+
+
Shares

माथिल्लो त्रिशूली-१ मा ६ जनाको शव भेटियो, रसुवागढीमा उपकरण नै पुर्‍याउन सकिएन

बाढी आउनुअघि माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा कूल १ हजार ४३३ जना कार्यरत थिए । ती हालसम्म ८७६ जनाको उद्धार गर्न भइसकेको छ । अझै ५५१ जना सम्पर्कविहीन छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते २१:५६

१९ भदौ, काठमाडौँ । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा शुक्रबार ६ जनाको शव फेला परेको छ । आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजीका क्रममा तालिमप्राप्त कुकुरकोसमेत सहायतामा ६ जनाको शव फेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले जनाकारी दिएको छ । सल्लेटार एरियामा भेटिएका ती ६ शवहरू नेपाली सेनाले बट्टार ल्याएको छ ।

उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पाहरू, सर्च, ड्रोन टिम सक्रिय रहेकाे आयोजनाले जनाएको छ । विशेष क्यामेरा र तालिम प्राप्त कुकुर पनि सो क्षेत्रमा लगिएको छ । उद्धारका लागि कम्पनीले १५ वटा विभिन्न उद्धार गर्ने मेसिन तथा उपकरणहरू पुर्‍याइएको र भोलि आयोजनास्थलमा उद्धारलाई तीव्रता दिने कम्पनीले जनाएको छ । सुरुङमा भने वाटर पम्पको कार्य जारी राखिएको जनाइएको छ ।

बाढी आउनुअघि माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा कूल १ हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८७६ जनाको उद्धार गर्न भइसकेको छ । अझै ५५१ जना सम्पर्कविहीन छन् ।

प्रर्वद्धक कम्पनी तथा निर्माण कम्पनीहरू डोसान र पावर चाइनाको व्यवस्थापन टीमले गृहसचिवलाई भेटी उद्धारका लागि थप उपकरण र मेसिनहरू लैजानका लागि सहजीकरण गर्न आग्रह गरेको जनाएको छ ।

१११ मेगावाटको रसुवागढीको आयोजना स्थलमा मेसिनरी उपकरण पुर्‍याएर विद्युतगृहमा फसेकाहरूको उद्धार कार्य शुक्रबार पनि सुरु गर्न नसकिएको इपानले जानकारी दिएको छ । शेर्पाहरूको समूह लगेर सम्पर्क बिहिन भएकाहरूको खोजीको प्रयास गरिए पनि नदीमा निरन्तर बढीरहेको पानीको सतह तथा खराब मौसमका कारण मेसिनरी उपकरण आयोजना स्थलमा लगेर खोजी कार्य सुरु गर्न नसिकएको आयोजनाले जनाएको छ ।

मेसिनरी उपकरण तथा आवश्यक उपकरणहरू त्रिशूलीबाट धुन्चेसम्म लगिएपनि आयोजना स्थलसम्म पुर्‍याउन नसकिएको जनाइएको छ । धुन्चेबाट आयोजनास्थल पुगेर साँझ धुन्चे नै फर्कन समस्या हुने हुँदा शनिबारदेखि आयोजनाको सर्जट्याङ्क रहेको अग्लो स्थानमा क्याम्प बनाएर त्यहीं बस्ने व्यवस्था गर्न लागिएको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ । रसुवागढीबाट ९३ जना हराइरहेका छन् ।

अर्कातिर १० दिनसम्म पनि ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाबाट हराइरहेकाहरूको अवस्थाबारे थाहा हुन सकेको छैन । आयोजना स्थलमा साना मेसिनरी उपकरणबाट उत्खनन गर्दा विद्युतगृह रहेको स्थानमा खोला आइपुगेको छ ।

त्रिशूली नदीको सतहदेखि २ मिटर तलसम्म उत्खनन गर्दा समेत विद्युतगृहको संरचनाको केही नभेटिएपछि १२ मिटरसम्म खन्ने तयारी गरिएको छ । खोजी तथा उद्धार कार्यमा खटिएको सुरक्षाकर्मीले आयोजनाको सर्जट्याङ्कदेखि पेनस्टकसम्म खोजी कार्य गर्दा केही नभेटिएको जनाएको छ ।

आयोजनाको अडिट सुरुङबाट थप मेसिनरी उपकरण लैजान सकिन्छकि भन्ने सम्बन्धमा प्रयास गरिएको जनाइएको छ । निरन्तरको वर्षा तथा नदीमा पानीको सतह बढिरहेकाले ठूलो मेसिनरी उपकरण आयोजना स्थलमा पुर्याउन कटिनाइ भइरहेको आयोजनाले जानकारी दिएको छ ।

त्रिशूली–३ ‘बी’ बाट १९१ जना हराइरहेका छन् । हराउनेमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १४१ जना, आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीका २१ जना कर्मचारी, ७ जना कर्मचारीका परिवार, परामर्शदाता चिलिमे इन्जिनियरिङ (परामर्शदाता) का १२ जना, १ जना सुरक्षा गार्ड, र काठमाडौं विश्व विद्यालयका इन्टनसिप गर्न गएका इन्जिनियरिङ संकायमा ३ जना विद्यार्थी छन् । सुरुङमा कार्यरत २३ जनाले सुरक्षितरूपमा सुरुङ बाहिर निस्किएर ज्यान जोगाएका थिए ।

बाढीको १० दिनपछि माथिल्लो त्रिशूली थ्री ए को विद्युतगृहमा फसिरहेका मध्ये २ जनाको शुक्रबार बिहान सकुशल उद्धार भएको छ । निरन्तरको प्रयासपछि २१६ घन्टापछि कोइलाडी – ८, सप्तरीका सन्जय साह र बालकुमारी काठमाडौंका कबिर मर्हजनको सकुशल उद्धार गर्न सम्भव भएको हो । अन्यको खोजी तथा उद्धारको प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

२० मेगावाटको लाङटाङ खोलामा हराइरहेका ४१ जनामध्ये बिहीबार २ जनाको सब भेटिए पनि थपको अवस्था थाहा हुन सकेको छैन । शुक्रबार नेपाली सेनाको सुरुङभित्र प्रवेश गरेर खोजी गरेको छ । यो आयोजनाबाट १९ जनाको उद्धार भएको थियो भने २ जना मृत भेटिएका छन् । ३९ जनाको अवस्था अझै अज्ञात छ ।

अर्कातिर भूमिगत विद्युत गृहमा ६ जना फसेको चिलिमे जलविद्युतबाट पनि उद्धार गर्न सकिएको छैन । मैलुङखोला जलविद्युतमा कार्यरत ७ जना अहिलेसम्म पनि सम्पर्कमा आउन नसकेको इपानले जनाएको छ । निर्माणाधीन रसुवा भोटेकोशीबाट पनि चार जना सम्पर्कविहीन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?