Comments Add Comment

प्रदेश १ को नाम र राजधानी तोक्न नेकपालाई सकस

शीर्ष नेतावीच सहमति नजुट्दा संसदीय दलको बैठक स्थगित

Photo Credit : फाइल तस्वीर (हिमाली पोस्ट डट कम)

१८ वैशाख, विराटनगर । प्रदेश १ को सत्तारुढ दल नेकपाका प्रान्तीय नेताहरु प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउन बुधबार बिहानैदेखि विराटनगरको बिग होटलमा बैठक बसिरहेका छन् । दलका नेताहरुको बैठक लम्बिएपछि बुधबार बस्ने भनिएको प्रदेश संसदीय दलको बैठक स्थगित भएको हो ।

नेकपाले प्रदेश १ को संसदीय दलको बैठक बुधबार बिहान ११ बजे बोलाएको थियो । तर, शीर्ष नेताहरुले प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन नसकेपछि संसदीय दलको बैठक ३ बजेका लागि सारियो । अन्ततः ३ बजेको बैठक पनि स्थगित भएको सूचना दिइयो ।

बुधबार बिहान ८ बजेदेखि नै प्रदेश १ का नेकपा नेताहरु बैठक जुटिरहेका छन् । यो बैठकले नेकपाका तर्फबाट प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउने भनिएको छ । सत्तापक्षले नाम र राजधानीको विषयमा सहमति जुटाएपछि त्यसलाई प्रदेश सभाको दुई तिहाईले पारित गर्नुपर्ने हुन्छ ।

होटलमा आयोजित बैठकमा नेकपाका प्रदेश १ का इञ्चार्ज भीम आचार्य, सहइञ्चार्ज शावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार राई (हिमाल) सहभागी छन् । त्यसैगरी मुख्यमन्त्री शेरधन राई र दलका उपनेता टंक आङबुहाङ पनि छलफलमा सहभागी छन् ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगर रहँदै आएको छ । यसैवीच प्रदेश सरकारले मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात कार्यालय धनकुटामा राख्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment