Comments Add Comment

‘इन्धनको मूल्यवृद्धि फिर्ता गर, शिक्षामा २५ प्रतिशत बजेट छुट्याऊ’

२१ वैशाख, काठमाडौं । नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । साथै आगामी बजेटमा कुल बजेटको २५ प्रतिशत शिक्षामा विनियोजन गर्न पनि उनीहरुले माग गरेका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी)को कार्यालय बागबजारमा शनिबार दुवै संगठनका उपलब्ध पदाधिकारीहरुको संयुक्त बैठक बसेको थियो । बैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गराउन माग गर्दै आइतबार नेपाल आयल निगममा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

सोही क्रममा विद्यार्थीहरुलाई सहुलियत दरको एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने विगतको सहमति कार्यान्वयन गराउन पनि दुवै संगठनका नेताहरुले निगमको ध्यानाकर्षण गराउने बताएका छन् ।

साथै आगामी बजेटमा शिक्षामा कुल बजेटको २५ प्रतिशत विनियोजन गर्न र विद्यार्थीलाई प्रमाणपत्रको आधारमा शैक्षिक ऋण उपलब्ध गराउने निर्णयको प्रभावकारी कार्यान्वयन गराउन अर्थ मन्त्री र राष्ट्रिय योजना आयोगमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत भएको तामांगले जानकारी दिए ।

यसैगरी वैशाख २४ गते ‘नागरिकता विधेयक : समस्या र समाधान’ विषयक अन्तरक्रिया गर्ने, आगामी जेठ १ गते विद्यार्थी दिवसको सन्दर्भमा राजधानीमा प्रभातफेरि कार्यक्रम गर्ने र त्यस उपलक्ष्यमा देशैभरका मातहत कमिटीहरुलाई संयुक्त कार्यक्रम गर्न निर्देशित गर्ने निर्णय समेत भएको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामांग र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्यको हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment