Comments Add Comment

२२० केभीको त्रिशूली-काठमाडौं प्रसारणलाइन आइतबार चार्ज हुने

२१ वैशाख, काठमाडौं । २२० केभी क्षमताको नुवाकोटको किस्पाङ-काठमाडौंको मातातीर्थ सबस्टेसन (त्रिशूली-काठमाडौं) प्रसारणलाइन आयोजना आइतबारबाट चार्ज हुने भएको छ । भोलिबाट काठमाडौं जोड्ने नयाँ प्रसारणलाइन सञ्चालनमा आउनेछ । यो काठमाडौं भित्रिएको पहिलो २२० केभी प्रसारणलाइन हो ।

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग तथा नेपाल सरकार नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा यो प्रसारणलाइन तयार भएको हो । विभिन्न अवरोधका बाबजुत चिनियाँ कम्पनी सीडुब्लुईले आयोजनाको काम सकेको हो ।

यो प्रसारणलाइनमा माततीर्थमा अन्डर ग्राउन्ड गर्नुपर्ने र चन्द्रगिरीमा केबलकारमाथिबाट तार टाँग्नुपर्ने चुनौतीपूर्ण काम पनि थियो । यो लाइनबाट माथिल्लो त्रिशुली थ्री ए सहितका त्रिशुली बेसिनमा निर्माण भइरहेका रसुवागढी, सान्ज्जेन, त्रिशूली थ्री बी आयोजनाहरूका विजुली काठमाडौं ल्याउने योजना छ । माथिल्लो त्रिशुली थ्रि एको पूर्णधारहरुको परीक्षण भइसकेको छ । भोलिबाट माथिल्लो त्रिशुली थ्रि एमा बिजुली उत्पादनको बाटो खुल्नेछ ।

यो आयोजनामा १ सय ४० वटा टावरहरुको निर्माण भएका छन् । यो आयोजना नेपाल सरकार र प्राधिकरणको लगानी तथा चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

आयोजना नसकिँदै पाँच वर्षको व्याज तिर्नु नपर्ने अवधि सकिएर ऋण तिर्ने समय सुरु भएको थियो । चीनले एक्जीम बैंकमार्फत यो आयोजनामा ११ करोड ५७ लाख अमेरिकी डलर ऋण दिएको थियो ।

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो ।

विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको हो । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले/नचलेको हेरिएको हो ।

रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यवसायिक रुपमा विद्युत उत्पादन केही ढिलाइ भएको घिसिङले बताए ।

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा आएको छ । अब सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए/नभएको हेरिँदैछ । यसबाट वैशाखभित्र (१५मे २०१९)मा व्यवसायिक रुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुने छ ।

दोस्रो युनिट (३० मेगावाट)को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि म्याद १६ असार २०७३ (३० जुन २०१६)सम्म थपिएको थियो ।

भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको थियो ।

भूकम्प र पहिरोले बाँध स्थलको दायाँ-बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । सरकारले  पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment