
१४ वैशाख, चितवन । भरतपुरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि आक्रासित आफन्तले तोडफोड गरेका छन् ।
२९ चैतमा ज्वरो आएको र पेट दुखेको भनेर अस्पताल भर्ना भएका गोरखा भुजेलका ९ बषर्ीय बालका रुप्सन घिमिरेको शुक्रशार उपचारको क्रममा निधन भएको थियो । बालक घिमिरेको उपचारमा अस्पतालले गम्भिर लापवौही गरेको भन्दै पीडितका आफन्तहरु आन्दोलित बनेका छन् ।
पीडित पक्षले अस्पतालको मुल गेटमा तोडफोड गरेका छन् । स्थानीय प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेर सुरक्षा दिएको छ ।
मृतकका बाबु रुपेशले मेडिकल कलेजको गम्भिर लापर्वाहीका कारणले छोरा गुमाउनु परेको दुखेसो गरे । भन्छन्, ‘वैशाख २ गतेसम्म मेरो छोरा मज्जासँग खेलिरहेको थियो । टाठो पनि थियो तर, त्यही दिन सुई हाल्दा हाल्दै बच्चा बेहोस भयो । त्यसपछि भेन्टिलेटरमा राखियो र अब मेरो छोरा रहेन ।’
उनकाअनुसार अस्पतालले ३ गते डिस्चार्ज गर्ने जानकारी दिएको थियो । तर, २ गते अचेत भएपछि भेन्टिलेटरमा राखियो । १० गतेसम्म रुप्सनलाई सञ्चो हुुने आश्वासन दिएको मेडिकल कलेजले त्यसपछि भने बाच्ने नबाँच्ने भगवान भरोसा भएको बताउन थालेको रुपेश बताउँछन् ।
वैशाख १३ गते करिव ४ बजे बच्चाको मृत्यु भएपछि शव बुझ्न अस्पतालबाट फोन गरेको उनले बताए । ‘रातको साढे १० बजे अस्पतालबाट फोन आयो, छोराको मृत शरिर बुझ्नु पर्यो, हस्ताक्षर गर्न आउनुहोस् भन्दै’ भन्छन्, ‘मैले बिहानसम्म अस्पतालमै राख्न आग्रह गरेको थिए तर, विहान आउँदा छोराको शव छैन । रातारात गायब गराइयो ।’
आफ्नो अनुमति विना अस्पतालले रातारात छोराको शव गायव बनाएको आरोप रुपेशले अस्पताल माथि लगाएका छन् । बालकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
बालकको मृत्यु भएपछि स्थानीय प्रशासनको रोहबरमा वार्ता पनि भयो । अस्पतालले उपचार खर्च व्यहोर्ने तर, अन्य क्षतिपुर्ति नदिने अडान लिएपछि वार्ता निस्कर्षमा नपुगेको सहभागीहरु बताउँछन् ।
उपचारमा डा. सन्तोष पाठक र डा.शान्ति रेग्मीको टिम खटिएको थियो । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले ज्वरो र छातीको संक्रमण भएर आएका बालकको निमोनियाका कारण निधन भएको दाबी गरे । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4