Comments Add Comment

बलिउड कलाकार स्विकार्छन्, नेपाली कलाकार सिकाउँछन्

भारतमा यतिबेलाका सुपरस्टार मानिएका नायक बरुण धवन र नायिका आलिया भट्ट अभिनित चलचित्र ‘कलंक’ रिलिज भैरहेको छ । चलचित्रको व्यापारिक गतीलाई नियाल्ने हो भने यो चलचित्र बक्स अफिसमा सुपर फ्लप हुने निश्चित छ ।
चलचित्र रिलिज भएको दिनदेखि नै नकारात्मक प्रतिक्रियाको शिकार भएको यो चलचित्रले बक्स अफिसमा चम्किलो व्यापार गर्न सकेन । चलचित्रले व्यापार गर्न नसकेपछि यसका कलाकारको कस्तो प्रतिक्रिया आउला भन्ने धेरैलाई लागेको थियो ।

तर, चलचित्रका मुख्य नायक बरुण धवन र नायिका आलिया भट्टले चलचित्र असफल भएको छैन भनेर जिकिर गरेनन् । उनीहरुले समिक्षकलाई चलचित्रको झुटो समिक्षा गरेको पनि बताएनन्, दर्शकले चलचित्र नवुझेको पनि बताएनन् । आलिया र बरुणले भनिदिए–‘जनताको अदालत नै अन्तिम अदालत हो ।’ यसको अर्थ चलचित्र असफल वा सफल बनाउने अधिकार दर्शकमा हुन्छ ।

आलिया र बरुणले चलचित्र रिलिज भएको एक साता पनि नवित्दै आफूहरुले दर्शकको मन जित्न नसकेको स्विकार गरे । चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा असफल भयो । यो चलचित्र असफल भएपछि यसका नायक आमिर खानले चलचित्र असफलताको जिम्मा लिए । आफ्ना दर्शकले आफूबाट अपेक्षा गरेअनुसारको चलचित्र नपाएको भन्दै उनले यसको सम्पूर्ण जिम्मा लिन तयार भए ।

चलचित्र ‘ट्यूबलाइट होस् या दिलवाले’, दुबै चलचित्र दर्शकमाझ खरो उत्रन नसकेपछि यसका निर्माता तथा नायक सलमान खान र साहरुख खानले वितरकको घाटा आफूहरुले भरिदिने बचन दिए । जसलेगर्दा, वितरकलाई उनीहरुको नयाँँ चलचित्र किन्न सहज भयो । नायक साहरुख खानले ‘जिरो’ असफताको कारण दर्शकलाई मन पर्ने चलचित्र बनाउन नसकेको स्विकार गरे ।

यो त भयो बलिउड कलाकारको उदाहरण । अब, नेपाली चलचित्रमा हेरौ ।

चलचित्र ‘लभ स्टेशन’ बक्स अफिसमा असफल मात्र भएन, चोरिएको आरोप पनि खेप्यो । चलचित्र चोरिएको हो भनेर मिडियाले टर्किस चलचित्रको लिंक नै शेयर गरे । तर, यसका नायक प्रदिप खड्काले यो कुरा स्विकार गर्न सकेनन् । बरु, उनले समिक्षकलाई चलचित्रको समिक्षा एक सातापछि गर्न सुझाए ।

यतिमात्र होइन, उनले नेपालमा समिक्षा कुनै कलाकारलाई सक्नका लागि आउँछ भनेर प्रतिक्रिया दिए । हुबहु चोरिएको चलचित्रलाई चोरिएको रहेछ, हामीले गल्ती गर्यौ भन्न यसका नायक, निर्देशक वा निर्माताले आजसम्म पनि सकेका छैनन् । बरु, चलचित्रको वास्तविक कलेक्शन भन्दा धेरै बढाएर चलचित्र जर्बजस्ती हिट भएको प्रमाणित गर्न लागिपरेका छन् । निर्देशक उज्ज्वल घिमिरेले नेपालमा राम्रो स्क्रिप्ट लेख्ने मान्छे नभएकाले विदेशी चलचित्रको कथा कपी गर्नुपरेको भनेर दिएको एउटा अन्र्तवार्ता पढेरै नेपाली चलचित्रकर्मीको सोच र नियत सजिलै वुझ्न सकिन्छ ।

चलचित्र ‘कोहलपुर एक्सप्रेस’का एउटा साउथको चलचित्रबाट कपी गरियो । तर, नायिका केकी अधिकारी र उनको टिमले कहिले पनि यो कुरालाई स्विकार गरेनन् । बरु, उनीहरुले चलचित्र हिट भएको भन्दै हप्तैपिच्छे केक काटे, मिडियामा हिटको कुरा गरिरहे । केकी अधिकारी जस्ती नायिकाले चलचित्रलाई जर्बजस्ती हिट बनाउन धेरै हतकण्डा अपनाइन्, तर चोरिएको बिषयमा मुख खोलेर गल्ती स्विकार गर्न सकिनन् ।

‘लभ स्टेशन’ र कोहलपुर एक्सप्रेस त एउटा उदाहरण मात्र हो । हिजोआज आफ्नो चलचित्रको समिक्षा कमजोर आयो भने समिक्षकलाई सिकाउने, सामाजिक संजालमा मनको भडास पोख्ने चलचित्रकर्मीको संख्या बलियो हुँदै गएको छ । अझ, यसरी वुझौ आफ्नो कमजोरीलाई मैले कमजोरी गरेँ है भनेर स्विकार गर्ने जमात नेपाली चलचित्रमा भेट्याउन मुश्किल छ । नेपालमा हिजो आज बलिउडका ट्रेन्ड एनालाइसिस्ट तरण आदर्शको खोजी पनि केही निर्माता, नायकले गरेको पाइन्छ । तर, तरणले दिने बलिउड चलचित्रको व्यापारिक फिगर निर्माताले नै उपलब्ध गराउने हुन् । फरक यत्ती मात्र हो कि, त्यहाँका निर्माता थोरै झुट बोल्छन्, यहाँका निर्माता झुट धेरै बोल्छन् ।

मेरो गोरुको बाह्रै टक्का, मैले बनाएपछि त्यो सही नै हो, मैले खेलेको चलचित्र उत्कृष्ट हो भन्ने भ्रमबाट चलचित्रकर्मी मुक्त हुन जरुरी छ । नेपाली चलचित्रकर्मीहरु सहजै आफ्नो कमजोरी किन स्विकार गर्न सक्दैनन् । असफल चलचित्रलाई असफल भन्ने र सफललाई सफल भन्ने हिम्मत किन उनीहरुमा आउँदैन ।

धेरै कुरा बलिउडबाट सिको गर्ने चलचित्रकर्मीहरुले त्यहाँका कलाकारले जस्तै राम्रो वा नराम्रो दुबै कुरा स्विकार गर्ने बानी बसालिदिए कती राम्रो हुन्थ्यो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment