
१८ वैशाख, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली ४ जयमतियादेवी हरिजन चमारको जिविका ज्याला मजदुरीबाटै चलेको छ । तर सँगै काम गर्ने पुरुषलाई भन्दा कम ज्याला दिएको उनलाई मन पर्दैन ।
‘महिलाका लागि ५ किलो ज्याला मिल्छ, पुरुषलाई १५ किलो दिन्छन् । पैसा दियो भने पनि ५ सय दियो भने हामीलाई १ सय २० दिन्छन्’ उनले भनिन् ‘बाली काट्दा हामी पनि पुरुषहरुसँगै बाली काट्छौं । पुरुषहरुले बोझा बान्दा हामी ओसार्छो, काम बराबर हुन्छ तर ज्यालामा विभेद हुन्छ ।’
उनीजस्तै लालमती देवी चमारको परिवार पनि ज्याला मजदुरी गरेरै जिविकोपार्जन गर्छिन् । उनको ५ जनाको परिवार पाल्ने आधार ज्याला मजदुरी नै हो । तर श्रीमान काममा गएर फर्केपछि नुहाउँछन् र गाउँ डुल्न जान्छन्, रातमा रक्सी खाएर आउँछन् । उनले घरधन्दा गर्नुपर्छ । ज्याला पनि उनले पुरुषसरह पाउँदिनन् ।
नयाँ संविधानले लिंगका आधारमा हुने सबैखालका विभेद अन्त्य गरेको छ । तर जयमतिया र लालमतीजस्ता महिलाको जीवनमा विभेद अन्त्य भएको छैन । पटेर्वा सुगौली गाउँपालीकामा अधिकांश महिला श्रमिक अत्यन्तै न्यून ज्यालामा काम गरिरहेका छन् ।
धान, गहुँ रोप्ने काट्ने समयमा दैनिक ६ देखि ८ घण्टा काम गरे वापत महिलालाई जम्मा ५ के. जी. धान वा गहुँ वा रुपैयाँ दिए पनि १०० देखि १ सय २० रुपैयाँ मात्रै प्रदान हुने गरेको छ ।
दिव्य युवा क्लबकी कार्यक्रम संयोजक कोपिला चौलागाई साह महिला श्रमिकको अवस्था नाजुग रहेको बताउँछिन् । ‘उनीहरुले घरको कामसँगै बाहिरको काम पनि गर्नुपर्छ । तैपनि महिलाको के काम छ र ? भन्ने गरिन्छ’ उनले भनिन् ‘मजदुरलाई दिने खाजा पोषिलो हुँदैन, उनीहरुको स्वास्थ्य र सुरक्षाको बारेमा काम लगाउनेले कत्ति पनि सोच्दैनन् ।’
महिला पुरुषमाथि निर्भर रहनुपर्ने भएकोले नै धेरै समस्या भोग्नुपरेको उनको बुझाइ छ ।
ज्यालामा हुने विभेद भए पनि एक्लो प्रयासमा यसलाई अन्त्य गर्न नसकिने गाउँपालिकाको उपप्रमुख ममता महतो बताउँछिन् । ‘बराबर कामको बराबर ज्याला हुनुपर्छ त्यसमा दुईमत छैन । मेहनत बराबर छ भने ज्यालामा विभेद हुनु हुँदैन । एक्लैले विरोध गरेर हुँदैन, सही कामका लागि महिला सबै एकजुट हुनुपर्छ’ उनले भनिन् । बराबर ज्याला नपाएसम्म काम गर्दिन भनेर अडान राख्न सक्नुपर्ने उनको भनाइ छ ।
ज्याला निर्धारण समिति गठन गर्न माग गर्दै ज्ञापन
पटेर्वासुगौलीका महिलाले ज्यालामा विद्यमान असमानता लगायत विभिन्न माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएका छन् । भूमि अधिकार मञ्च, महिला अधिकार मञ्च र महिला कृषक समूह पटेर्वासुगौलीमा आवद्ध महिलाले ९ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
हरेक वडामा ज्याला निर्धारण समिति सहितको संयन्त्र खडा गर्नुपर्ने माग उनीहरुले राखेका छन् । दिव्य युवा क्लबका प्रमुख रामाकान्त पटेल पटेर्वा सुगौलीमा झण्डै एक साता श्रमिक महिलाहरुसँग छलफल गरेर ज्ञापनपत्र तयार पारिएको बताए । ज्ञापनपत्र बुझ्दै उप प्रमुख महतोले ज्ञापनपत्रमा उठाएका सवालहरुमा बोर्डमा छलफल गरेर अगाडि बढ्ने आश्वासन दिइन् ।
मजदुरीमा प्रयोग हुने ज्यावलसहितको र्याली
श्रमिक दिवसकै अवसर पारेर पटेर्वासुगौलीमा समान कामको समान ज्याला पाउनुपर्ने माग सहित अभियान शुरु गरिएको छ । भूमि अधिकार मञ्च, महिला अधिकार मञ्च र महिला कृषक समूह पटेर्वासुगौलीको आयोजनामा र्याली निकालिएको हो ।
महिलाको श्रमको सम्मान गराउने उद्देश्यले शुरु गरिएको अभियानको पहिलो दिन पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ मा महिलाले ज्यावल सहितको र्याली निकालेका हुन् । र्यालीमा सहभागी महिलाले हसिँया, खुर्पी लगायत मजदुरीमा प्रयोग गरिने आजार बोक्नुको साथै विभिन्न सचेतनामुलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
प्रतिक्रिया 4