Comments Add Comment

उत्तरगंगाको अहिले नै विरोध गर्नुको औचित्य छैन : ऊर्जामन्त्री

दुई पूर्वमन्त्रीसहित सरोकारवालाले बुझाए ज्ञापन पत्र

१५ वैशाख, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अहिले नै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको समर्थन वा विरोध गर्नुको औचित्य नै नभएको बताएका छन् ।

आइतबार उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माणले हुने क्षतिको विषयमा ध्यानाकर्षण गराउन मन्त्रालय पुगेको दुई पूर्वमन्त्रीसहितको टोलीलाई मन्त्री पुनले अहिले नै विरोध नगर्न आग्रह गरे ।

‘ढोरपाटनमा रहेको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना जसको एउटा अध्ययन कालीगण्डकीमा पानी खस्ने गरी गरिएको छ, अर्को पूर्वी रुकुम हुँदै पश्चिम रुकुमबाट भेरी नदीमा पानी जाने, यी दुवै सम्भावनालाई अध्ययन गरेर डीपीआर बनाउन टेण्डर आह्वान भएको छ’ ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले भने, ‘यी दुवैतर्फको अध्ययन गरेर जता राम्रो हुन्छ त्यतैबाट, समझदारी बनाएर स्थानीय जनता र जनप्रतिनिधिसँग छलफल गरेर निश्कर्षमा पुग्छौं ।’

मन्त्रीलाई ज्ञापन पत्र बुझाउन रुकुम पूर्वका उत्तरगंगा जलविद्युत आयोजना सरकोर समिति र संयुक्त संवदलीय संयन्त्र सिंहदरबार पुगेको थियो । टोलीमा पूर्वमन्त्रीद्वय गणेशमान पुन र दलजीत श्रीपालीसहित संघीय सांसद कमला रोका, प्रदेश सांसदहरु तेजबहादुर ओली, आशा स्वर्णकार, गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीसहित नेकपा तथा नेपाली कांग्रेसका नेताहरु थिए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले मुलुकको विकासमा जनताले चासो र सहभागिता देखाउनु सकारात्मक बिषय भएको भन्दै उत्तरगंगा जलाशययुक्त प्राकृतिक स्रोत संरक्षण र जनताको वस्तीलाई क्षती नपुग्ने गरि अघि बढाउन उपयुक्त हुने बताए ।

उनले दुवैतर्फको अध्ययन गरेर जता राम्रो हुने र त्यतैबाट, समझदारी बनाएर स्थानीय जनता र जनप्रतिनिधिसँग छलफल गरेर निश्कर्षमा पुग्ने स्पष्ट पारे । छलफलका क्रममा आयोजनालाई अघि बढाउने वा तत्काल अघि नबढाउने भन्ने विषयलाई पनि प्राथमिकतामा राखेर स्थानीयसंग पनि छललफल हुने उनले बताए ।

मन्त्री पुनले आयोजनाका विषयमा बिशेषगरी गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको मुख्यमन्त्रीसंग पनि निरन्तर छलफल हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment