ।

‘प्राङ्क कल’ बाट सुरु भएको कमेडी

लेखमणि ट्राभल एण्ड टुरिजमका विद्यार्थी हुन् । उनी पढाइसँगै जागिर पनि गरिरहेका छन् । उनी नेपाल एअरलाइन्सका कर्मचारी हुन् । उनी कसरी कमेडीमा आकषिर्त भए त ?

खासमा एक साथीलाई नेवारी टोनमा प्राङ्क कल गरेर उनले कमेडीको सुरुवात गरेका थिए भन्दा फरक नपर्ला । उनले गरेको प्राङ्क कल एक साथीले रेकर्ड गरेर राखेका रहेछन् ।

त्यो समय भर्खरै मात्र लेखमणिका साथीहरुले ‘नेप ग्याजम’ नाम युट्युब च्यानल खोलेका थिए । उनीहरु स्ट्याण्डअप कमेडीको तयारीमा थिए । त्यो रेकर्ड साथीले ल्याएर टिममा देखाए र लेखमणिलाई प्रस्तुतकर्ताका रुपमा टिममा भित्र्याए । लेखमणि भन्छन्, ‘मलाई स्ट्यान्डअप कमेडी भनेको के हो भन्ने नि राम्रोसँग थाहा थिएन । त्यहीँ आएर थाहा पाएको हुँ ।’

उनी अहिले आफ्नो जागिर र कमेडीलाई मिलाएर समय दिइरहेका छन् ।

सरोजले एउटा ‘बेरोजगार’ भन्ने भिडियो बनाएका छन् । उक्त भिडियो उनको जीवनको वास्तविकताको नजिक छ । सरोज भन्छन्, ‘बेरोजगारी पनि कहिलेकाहीँ राम्रो कामका लागि हुन्छ भन्ने सन्देशसहितको भिडियो थियो त्यो । झण्डै मेरो जीवनको नजिक छ ।’

वेरोजगार भएपछि उनी दैनिक चिया पसलमा पुगेर चिया खाँदै दैनिकी बिताउँथे । चिया पसलबाट नै चिनजान भएका डोरेशसँग भारतीय स्ट्यान्डअप कमेडीको समिक्षा गरिरहेका हुन्थे । तर, उनीहरुलाई नेपालमा पनि सुरु भएको छ भन्ने थाहा थिएन । पछि लेखमणिले सुरु गरेको थाहा पाएपछि अडिसन दिन गए र छानिए पनि ।

डोरेशले जियोलोजीमा ब्याचलर सकेका छन् । साइन्स पढेको मान्छे यहाँसम्म आइपुग्नुमा रमाइलो कहानी छ । सुरुमा आइएलटिएस गरे, त्यहाँ उनी सफल भएनन् । जीआरई गरे, त्यहाँ पनि सफल भएनन् । घर परिवारले लोकसेवा पढ्न सुझाए । त्यो पनि गरे । त्यहाँ पनि उनले सफलता पाएनन् ।

अनि बेरोजगार भएपछि सरोज भएकै चिया पसलमा चिया खान पुग्थे । त्यहीँबाट उनको पनि करिअर सुरु भयो । सरोज भन्छन्, ‘धेरैतिरबाट ठक्कर खाएपछि यहाँ आइपुगेको छु । जे होस् मान्छेहरुले चिन्नुहुन्छ । त्यसैमा खुसी छु ।

उनीहरुले स्ट्यान्डअप कमेडीमा नै आफ्नो उज्जवल भविष्य देखेका छन् । यसैमा रहेर वा यहीँ काम गरेर पनि सफल भइनेमा उनीहरु विश्वस्त छन् । ‘हामीले वर्तमान देखेका छौँ, वर्तमान राम्रो छ भनेपछि भविष्य पनि पक्कै राम्रो हुनेछ,’ यो उनीहरुको विश्वास बोलिरहेको थियो ।

कतिपय कमेन्टले निराश बनाउँछ

भिडियोमा आएका हरेक प्रतिकृयाहरु पढ्ने गर्छन् उनीहरु । ‘हामी सबैको भिडियोको आएका कमेन्टहरु पढ्छौँ । त्यहाँ आएका सकारात्मक कमेन्टहरुबाट उत्साहित हुन्छौं भने नकारात्मक कमेन्टहरुबाट पाठ सिक्छौं ।’

तर, कहिले काहीँ आएका प्रतिकृयाहरुले भने उनीहरुलाई दुःखी बनाउँछ । सरोजले भने, ‘हामीले सामान्यरुपमा भिडियो बनाएका हुन्छौँ । तर, त्यहीँ कुरालाई गम्भीर इस्यु बनाउँदा नराम्रो लाग्छ ।’

सामाजिक सञ्जालका कारण चर्चामा आएका उनीहरु कहिलकाहीँ गाली पनि खान पुग्छन् । डोरेशले भने, ‘हामीले अहिले सोसल मिडियाकै फाइदाबाट यो स्थान पाएका छौँ । तर, कहिले हामीले नै सोचेको कुरा पहिला नै ट्रोल बनिसकेको हुन्छ । अनि त्यसलाई चोर्‍यो भनेर आरोप लगाइदिन्छन् । त्यो दुःखको कुरा हो ।’

कमेडी गर्नेहरुलाई जोकर भनेर हियाइन्छ पनि । प्रायः हास्य कलाकारहरुले फाटेको लुगा लगाउने, मुख बिगार्ने गर्छन् । तर, यो समूहको शैली फरक छ । उनीहरु टिपटप बनेर स्टेजमा पुग्छन् । तर, कहिले फलानोको क्यारिकेचर गर्दिनु न भनेर आउने प्रस्तावबाट भने दिक्क छन् उनीहरु । ‘ए, तपाई त कमेडी गर्नुहुन्छ क्यारे । लु धुर्मुसको क्यारिकेचर गर्दिनु त भन्नुहुन्छ । अहिले पनि धेरैमा क्यारिकेचर गर्ने मात्र कमेडियन हुन् भन्ने भ्रम छ,’ लेखमणिले भने ।

कमेडी गर्ने धेरै सीमाहरु छन् । कुनै धर्म, जात, महिला तथा पेशा होच्याउन मिल्दैन । अन्यथा आलोचनाको शिकार भइन्छ । ‘आमाबाबुका विषयमा कमेडी गर्‍यो भने पनि गाली खाइन्छ,’ लेखमणिले भने ।

स्टेजमा पुगेर प्रस्तुती दिनुअघि उनीहरुले धेरै नै मेहनत गरेका हुन्छन् । स्क्रिप्ट लेख्ने, त्यसमा छलफल गर्ने, अभ्यास गर्ने गरेपछि मात्र स्टेजमा पुगेका हुन्छन् उनीहरु । तर, धेरैले यसलाई चिया पसलमा बसेर गरेको गफ सम्झिदिने उनीहरुको गुनासो छ ।

कमेन्टमा ‘हावा बोल्यो’ लेखिदिन्छन् । ‘हामीले ब्याक स्टेजमा बसेर गरेको मेहनत उहाँहरुले देख्नुहुन्न । त्यसैले चिया पसलमा बसेर गरेको गफ भनिदिनु हुन्छ’, सरोजले दुःख सुनाए ।

उनीहरुलाई सबैभन्दा मन नपर्ने कुरा भनेको ‘एकचोटि कमेडी जावोस् न’ भन्ने आग्रह हो । यस्तो आग्रहले उनीहरुलाई अप्ठेरोमा पार्छ ।

‘हामी स्क्रिप्ट लेखेर वर्कसप गरेर स्टेजमा प्रस्तुती दिनेलाई ‘जाओस् न’ भन्ने कुराले अप्ठेरो बनाउँछ’, लेखमणिले भने, ‘कहिलेकाहीँ त अगाडि बोतल भयो भने यो त्यसैलाई हेरेर कमेडी गर्नुस् भन्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment