+
+
Shares

महिलाको ज्यान लिएको स्कुटर प्रहरीले सुटुक्क धनीलाई बुझायो

गौरव पोखरेल गौरव पोखरेल
२०७६ वैशाख १५ गते १९:३४

१५ वैशाख, काठमाडौं । ललितपुरको हरिसिद्धीमा महिलालाई ठक्कर दिएर भागेका स्कुटर चालकको खोजी गर्नुपर्नेमा प्रहरीले उल्टै सवारीसाधन पनि छाडिदिएको छ ।

गत २३ माघमा बा ५० प २८४४ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु दोलखा घर भइ गोदावरी–१४ बस्ने ५३ वर्षीया लक्ष्मी विक गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा १५ दिनपछि ग्वार्कोस्थित वीएण्डबी हस्पिटलमा मृत्यु भएको थियो ।

घटनालगत्तै नियन्त्रणमा लिइएको स्कुटर महानगरीय प्रहरी वृत्त, सातदोबाटोले सुटुक्क सवारीधनीलाई जिम्मा लगाएको हो । मृतककी छोरा विष्णु विश्वकर्माले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रहरीले पीडित पक्षसँग कुरै नगरी स्कुटर बुझाएको थियो ।

दुर्घटनालगत्तै स्कुटर चालकले विकलाई हस्पिटलसम्म पुर्‍याएका थिए । तर, त्यहीँ स्कुटर छाडेर उनी फरार भए ।

यो थाहा पाएलगत्तै विश्वकर्माले विभिन्न निकायमा न्याय माग्दै उजुरी गरेका थिए । उजुरीपछि हाल सातदोबाटो प्रहरीले आफ्नो गल्ती स्वीकारेको बताउँदै विश्वकर्माले दुवै पक्षबीच छलफल गर्ने तयारी भइरहेको बताए ।

‘उहाँहरुले भोलि स्कुटर फिर्ता ल्याउने पनि भन्नु भएको छ’, उनले भने ।

चोरीको स्कुटर भएकाले ‘राखिराख्नु भन्दा सम्बन्धित धनीलाई दिनु ठिक’ हुने भएकाले बुझाइएको देखिएको छ: उत्तमराज सुवेदी, प्रहरी प्रवक्ता

डीएसपीको दाबीः मर्मत गर्न दिएका हौं

सातदोबाटो प्रहरीका प्रमुख नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार लक्ष्मीलाई ठक्कर दिने स्कुटर दुर्घटना हुनुभन्दा केही दिनअघि नै चोरी भएको थियो ।

‘घटना हुनुभन्दा १०/१५ दिनअघि नै स्कुटर चोरी भएको भन्दै सवारीधनीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिनुभएको रहेछ’, मिश्रले अनलाइनखबरसँग भने, ‘हामीले नियन्त्रणमा राखेको स्कुटरको धनी खोज्दा सुमित्रादेवी नामक महिलाको नाममा त्यो दर्ता देखियो । उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पहिल्यै चोरी सम्बन्धी जाहेरी दर्ता भएको खुलेको थियो ।’

प्रारम्भमा महिला ‘सामान्य घाइते’ मात्रै भएको बताउँदै मिश्रले भने, ‘पछि उहाँको निधन भयो । तर, त्यसवेलासम्म स्कुटर भक्तपुरको ठिमीबाट चोरी भएको भन्ने खुलिसकेको थियो ।’

पीडित परिवारसँग असमझदारी भएको आशय व्यक्त गर्दै डीएसपी मिश्रले स्कुटर बनाउनका लागि सुमित्रादेवीलाई दिएको पनि दाबी गरे । ‘हामीले भोलि कार्यालयमा ल्याउन भनेका छौं’, उनले थपे ।

प्रहरी मुख्यालयले थाल्यो छानबिन

सातदोबाटो प्रहरीले स्कुटर छाडेको विषयमा उजुरी परेपछि हाल प्रहरी प्रधान कार्यालयले पनि छानबिन थालेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज नेउपानेको नेतृत्वमा रहेको प्रहरी निरीक्षणालयले अनुसन्धान थालेको हो ।
प्रहरी मुख्यालयको यो शाखाले प्रहरीविरुद्ध परेको उजुरी र गुनासो उपर छानविन गर्ने गर्छ ।

केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानमा चोरीको स्कुटर भएकाले ‘राखिराख्नु भन्दा सम्बन्धित धनीलाई दिनु ठिक’ हुने भएकाले बुझाइएको देखिएको छ ।

यद्यपि, यो सम्बन्धमा के हुने भन्नेबारे छानविनपछि मात्रै निक्र्यौल हुने उनले बताए । ‘यो प्रारम्भिक अनुसन्धान मात्रै हो । त्यसैले हामीले अहिल्यै यही गर्नु भनेर निर्देशन दिन मिल्दैन’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने ।

सक्कली दोषीको खोजी

घटना बाहिर आएपछि सातदोबाटो प्रहरीले वास्तविक दोषीको खोजीलाई तीब्र बनाएको जनाएको छ ।

स्कुटरको नम्बर प्लेट फेरेर अभियुक्तले चलाएको देखिएको बताउँदै डीएसपी मिश्रले अन्य बाटोबाट अनुसन्धान जारी राखिएको बताए ।

स्रोतका अनुसार प्रहरीले स्कुटर चोरी गर्ने व्यक्तिको फोटो सडक नजिकै रहेको सीसी टीभीको फुटेजबाट निकालेको छ । जसको आधारमा संलग्न व्यक्तिको खोजी भइरहेको बुझिएको छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?