Comments Add Comment

कञ्चनलाई आगो लगाउने को हुन् ? प्रहरीको अनुसन्धान श्रीमानतिर

१३ वैशाख, जनकपुरधाम । बिहीबार विहान सवा ९ बजे प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका ८ मा एक महिला शरीरमा आगो लागेर आँगनमा लडिरहेको अवस्थामा फेला पार्‍यो ।

बेचु मण्डल खत्बेकी २१ बर्षीया पत्नी कञ्चनको शरीरको अधिकांश भाग जलिसकेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी नायव निरीक्षक शंकर खतिवडाको नेतृत्वमा गएको टोलीले एम्बुलेन्समा हालेर उपचारका लागि मिर्चैया पुर्‍यायो ।

मिर्चेयामा उपचार हुन नसकेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । धरानमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको छ । अहिले उनको सुष्मा कोइराला मेमोरियल हस्पिटल साखुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुखदेव खनालले जानकारी दिए

शरीरमा आगो लागेको बेला उनी घरमा एक्लै थिइन् । सासू सुरजीदेवी बनिबुतो गर्न गएकी थिइन् । ‘तर हामी गएको केहीबेरमा उनी पनि घर आइन्’ प्रहरी नायव निरीक्षक खतिवडाले भने, ‘कञ्चनलाई उपचारका लागि पठाएर उनलाई नियन्त्रणमा लियौं ।’ आगो लागेर कञ्चनको अनुहारसहित शरीरको अधिकांस भाग जलेको छ ।

अनुसन्धान श्रीमानतिर केन्द्रित

कतिपयले कञ्चनलाई श्रीमानले आगो लगाएको आरोप लगाएका छन् । तर उनका पति घरमा भए/नभएकै बिषयमा अन्यौल छ । स्थानीयको कुरालाई मान्ने हो भने पछिल्लो तीन महिनायता उनका पति बेचु भारतको अहमदावादमा श्रम गर्न गएका छन् ।

तर उनी नेपाल आएको हुन सक्ने प्रहरीको आशंका छ । डिएसपी खनालले भने, “उनी अहमदावादमै रहेको कुरालाई मान्न तत्काल तयार छैनौं, र त्यसैलाई आधार बनाएर अनुसन्धान थालेका छौं ।’

डीएसपी खनालका अनुसार सादा पोशाकका सुरक्षाकर्मीहरु परिचालन गरी सुक्ष्म तरिकाको अनुसन्धान थालिएको छ । उनले आगो लागेकी कञ्चनसँग संक्षिप्त कुरा पनि गरेका थिए । त्यस क्रममा कञ्चनले घरमा लामो समयदेखि घरेलु हिंसा भोगिरहेको सुनाएको डिएसपी खनालको भनाइ छ । ‘उनले बयानका क्रममा अरु कुरा भनेकी छन्’ डिएसपी खनालले भने, ‘हामी उनको कुरालाई मध्यनजर गर्दै पनि अनुसन्धान प्रकृया थालेका छौं ।’

उनकी सासु सुरजीदेवीलाई प्रहरीले नियन्त्रणमा राखेको छ । कञ्चनको उपचार गराउन उनका बुवा, माइजु र एक जना आफन्तसहित तीन जना काठमाडौं पुगेका छन् । कञ्चनकी छोरी पनि उनीसँगै गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment