Comments Add Comment

नेपालमा दादुराको संक्रमण बढ्यो

१२ वैशाख, काठमाडौं । नेपालमा दादुरा संक्रमण बढेको पाइएको छ ।

सन् २०१८ मा नेपालमा २४७ जनालाई दादुराको संक्रमण भएको थियो, जुन सन् २०१७ को तुलनामा साढे दुई गुणा धेरै हो । २०१७ मा यो संख्या ९९ थियो ।

२०१० देखि २०१७ सम्ममा करिव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन्, जुन औसतमा वर्सेनी २ करोडभन्दै धेरै भएको युनिसेफले जनाएको छ ।

खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जाँदा कयौं देशमा दादुराको महामारी फैलिएको छ ।

‘केही देशहरूमा देखिरहेको दादुराको महामारीको धरातल केही वर्षअघि नै बनेको थियो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्छन्, ‘दादुरा भाइरसले खोप नलगाएका बालबालिकालाई भेटिहाल्छ । यदि हामी अहिले यो खतरनाक तर रोक्न सकिने रोगलाईफैलिनबाट रोक्न गम्भीर छौं भने हामीले धनी र गरिब सबै देशहरूका हरेक बालबालिकालाई खोप लगाउनुपर्छ ।’ ं

सन् २०१९ को पहिलो तीन महिनामा संसारभर एक लाख १० हजारभन्दा धेरै दादुराका संक्रमण देखिएका छन्, जुन गत वर्ष सोही अवधीको तुलनामा करीव तीन गुणा धेरै हो ।

२०१७ मा करीव एक लाख १० हजार मानिसको दादुराका कारण मृत्यु भएको थियो, जसमा अधिकांश बालबालिका थिए । यो २०१६ को तुलनामा २२ प्रतिशतले धेरै हो ।

बालबालिकालाई दादुराबाट जोगाउन यसको दुई मात्रा खोप लगाउनु आवश्यक हुन्छ । तथापि, खोपमा पहुँच नहुनु, उचित स्वास्थ्य सेवाको कमी, केही ठाउँमा खोपमाथि डर र शंकाजस्ता कारणले सन् २०१७ मा दादुराको खोपको पहिलो मात्रा लगाउने बालबालिका जम्मा ८५ प्रतिशत थिए ।

विश्व स्वास्थ्य संगठनले प्रतिरक्षाका लागि खोप लगाउनेको संख्या कम्तीमा ९५ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ ।

पछिल्लो तथ्यांकअनुसार, उच्च आय भएका मुलुकहरूमा दादुराको खोपको पहिलो मात्रा पाउने ९४ प्रतिशत छन् भने दोस्रो मात्रा पाउने ९१ प्रतिशत मात्र छन् ।

उच्च आय हुने मुलुकहरुमध्ये २०१० देखि २०१७ सम्म खोपको पहिलो मात्राबाट बञ्चित बालबालिकाको संख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा पछिल्लो आठ वर्षमा २५ लाखभन्दा धेरै बालबालिकाले दादुराको खोप प्राप्त गरेका छैनन् ।

मध्य र न्यून आय भएका मुलुकहरूमा यो अवस्था निकै चिन्ताजनक छ । सन् २०१७ मा नाइजेरियाका एक वर्षमुनिका करीव ४० लाख बालबालिकाले दादुराको खोपको पहिलो मात्रा पाएका थिएनन् ।

संसारभर दादुराको खोपको दोस्रो मात्रा लगाउनेहरूको संख्या अझ कम छ । सन् २०१७ मा खोप प्राप्त नगरेका बालबालिकाको संख्या सबैभन्दा धेरै रहेका शीर्ष २० मुलुकमध्ये ९ मुलुकले दोस्रो मात्रा शुरु नै नगरेको यूनिसेफले जनाएको छ ।

उपसहारा अफ्रिका क्षेत्रका २० देशहरूले उनीहरूको राष्ट्रिय खोप तालिकामा दोस्रो मात्रा संलग्न गरेका छनन् जसले वार्षिक रुपमा एक करोड ७० लाखभन्दा धेरै शिशुहरूको जीवनलाई जोखिममा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment