+
+
Shares

माथिल्लो त्रिशूली-१ मा उद्धारका लागि मिनी एक्स्काभेटर पुर्‍याइयो

बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्‍याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते २१:२९

२५ भदौ, काठमाडौं । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्‍याइएको छ । आयोजनाको क्याम्प एरियामा उद्धार तथा खोजीका लागि बिहीबार मिनी एक्स्क्याभेटर पुर्‍याइएको जानकारी आयोजनाका निर्देशक गिरिराज अधिकारीले दिए ।

बिहीबार पनि आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी भइरहेको उनले बताए । आयोजनाको सुरुङ एरियामा नेपाली सेनाको टोलीले म्यानुअल्ली खोजीको काम गरिरहेको र बिहीबार पुर्‍याइएको बबक्याटले नदीको अर्कोतर्फ रहेको क्याम्प एरियामा खनेर खोजी गर्ने उनले बताए ।

नेपाली सेनाको हेलिकोप्टरबाट यो उपकरण आयोजनास्थल मैलुङमा पुर्‍याइएको उनले बताए ।

उद्धारमा नेपाली सेना, नेपाल ड्रोन एसोसियसन, कोरियाली, शेर्पासहितको टिम सहभागी छ भने तालिमप्राप्त सर्च डगले पनि खोजिरहेको छ ।

अहिले रहेको सीमित स्रोत साधनको आधारमा खोजी कार्य जारी राखिएको आयोजनाले जनाएको छ । आयोजनास्थलमा ठूला एक्स्क्याभेटरहरू पुर्‍याउन नसकिएको पनि अधिकारीले जानकारी दिए ।

नेपाली सेनाको १६ जनाको सर्च टोलीले डिसेण्डर क्षेत्रमा फेरि बिहीबार पनि सर्च गरेपनि कुनै नभेटिएको जानकारी दिएको छ । तर बिहीबार हाकुबेँशीस्थित फुलबारी त्रिशुलीको बाँया किनारमा एक शव पहिचान गरी नेपाल प्रहरीलाई जानकारी दिएको कम्पनीले जनाएको छ ।

कम्पनी, डुसान र पावर चाइनाका व्यवस्थापन पक्षले प्रतिनीधिहरूले बिहीबार हालसम्म भएको सर्च र उद्धारबारे संक्षिप्त जानकारी गरेको थियो, भने उपकरणको एमआई १७  हेलि लिफ्टिङको लागि अनुरोध पनि गरेको छ ।

यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसँग कम्पनी व्यवस्थापनले संक्षिप्त बैठक गरी हालको अवस्थाबारे जानकारी दिएको थियो ।

यसैगरी बिहीबार नै बेपत्ता कर्मचारीहरूका नजिकका हकदारहरूलाई तत्काल राहत उपलब्ध गराउने कार्य सुरुवात भइसकेको जानकारी पनि कम्पनीले दिएको छ ।

बाढी आउनुअघि आयोजनास्थलमा कुल एक हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८ सय ७८ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?