Comments Add Comment

ठेकदारको लापरबाही : निर्माण नसकिँदै लच्कियो पुल

१७ पोखरा, वैशाख । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ६ र तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ को बैंडी जोड्ने मोटरेबल पुल ठेकेदारको लापरबाहीकै कारण निर्माण सम्पन्न नै नभइ भत्काउनुपर्ने देखिएको छ ।

सन्तोषी नागार्जुनदेवी चितवनले २०७२ असार २८ गतेभित्र निर्माण सक्ने गरी २०७० असार २८ गते मैदीखोला पुलको ठेक्का लिएको थियो । तर, अहिले २०७६ साल लागिसक्दा पनि पुल बनेको छैन ।

निर्माण सक्नुपर्ने समय गुजारेको ठेकेदार कम्पनीको लापरबाहीले पुल १५ सेन्टीमिटर लच्किन पुग्दा अहिले पुनः भत्काउनुपर्ने अवस्था आइपरेको सडक डिभिजन कार्यालय पोखराले बताएको छ ।

यो नयाँ प्रविधिबाट निर्माण गर्न लागिएको पुल हो । बिम ढलान गरिसकेपछि टुचन प्रयोग गरी १४ दिनपछि लोड तान्नुपर्ने पुलमा समयमा कामै नगरिँदा यस्तो अवस्था आएको डिभिजन इन्जिनियर हरिकुमार पोखरेलले बताए । ‘सुरुमा पुलमा प्रयोग हुने टुचन नै कमजोर र खिया लागेको लिएर आए । पछि अर्को ल्याएपछि पनि समयमा काम नहुँदा पुल भत्काउनुपर्ने भएको छ,’ इन्जिनियर पोखरेलले भने, ‘२/३ सेन्टिमिटर तलमाथि भएको भए पनि अर्को विकल्प प्रयोग गरी मिलाउन सकिन्थ्यो होला तर, १५ सेन्टिमिटर लच्किएको छ । मिलाउन सक्ने अवस्था छैन ।’

पुल निर्माण गरिसक्ने बाचासहित २०७२ पुस २० गतेसम्मका लागि म्याद थप गरेको कम्पनीले अहिले निर्माण नै अलपत्र पारेको छ । ‘पुल निर्माण थालिएको ५/६ वर्ष भइसक्यो । सडक डिभिजनलाई पनि सोध्यौं, ठेकदार कम्पनीलाई पनि ध्यानाकर्षण गरायौं, केही लागेन,’ स्थानीय पेश्क कार्कीले भने, ‘अहिले पुलै काट्नुपर्ने अवस्थामा छ भन्ने सुनेको छु ।’

पुल भत्काउन ठेकदार कम्पनीलाई ताकेता गरिरहेको डिभिजन इन्जिनियर पोखरेलले बताए ।

५ करोड ८६ लाख ९३ हजार रुपैयाँ इन्जिनियरिङ इन्टिमेट गरिएको पुलको ३ करोड ५६ लाख ९३ हजार रुपैयाँमा सन्तोषीले ठेक्का हात पारेको थियो । उज्जवल कडेंलको कम्पनीले अहिलेसम्म १ करोड ६० हजार रुपैयाँ भुक्तानी लगिसकेको छ ।

यही कम्पनीले त्यही पुलदेखि तनहुँको घिरिङ गाउँपालिकासम्मको सडकमा नाली र ग्राभेलको ठेक्का पाएको छ तर काम कछुवाको गतिमा भइरहेको भन्दै स्थानीय असन्तुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment