+
+
Shares

नेकपाका १५ केन्द्रीय सदस्यको घटुवा प्रकरण : अप्ठेरो फुकाइदिने महासचिवको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १२ गते १६:३१

१२ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका केन्द्रीय कमिटी सदस्यहरुलाई केन्द्रको जिम्मेवारीबाट मुक्त गर्न नेतृत्वमाथि दबाव पर्न थालेको छ । नेकपा केन्द्रीय कमिटीका १५ जना नेताहरु पछिल्लो मापदण्डभित्र परेर जिल्ला अध्यक्ष र सचिव बनेका छन् ।

पार्टीको विधानअनुसार एउटा व्यक्ति बढीमा दुई जिम्मेवारीमा रहने भनिए पनि केन्द्रीय सदस्य स्वतः सम्बन्धित भूगोलको प्रदेश कमिटी सदस्य हुने भएकाले जिल्ला अध्यक्ष तथा सचिव समेत गर्दा तेहेरो जिम्मेवारी विधानविपरित हुनजाने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

‘जिल्लाको कार्यकारी जिम्मेवारीमा गएका कमरेडलहरुले आफैंले केन्द्रीय सदस्यबाट राजीनामा दिनु उपयुक्त हुन्छ,किनकि हाम्रो विधानले पनि एकजनाले दुईभन्दा बढी कमिटीमा बस्न नपाउने भनेको छ’, रिजालले भने, ‘जिल्ला अध्यक्ष र सचिव एउटा मापदण्डबाट बनाइएकाले उहाँहरु आफैंले बुझ्नुपर्ने हो ।’

नेकपाका अर्का केन्द्रीय सदस्य सूर्य थापाले पनि जिल्ला कमिटी अध्यक्ष र सचिव भएका नेताहरुले केन्द्रीय कमिटीमा बसिरहन नमिल्ने बताए । सम्बन्धित व्यक्तिहरुले आफैंले बुझेर एउटा जिम्मेवारीबाट अलग हुनु राम्रो हुने थापाले बताए ।

नेकपाकै अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने पार्टीको निर्णय विधानअनुरुप नभएकाले केही जिल्ला अध्यक्ष र सचिवलाई मात्र विधानले नछुने प्रतिक्रिया दिए । उनले यो निर्णय तत्कालीन एमाले र माओवादीका जिल्ला अध्यक्षहरुको समायोजन मात्र भएकाले यसमा विधान र दोहोरो तेहेरो जिम्मेवारी आकर्षित नहुने बताए ।

नेकपाका ९ जना केन्द्रीय सदस्य जिल्ला कमिटी सचिवको जिम्मेवारीमा पुगेका छन् । उनीहरुमध्ये अधिकांशले आफूभन्दा जुनियरलाई अध्यक्ष मानेर सचिवमा नबस्ने जानकारी समेत नेतृत्वलाई गराइसकेका छन् । रुपन्देहीका सचिव दधिराम न्यौपाने र सर्लाहीका डाचाराज वाग्लेले सार्वजनिक रुपमै सचिव पद अश्वीकार गरेका छन् ।

मोरङ,सिरहा र काठमाडौं बाहेक अन्य ६ जिल्लामा अध्यक्ष भन्दा सचिव सिनियर छन् । उदाहरणका लागि धादिङ जिल्ला कमिटी अध्यक्ष भूमि त्रिपाठी नेकपा प्रदेश कमिटी सदस्यमात्र हुन् । उनी तत्कालीन एमालेको जिल्ला अध्यक्ष थिए । तर, धादिङकै सचिव शालिकराम जमरकट्टेल नेकपाका प्रस्तावित पोलिव्टव्युरो सदस्य र हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

रामेछापको भँगेरीमा भेटिएका धादिङ जिल्ला अध्यक्ष त्रिपाठीले नेकपा नेताहरुसँग व्यंग्य गर्दै आफूलाई स्थायी कमिटीमा मनोनित गर्नुपर्ने बताए । ‘मभन्दा एक तह सिनियर नेता मेरो मातहतमा सचिव बनाइएका छन्, भोलि उनी पोलिटव्यूरो हुने निश्चित छ,त्यसैले म स्थायी कमिटी सदस्य त हुनुपर्‍यो नि’,  उनले पार्टी निर्णप्रति व्यंग्य गर्दै भने ।

यसैबीच, नेकपाको जिल्ला सचिवको जिम्मेवारीमा समायोजन भएका केही नेताले अध्यक्ष प्रचण्डलाई लिखित र मौखिक रुपमा आफू जिल्लाको जिम्मेवारीमा नझर्ने जानकारी गराएका छन् । यस्तो जानकारी गराउनेमा जमरकट्टेल, काठमाडौंका हिमाल शर्मा, रौतहटका युवराज भट्टराई, सर्लाहीका डाचाराज वाग्ले र रुपन्देहीका दधिराम न्यौपाने छन् ।

नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपाने भने जिल्ला अध्यक्ष र सचिव पदेन समायोजन मात्र भएकाले  वरिष्ठ र कनिष्ठताको कुरा नै नआउने बताए । तत्कालीन एमालेका जिल्ला अध्यक्ष र तत्कालीन माओवादीका जिल्ला संयोजकहरुको कार्य विभाजनसँग विधान र वरिष्ठताको कुरा नआउने उनको भनाइ छ ।

न्यौपानेले भने– पहिलो कुरा त यो विधान अनुरुपको निर्णय नै होइन । हिजो दुई पार्टीमा हुँदाको कार्यविभाजन मात्र हो । यो पदेन निर्णय भएकाले बस्दिनँ, भन्दिन पाइँदैन, पार्टी र आन्दोलनमा हुने हो भने पदेन जिम्मेवारी भएकाले बस्दिनँ भन्न पाइएन । पार्टीको निर्णय मान्नुपर्छ ।

नेकपाका ९ जना केन्द्रीय सदस्य सचिवको जिम्मेवारीमा झरेको छन् । तीमध्ये मोरङका गोपी अछामी, सिरहाका प्रमोदनारायण यादव र काठमाडौंका हिमाल शर्माबाहेक अरु ६ जनाले आफूभन्दा जुनियरको नेतृत्वमा बस्नुपर्नेछ । मोरङका अध्यक्ष विनोद ढकाल, सिरहाका रामकुमार यादव र काठमाडौंका कृष्ण राई भने केन्द्रीय कमिटी सदस्य नै रहेकाले वरिष्ठता विवाद छैन । यद्यपि हिमाल शर्माले सचिव नबन्ने बताएका छन् ।

अध्यक्ष र सचिवमा घटुवा हुने को-को ?

तत्कालीन एमाले र माओवादीका जिल्ला अध्यक्षलाई नै अध्यक्ष वा सचिवको जिम्मेवारी दिएर जिल्ला एकीकरण गर्दा ९ केन्द्रीय सदस्य स्वतः सचिवमा घटुवा भएका हुन् । घटुवा हुनेमा तत्कालिन एमालेका एक र तत्कालिन माओवादीतर्फका भने ८ छन् ।

पूर्व एमालेबाट सिरहाका प्रमोद नारायण यादव तत्कालीन अध्यक्ष भएकाले अहिले सचिवमा झरेका छन् । पूर्व माओवादीतर्फ केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा गोपी अछामी (मोरङ), डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं), शालिकराम जमरकट्टेल धादिङ र दधिराम न्यौपाने (रुपन्देही) छन् ।

केन्द्रीय कमिटी सदस्य र जिल्ला अध्यक्ष दुवै जिम्मेवारी पाउनेमा पनि पूर्वमाओवादीकै धेरै छन् । पूर्वएमालेतर्फ मोरङका विनोद ढकाल र काठमाडौंका कृष्ण राई मात्र हुन् । पूर्वमाओवादीबाट अशोक मण्डल (सप्तरी),रामकुमार यादव (सिरहा), राजु खड्का (महोत्तरी) र राजन दाहाल (सिन्धुली) छन् ।

अप्ठेरो फुकाउँछौं : महासचिव पौडेल

यसैबीच, नेकपाका महासचिव विष्णु पौडेलले जिल्ला कमिटी एकीकरण गर्ने सन्दर्भमा अपनाइएको मापदण्डका कारण कतिपय केन्द्रीय सदस्यहरु स्वतः जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारीमा पुगेको बताए । उनले त्यसलाई व्यवहारिक कठिनाइ भन्दै पार्टी केन्द्रले आवश्यकता परेमा अप्ठेरो फुकाइदिने बताए ।

अप्ठेरो फुकाउने विधि त महासचिव पौडेलले बताएनन् । तर केन्द्रीय सदस्य नभएको जिल्ला अध्यक्षको मातहतमा सचिव बन्न कतिपय केन्द्रीय सदस्यलाई अप्ठेरो भएकाले व्यवहारिक ढंगले व्यवस्थापन गर्नेबारे छलफल भइरहेको बताए ।

त्यसो भए सचिव वा केन्द्रीय सदस्य एक जिम्मेवारी छाड्ने हो ? यो प्रश्नमा महासचिव पौडेलले व्यवहारिक ढंगले अप्ठेरो फुकाउने प्रतिक्रिया मात्र दिए । नेकपाकै कतिपय नेताले भने तत्कालीन दुवै पार्टीका अध्यक्षहरुको पद समायोजन भएकाले जिल्ला अध्यक्ष र सचिवभन्दा पनि दुवैलाई सहअध्यक्ष बनाउन समेत सुझाव दिएका छन् ।

नेकपाका एक सचिवालय सदस्यले भने–अध्यक्ष र सचिवभन्दा जुनियर सिनियरको कुरा आयो । केन्द्रीय सदस्य रहेको व्यक्ति जिल्ला अध्यक्षको मातहतमा बस्नुपर्ने कठिनाइ आयो । त्यसैले केन्द्रमा दुई अध्यक्ष भने जस्तै जिल्लामा पनि अन्तरिम अवधिका लागि सहअध्यक्षको व्यवस्था गरौं भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?