Comments Add Comment

प्रधानमन्त्रीको सम्पदा पुनर्निर्माण अवलोकन : त्रिपुरासुन्दरीदेखि काष्ठमाण्डपसम्म

पुनर्निर्माणको कामप्रति सन्तुष्ट

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गरेका छन् ।

उनले बिहीबार बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरेका छन् । सम्पदा पुनर्निर्माणको अवलोकन गरेपछि उनले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिएका छन् ।

सम्पदा पुनर्निर्माणको अवलोकनपछि प्रधानमन्त्री ओलीले काष्टमण्डपमा राखिएको आगन्तुक पुस्तिकामा सम्पदा पुननिर्माणको कामबाट आफू खुशी रहेको बताए ।

‘पुनर्निर्माण समिति अर्थात यसको नेतृत्व र समग्र टिमको उत्साह र आत्मविश्वास हेर्दा खुशी लाग्यो’ उनले लेखेका छन् ‘ प्रगति सन्तोषजनक छ, लगभग आगामी १८ महिनाजसोमा निर्माण कार्य सम्पन्न गर्ने अठोट सुन्दा खुशी लाग्यो ।’

पुनर्निर्माणका क्रममा पाँचौं शताब्दीको काठ प्रयोग हुन सक्ने अवस्थामा भेटिएको र उपयोग गरिएको सुन्दा आश्चर्यमिश्रित खुशी लागेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि सम्पदा पुनर्निर्माणको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री ओलीले आउँदा २० महिनाभित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने दावी गरेका छन् । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रममा उनले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधीमा निर्माण भइसक्ने बताएका हुन् ।

उनले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गर्दै भने ‘भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुदैन ।’

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

त्रिपुरासुन्दरी मन्दिरमा प्रधानमन्त्री । तस्वीर : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment