Comments Add Comment

देउवाले छाने छायामन्त्री : गगनलाई शिक्षा, दिलेन्द्रलाई गृहको जिम्मेवारी

२१ वैशाख, काठमाडौं । आज प्रकाशित सबै पत्रिकाहरु सरकारको नीति तथा कार्यक्रममा केन्द्रित छन् । शुक्रबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको सरकारको नीति तथा कार्यक्रमलाई केही पत्रिकाले सस्तो लोकप्रियता भनेका छन् भने केहीले महत्त्वाकांक्षी ।

नीति तथा कार्यक्रमसँग सम्बन्धित समाचारमा अन्नपूर्ण पोष्ट र राजधानी दैनिकको उस्तैउस्तै हेडलाइन छ । दुवैले आगामी आर्थिक वर्ष तीव्र विकासको वर्षको रुपमा चित्रण गरेका छन् ।

नयाँ पत्रिका र नेपाल समाचारपत्र दैनिकले आगामी आर्थिक वर्ष २०७६/७७को नीति तथा कार्यक्रमलाई महत्त्वाकांक्षी भनेका छन् । नागरिक दैनिकले सरकारको नीति तथा कार्यक्रमलाई ‘सस्तो लोकप्रियताको पुलिन्दा’ शीर्षक दिएर टिप्पणी गरेको छ ।

कान्तिपुर दैनिकले ‘चार वर्षभित्र दुई अंकको आर्थिक वृद्धि’ शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारको मुखपत्र गोरखापत्र दैनिकले भने नीति तथा कार्यक्रमको समाचारलाई ‘विकास र समृद्धिमा केन्द्रित’ शीर्षकमा छापेको छ ।

आजका सबैजसो पत्रिकाहरुले नीति तथा कार्यक्रम वाचन गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेर राजतन्त्रको झल्को दिएको टिप्पणी पनि गरेका छन् ।

नीति तथा कार्यक्रम बाहेकका समाचार पनि पत्रिकाका फ्रन्टपेजमा छन् । नागरिक दैनिकमा ‘न्यायालयमा सर्वसत्तावादको संकेत’ शीर्षकको समाचार छ । न्यायालयमा बढेको राजनीतिक प्रभावले मुलुक सर्वसत्तावादतर्फ प्रवेश गर्न लागेको पूर्वन्यायाधीशहरुको अध्ययनले देखाएको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले ‘लोकसेवा आयोगले वैशाखभित्रै भर्ना खोल्ने’ शीर्षकमा समाचार छापेको छ । ५ सय स्थानीय तहले १० हजार कर्मचारी माग गरेको र लोकसेवाले वैशाखभित्रै भर्ना आह्वान गर्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुरले भृकुटीमण्डपमा व्यापारीको रजाइँ रहेको समाचार छापेको छ । बीसको दशकमा गुठीको २१४ रोपनी जग्गा अधिग्रहण गरेर खुला ठाउँ र मनोरञ्जन गर्ने स्थल थियो भृकुटीमण्डप तर अहिले कुरुप बन्दै गएको समाचारमा उल्लेख छ । भृकुटीमण्डपमा ठेलामा सामान राखिएका छन् । टहरा बनाइएका छन् । कहीँ पाल राखेर पसल राखिएका छन् ।

नयाँपत्रिका दैनिकले ‘कांग्रेसका छायामन्त्रीको सूची तयार’ शीर्षकको समाचार छापेको छ । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाइसकेको र यसको घोषणा एक-दुई दिनमै हुने समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएअनुसार गगन थापा शिक्षा मन्त्री, ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधारमन्त्री, डा. मिनेन्द्र रिजाल अर्थमन्त्री, दिलेन्द्रप्रसाद बडु गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र भिमसेनदास प्रधान रक्षा मन्त्री रहने छन् । यसैगरी उमाकान्त चौधरी स्वास्थ्यमन्त्री, मीन विश्वकर्मा उद्योग मन्त्री, उमा रेग्मी महिला बालबालिका मन्त्री, जितेन्द्र नारायण देव सञ्चारमन्त्री र सञ्जय गौतम ऊर्जामन्त्री रहने नयाँ पत्रिकाको समाचारमा लेखिएको छ ।

यस्तै किशोरसिंह राठौर वनमन्त्री, मानबहादुर विश्वकर्मा सामान्य प्रशासन मन्त्री, देवेन्द्रराज कँडेल पर्यटनमन्त्री, डा. डिला संग्रौला कृषि मन्त्री, अतहर कमाल मुसलमान कानुन मन्त्री र बहादुर सिंह लामालाई सहरी विकासमन्त्रीको जिम्मेवारी दिने देउवाको तयारी छ ।

देउवाले राजेन्द्रकुमार केसीलाई युवा तथा खेलकुद, बद्री पाण्डेलाई खानेपानी, पार्वता डिसी चौधरीलाई श्रम तथा रोजगार, सुजाता परियारलाई भूमी व्यवस्था र लक्ष्मी परियारलाई सहकारी मन्त्री बनाउने नयाँ पत्रिकाले जनाएको छ ।

नेपाल समाचारपत्रमा पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाहले ५० औं वैवाहिक वर्षगाँठ मनाएको समाचार छ । समाचारमा कोमलले ज्ञानेन्द्रलाई मिठाइ खुवाउँदै गरेको तस्वीर पनि छ ।

हेर्नुस् आजका पत्रिकाका फ्रन्ट पेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment