
१५ वैशाख, काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आइतबारदेखि ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ मनाइँदै छ ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सूचना प्रवर्द्धन गर्ने उद्देश्यले सरोकारवालाको सहभागितामा आइतबार बिहान बसन्तपुरबाट प्रभातफेरि गरिएको छ । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले बसन्तपुरमा प्रभातफेरिको उदघाटन गरे । सो प्रभातफेरि प्रज्ञा भवन कमलादी पुगेर टुंगिएको थियो । प्रज्ञा डबलीमा श्रम, रोजगार तथा सुरक्षा मन्त्री गोकर्ण विष्टले कार्यक्रमलाई सम्बोधन गरे ।
विभिन्न प्रकृतिका श्रम गर्ने सिलसिलामा उत्पन्न हुने खतरा तथा जोखिमबाट श्रमिकको जीवनमाथि पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्ने अभिप्रायले सप्ताह मनाउन लागिएको श्रम तथा व्यवसायजन्य विभागले जनाएको छ । यस वर्ष दिवसको नारा ‘कामको भविश्य र सुरक्षा तथा स्वास्थ्य’ तय गरिएको छ ।
स्वास्थ्य तथा सुरक्षितरुपमा काम गर्ने वातावरण स्थापना गर्न सबै सरोकारवाला निकायको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५७ सालदेखि अपि्रल २८ तारिखका दिन विश्वभर सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रम गर्दै ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ मनाइन्छ ।
दिवसका अवसर पारेर श्रम तथा व्यवसायजन्य विभागले साप्ताहिकरुपमा श्रमिक स्वास्थ्य, सुरक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम गर्दछ ।
कार्यक्रमअन्तर्गत यही वैशाख १६ गते अटो व्यवसायी संघको सहकार्यमा अटो श्रमिकका लागि निःशुल्क आँखा शिविर, १७ गते काठमाडौं उपत्यकामा रहेको इँटा उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य परीक्षण, १९ गते काठमाडौं उपत्यकाभित्रका औद्योगिक क्षेत्रमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी प्रचारप्रसार र २१ गते सरोकारवाला निकायको सहभागितामा बृहत् अन्तक्रिया गरिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका प्रमुख वरुणकुमार झाले जानकारी दिए ।
दिवसका सन्दर्भ पारेर शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहकार्यमा शंकरदेव क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिक्रिया 4