
युएई । धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि युएईबाट २० लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको छ ।
शुक्रबार दुबईमा भएको धुर्मुस-सुन्तली साँझ कार्यक्रमको खर्च कटाएर १९ लाख रुपैयाँ संकलन भएको हो ।
कार्यक्रममा सहभागी हुन छुटेका अन्य संस्थाबाट पनि सहयोगको प्रतिवद्धता आएको आयोजक संस्थाले जनाएको छ ।
सबै क्षेत्रको प्रतिवद्धता रकम संकलन पश्चात २० लाख रुपैयाँ पुर्याएर धुर्मुस-सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिने आयोजकका लेखा समिति संयोजक एकेन्द्र थापालेे जानकारी दिए ।
रङ्गशाला निर्माणमा सहयोगार्थ चितवन समाजको संयोजन तथा दुबईस्थित ३८ बढी संघसंस्थाहरुको संयुक्त आयोजनामा वैशाख १३ गते धुर्मुस-सुन्तली साँझको आयोजना गरिएको थियो ।
चितवन जिल्लामा रङ्गशाला निर्माण हुने भएकाले सम्बन्धित जिल्ल्ााले संयोजन गरेर कार्यक्रम गर्न अन्य संस्थाले सुझाएकाले संयुक्त कार्यक्रम गरिएको चितवन सेवा समाज युएईका अध्यक्ष पर्शुराम घिमिरेले बताए । उनले भने, ‘राष्ट्रिय गौरवको आयोजना निर्माणमा सबै एक भयौँ । यो सबैका लागि खुशीको कुरा हो । यसले सबैमा एकताको सन्देश प्रवाह गरेको छ ।’
गायक पौडेलको पहलमा करिब २ लाख संकलन
आबुधाबीमा गायक प्रकाश पौडेलको पहलमा एक लाख ८० हजार रुपैयाँ रङ्गशाला निर्माणमा सहयोग जुटेको छ ।
शनिबार आबुधाबीमा रहेको नेपाली चुलो रेस्टुरेन्टमा डिनर विथ धुर्मुस-सुन्तली कार्यक्रमको आयोजना गरिएको थियो । गायक पौडेलले सामाजिक संजालमार्फत सबैलाई कार्यक्रममा सहभागी हुन आहृवान गरेका थिए ।
डिनरसँगै सय दिराम प्रवेश शुल्क तोकिएको थियो भने त्यसभन्दा माथि स्वेच्छाले सहयोग गर्न सकिने जनाइएको थियो ।
कार्यक्रममा सहभागी ३१ जनाबाट ५ हजार ९ सय ३५ नेपाली १ लाख ८० हजार रुपैयाँ रकम संकलन भएको थियो ।
संकलित रकम आइतबारै धुर्मुस-सुन्तली फाउण्डेसनलाई पठाइएको पौडेलले जानकारी दिए ।
कार्यक्रममा १ हजार दिराम बराबरको डिनर नेपाली चुलो रेस्टुरेन्टले निःशुल्क उपलब्ध गराएको थियो ।
प्रतिक्रिया 4